चिसो र हुस्सुका कारण जनजीवन कष्टकर

डिसी नेपाल
१४ माघ २०७८ १६:३३

काठमाडौं । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरिब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा आगो बाल्न थालिएको छ । न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । केही दिनयतादेखि जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहलसमेत घटेको छ

चिसो हुस्सुका कारण जनजीवन प्रभावित भइरहेकै बेला उदयपुरमा कोरोना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार एक हप्ताभित्र मात्र जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । एक हप्ताअगाडि जिल्लामा सङ्क्रमितको सङ्ख्या २३७ जना थियो भने बिहीबारसम्ममा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाको आठवटा पालिकामा समुदायस्तरमा नै कोरोना भाइरस सङ्क्रमण वृद्धि हुँदै गइरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताए ।

दैनिक चिसो र हुस्सु बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको जनजीवन पनि निकै कष्टकर हुँदै गइरहेको बेला कोराना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गइरहेको सरोकारवाला बताउँछन् । चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण यहाँको जनजीवन प्रभावित भइरहेको बेला चिसो र हुस्सुका कारण गाउँलेहरु घरभित्र आगो बालेर न्यानो लुगामा बस्न बाध्य हुने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *