स्थानीय निर्वाचनलाई फर्केर हेर्दा : चितवनमा कुन दलको अवस्था कस्तो ? दलहरू के भन्छन् ?

डिसी नेपाल
२१ माघ २०७८ १३:०९

चितवन। चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यातिएको काण्डले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो। भरतपुर महानगरपालिका-१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको थिए।

त्यसपछि वडा नं १९ मा पुनः मतदान गरिएको थियो। भरतपुर महानगरमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरे पनि अन्य पालिकामा भने दलहरू एक्लाएक्लै लडेका थिए । सात स्थानीय तह रहेको चितवनमा विभाजनपछि पनि एमालेको अझै बहुमत छ।

स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लागेको छ। जिल्लाको स्थानीय तहमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा रहेका छन्।

देश संघीयतामा गएपछि पहिलो पटक ३१ वैशाख २०७४ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको थियो। आगामी २०७९ जेठमा स्थानीय तहको अर्काे निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा परामर्शमा छन्।

भरतपुर महानगरको चुनावमा कांग्रेस-माओवादीले गठबन्धन गरेका थिए। पूर्वी चितवनको चारवटै नगरपालिकामा एमालेको बहुमत छ भने माओवादी केन्द्र शून्य छ। कांग्रेसले इच्छाकामना गाउँपालिकाको प्रमुख, उपप्रमुख र भरतपुर महानगरको उपप्रमुख जितेको थियाे । माओवादीले भरतपुर महानगरको प्रमुख र माडी नगरपालिकाको प्रमुखमा जिते पनि बहुमत एमालेकै छ।

माधवकुमार नेपालको समूहले एमाले छाडे पनि जिल्लाका पालिका प्रमुख र उपप्रमुखमा एमालेकै वर्चस्व छ। सात पालिकामध्ये चार पालिकाको प्रमुखमा एमाले, दुईमा माओवादी र एकमा कांग्रेसको नेतृत्व छ। पाँच पालिकाको उपप्रमुखमा एमाले र दुई पालिकाको उपप्रमुखमा कांग्रेस छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र माडी नगरपालिका प्रमुख ठाकुर ढकाल माओवादीका हुन्। पूर्वी चितवनका रत्ननगर नगर प्रमुख नारायण वन, खैरहनी नगर प्रमुख लालमणी चौधरी, राप्ती नगर प्रमुख प्रभा बराल र कालिका नगर प्रमुख खुमनारायण श्रेष्ठ एमालेका हुन्। इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ कांग्रेसकी हुन्।

भरतपुर महानगरपालिका

भरतपुर महानगर प्रमुखमा माओवादी-कांग्रेस गठबन्धनकी रेनु दाहालले एमाले उम्मेवार देवी ज्ञवालीलाई २०३ मतान्तरले मात्रै पराजित गरेकी हुन्। दाहालले ४३ हजार एक सय २७ मत प्राप्त गर्दा ज्ञवालीले ४२ हजार नाै सय २४ मत ल्याएका थिए।

महानगर प्रमुखकै उम्मेदवार राप्रपाका बद्री तिमिल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका थिए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का जीवनराम महतोले चार सय १५, नेकपा मालेकी सिर्जना रुवालीले दुई सय ४२ र स्वतन्त्र उम्मेदवार अम्बिका मुडवरीले दुई सय ६ मत ल्याइन्।

वडा नं १९ को मत गणनाका क्रममा १९ जेठमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि त्यस वडामा पुनः निर्वाचन भएको थियो। महानगरको उपप्रमुखमा पार्वती शाह ठकुरीले ४७ हजार एक सय ९७ मत ल्याएर विजयी भएकी हुन्।

निकटम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार पाँच सय २५ मत ल्याइन् भने राप्रपाकी उम्मेदवार रिना गुरुङले सात हजार दुई सय ५२ मत ल्याएकी थिइन्। फोरमकी निरु कार्कीले एक सय ९२, मालेका सूर्यप्रसाद रेग्मीले एक सय ९८ मत ल्याएका थिए।

माडी नगरपालिका

माडी नगर प्रमुखको लागि कांग्रेस, माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । माओवादीका ठाकुर ढकालले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन्। ढकालले तीन हजार आठ सय ७३ मत ल्याउँदा कांग्रेसका महतोले तीन हजार आठ सय २९ र एमालेका नारदमणी पौडेलले तीन हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

नगर प्रमुखमै राप्रपा उम्मेदवार मदनप्रसाद पौडेलले तीन हजार ७३ मत ल्याए । नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी र स्वतन्त्र उम्मेदवारले सय मत पनि कटाउन सकेनन् ।

नगर उपप्रमुखमा एमालेकी ताराकुमारी काजी महतोले चार हजार ६ सय ९० मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी माओवादीकी सरिता महतोले तीन हजार आठ सय चार, कांग्रेसकी शिवमाया भट्टराईले दुई हजार आठ सय ४८, राप्रपाकी भिमकुमारी महतोले तीन हजार एक सय ८६ र स्वतन्त्र उम्मेदवार सावित्री पौडेलले एक सय एक मत ल्याएकी थिइन् ।

