कथा : चन्द्रागिरि डाँडामा बदाम छोडाउँदै
उसको नाम ललित हो। एक कमर्सियल बैँकको जुनियर मेनेजर। ऊसँग मेरो पहिलो भेट चाबेल गणेश मन्दिरमा भएको हो। मसँग मेरी सहकर्मी क्रिसा थिइन्। लीलतसँग चाहिँ रमा। उनी ललितकी पहिली प्रेमिका।
क्रिसा म पढाउने कलेजकी ‘असिस्टेन्ट चिफ एकाउन्टेन्ट’ थिइन्। मचाहिँ प्राध्यापक। तिनीसँग मेरो ‘लभ’ परेको त्यस्तै एक(डेढ वर्ष भएको हुँदो हो। सन्जोग कस्तो परेको थियो भने, हामी चारैजनाले चावेल गणेशको दर्शन पहिलो पटक गरेका रहेछौँ।
छुट्टिने बेलामा ललितले मलाई एकान्तमा पारेर व्यङ्ग्य कस्यो( ‘प्याकुरेल सर, हजुर त परिवार भएको मानिस। तर बुढेसकालमा यो…?’ मैले उसलाई पुग्ने गरी जवाफ दिएँ(‘किन, हाम्रोचाहिँ मन हुँदैन र केटा? मेरी श्रीमतीले आफ्नो तरिकाले बाँच्न पाउँछिन् भने मैले पनि त आफ्नै तरिकाले बाँच्न पाउने अधिकार छ नि।’
चावेल गणेशको उक्त भेटपछि ललितसँग केही वर्ष भेट भएन। उता उसकी रमासँग मस्तीको जीवन बित्यो वा बितेन, त्यो मलाई थाहा भएन। तर यता मेरो जिन्दगीमा चाहिँ अर्को मोड आइदियो।
एकदिनको घटना हो। म कलेजको कक्षा सकेर मेरा साथीहरूसँग चिया पिइरहेको हुन्छ। त्यही समयमा एक टाइसूटधारी मानिस देखा पर्छन्। उनी मतिर इशारा गर्छन् र अलिक पर आउन आग्रह गर्छन्।
म गइदिन्छु। उनको उमेर साठीदेखि पैँसाट्ठीको हाराहारीमा भएको मेरो मौनानुमान रहन्छ। त्यसो त मेरा पनि केश ‘तील—चामले’ भैसकेका थिए। ती वृद्ध पुरुष मलाई सम्झाउन आएका रहेछन्। उनी भन्दै थिए(‘हेर्नोस् प्याकुरेल सर। हिजोसम्म जेजे भए, भए। सबै बिर्सिदिनूस्। यस समयदेखि क्रिसा मेरो साथमा छिन्। सरले कुरा बुझ्नुभयो होला नि?’
मलाई अर्तीको पाचक चखाएर उनी सरासर आफ्नो मोटरतिर प्रस्थान गर्छन्। मोटरभित्र पस्छन्। म लम्केर अघि बढ्छु। म क्रिसालाई केही भन्न मात्र लागेको मात्र हुन्छु, मोटर अगाडि हुत्तिहाल्छ।
क्रिसाको साथ छुटेपछि मेरो जीवनमा अर्को मोड आउँछ। फेसबुकमा एक नारीसँग चिनापर्ची हुन पुग्छ। थोरै समयमै उनीसँग ‘दोस्ती’ कायम हुन पुग्छ। म आफ्नो परिवार बिर्सन्छु। पत्नी बिर्सन्छु।
उता ललितलाई उसकी रमाले पनि छाडिदिइछन्। निकै समय हराएको युवक। अचानकै मेसेन्जरमा झुल्कियो र चोभारमा भेट्ने मनसुवा राख्यो। तीन दिनपछि चोभारको मञ्जुश्री पाकर्मा ललित र मेरो भेट भयो। सल्लाघारीको चुच्चे ढुङ्गामा चढ्दै ललित भन्छ–‘धेरै पढेलेखेका साथीभन्दा त साक्षर नै उत्तम भएजस्तो लाग्यो सर मलाई त। रमाले मलाई नराम्रोसँग ‘युज’ गरेकी रहिछन् नि सर।’
ललितले एकै सासमा रमाको चारित्रिक बैगुणबारे बतायो।
म विवेचना गर्छु–‘रमालाई विदेश उड्नु रहेछ। त्यसको लागि तिमीजस्तो ‘पटमूर