रत्ननगर नगरपालिका

रत्ननगरमा एमालेका वन १४ हजार ६ सय ७७ मत ल्याएर नगर प्रमुखमा विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका रुपनराज घिमिरेले १३ हजार दुई सय २७ मत ल्याएका थिए । माओवादीका पूर्णबहादुर अमगाई क्षेत्रीले तीन हजार ६ सय ७१, राप्रपाका गोविन्द अधिकारीले ६ सय २८ र मधेसी जनअधिकार फोरमका कृष्ण चौधरीले दुई सय २६ मत ल्याए ।

त्यसैगरी, नेकपा मालेकी पार्वती महतो (कुमाल)ले एक सय ३०, राष्ट्रिय जनमोर्चाका माहानन्द शर्माले एक सय ६० र स्वतन्त्र उम्मेदवार उत्तमराज सिम्खडाले ४० मत ल्याएका थिए । नगर उपप्रमुखमा एमालेकी विमलादेवी दवाडीले १४ हजार चार सय ८१ मत ल्याएर विजयी भएकी हुन् ।

निकटम प्रतिद्वन्द्वी कांग्रेसकी निता ढकालले १२ हजार सात सय तीन, माओवादीकी संगीता भट्टराई रेग्मीले चार हजार २४, राप्रपाकी उर्मिला पासवानले सात सय एक र नेकपा मालेका रामहरि लम्सालले एक सय मत ल्याएका थिए ।

खैरहनी नगरपालिका

खैरहनी नगर प्रमुखमा पनि एमालेकै लालमणी चौधरीले १० हजार सात सय १७ मत ल्याएर विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद चौधरीले नौ हजार सात सय ३३ मत ल्याएका थिए ।

त्यस्तै, माओवादीका एकराज डल्लाकोटीले तीन हजार एक सय ४७, राप्रपाका चित्रबहादुुर विसुरालले ६ सय ४५ र फोरमका चुडामणि चौधरीले दुई सय चार मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी सुनिता खरेलले १० हजार चार सय ५१ मत ल्याएर विजयी भइन् ।

कांग्रेसकी सुशीला देवी उप्रेतीले नौ हजार आठ सय ८८, माओवादीकी रेवती सेढाईले दुई हजार नाै सय २०, राप्रपाकी मन्ज बर्ताैलाले सात सय ३३ र फोरमकी श्यामकुमारी महतोले दुई सय ४८ मत ल्याइन् ।

राप्ती नगरपालिका

राप्ती नगर प्रमुखमा एमालेकी प्रभा बरालले ११ हजार ६ सय १३ मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका किरणभूषण ओलीले सात हजार दुई सय ९२ मत ल्याएका थिए । त्यस्तै, माओवादीका रामचन्द्र पाठकले दुई हजार चार सय ९५ र राप्रपाकी मिराकुमारी बर्ताैलाले तीन सय ३५ मत ल्याइन् ।

उपप्रमुखमा एमालेकै इमानसिंह मुक्तानले ११ हजार आठ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसकी अनिता मैनालीले सात हजार ७४, माओवादीकी कल्पना मोक्तानले दुई हजार दुई सय २६ र राप्रपाका शेषमणि बर्ताैलाले ६ सय २७ मत ल्याएका थिए ।

कालिका नगरपालिका

कालिका नगर प्रमुखमा एमालेकै खुमनारायण श्रेष्ठले सात हजार चार सय ९२ मत ल्याएर विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका कमल आचार्यले सात हजार एक सय ६४ र माओवादीका रामध्वज डल्लाकोटीले दुई हजार तीन सय ७८ मत ल्याए ।

उपप्रमुखमा एमालकै कमला भट्टराईले सात हजार पाँच सय ३५ मत ल्याएर विजयी भइन् । कांग्रेसकी निरुजा श्रेष्ठले ६ हजार सात सय ५०, माओवादीकी सविता लामाले दुई हजार पाँच सय ९३ र राप्रपाकी बुद्धिलक्ष्मी स्याङतानले एक सय ९५ मत ल्याइन् ।

इच्छाकामना गाउँपालिका

इच्छाकामनाको अध्यक्षमा कांग्रेसकी गीता गुरुङले तीन हजार दुई सय ५४ मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीले तीन हजार ६१ मत ल्याए । त्यस्तै, माओवादीका प्रताप गुरुङले दुई हजार तीन सय ९९ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकै कृतिकुमार श्रेष्ठले तीन हजार तीन सय ८९ मत ल्याएर विजयी भए । एमालेका जुनुराज भण्डारीले तीन हजार ९७ र माओवादीकी सावित्रा सिलवालले दुई हजार दुई सय २९ मत प्राप्त गरिन् ।

सात पालिकामा एमालेको बहुमत

सात स्थानीय तहमा दलित तथा अल्पसंख्यकसमेत गरी पाँच सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये एमालेको ३०९, कांग्रेसको १७८ र माओवादीको ३३ जना जनप्रतिनिधि छन् । सात पालिकाका ९८ वटा वडामध्ये ५७ वडामा एमाले, ३५ वडामा कांग्रेस र ६ वडामा माओवादीले जितेको थियो ।

एमाले विभाजन भएपछि ११ जना वडाध्यक्षसहित ३६ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यससंगै एमालेको जनप्रतिनिधि संख्या २७३ कायम भएको छ । यद्यपि जिल्लामा एमालेकै जनप्रतिनिधिको बहुमत छ ।

भरतपुर महानगरका २९ वटा वडामध्ये एमाले र कांग्रेसले १३-१३ र माओवादीले तीन वडामा जितेको थियो । माडीका नौवटा वडामध्ये पाँचवटामा एमाले, तीनवटामा माओवादी र एकवटामा कांग्रेसले जित हात पारेको हो । रत्ननगरको १६ वडामध्ये एमालेबाट १० जना र कांग्रेसबाट ६ जनाले जिते ।

खैरहनीको १३ वडामध्ये एमालेबाट सातजना र कांग्रेसबाट ६ जना, कालिकाको ११ वडामध्ये एमालेबाट ६ जना र कांग्रेसबाट पाँचजना, राप्तीको १३ वडामध्ये एमालेबाट ११ जना र कांग्रेसबाट दुईजनाले वडाध्यक्ष जितेका हुन् । इच्छाकामनाको सात वडामध्ये कांग्रेस र एमालेबाट तीन-तीन र माओवादीबाट एकजनाले वडाध्यक्ष जिते ।

भरतपुर महानगरका पाँच, रत्ननगरका चार, राप्ती र माडीका एक/एक वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । यससंगै ४६ वडामा एमालेले नेतृत्व गरेको छ ।

दलहरूको तयारी

स्थानीय तहको निर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेको बताएका छन् । दलहरूसँग चुनावी तालमेलका लागि भने केन्द्रको निर्देशनअनुसार हुने उनीहरूको प्रतिक्रिया छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वर्तमान राजनीति कांग्रेसको अनुकूल रहेको बताए । चुनावका लागि आन्तरिक छलफलहरू भइरहेकाले कांग्रेस सबै तहमा जित्ने ढंगले अगाडि बढ्ने उनले बताए । जिल्लामा करिब २९ हजार सदस्य रहेको कांग्रेसको दाबी छ ।

२०७४ को चुनावमा पूर्वी चितवनका पालिकामा थोरै मतान्तरले मात्रै कांग्रेस पराजित भएकाले यसपटक जित्ने उनको दाबी छ । आगामी चुनावमा कांग्रेस एक्लै लड्ने र प्रचण्डलाई लखेट्ने अभिव्यक्ति दिएका श्रेष्ठले चुनावी तालमेलको विषयमा मुख खोलेनन् ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय चुनावको लागि पार्टी तयार रहेको बताइन् । चितवनमा एमालेले ठूलो विरासत बोकेकाले आगामी चुनाव एमालेले एक्लै जित्ने उनले बताइन्।

‘एमालेबाट केही व्यक्ति छुट्टिएर गएर खासै असर परेको छैन । त्यसरी जानुभएका धेरै नेता कार्यकर्ताहरू चुनाव घोषणापछि मूल पार्टीमै फर्किनुहुन्छ भन्ने अपेक्षा छ’, उनले भनिन् । उनका अनुसार जिल्लामा एमालेका असोजसम्म १६ हजार सक्रिय सदस्य छन् ।

माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले अघिल्लो चुनावमा पार्टीले तयार गरेको घोषणापत्रको लेखाजोखा र समीक्षा गरी स्थानीय तहको चुनावमा केन्द्रित हुने बताए। जिल्लामा सांगठनिक, वैचारिक र राजनीतिक सुधार भएको बताउँदै उनले पूर्वी चितवनमा पार्टीको सांगठनिक विकास भएको दाबी गरे।

‘पार्टीको सांगठनिक आधार विकास भएको छ। कुनै बेला एमाले र कांग्रेस ठूलो पार्टी भए पनि अहिलेको उपलब्धिको नेतृत्व माओवादीले गरेकाले जनताले हाम्रो पार्टीलाई विश्वास गर्ने छन्’, उनले भने। जिल्लामा माओवादीको २५ हजार सदस्य रहेको उनले दाबी गरे।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले स्थानीय चुनावलाइ लक्षित गरी वडा तहमा खोल्न थालिएको बताए। पार्टीले पालिकाहरूमा वडा समिति समेत गठन गरिसकेकाले स्थानीय चुनावमा इच्छाकामनाबाहेक सबै पालिकाका वडा तहसम्म उम्मेदवारी दिने उनले बताए। उनका अनुसार राप्रपाको पाँच हजार बढी सदस्य छन्। न्युज कारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *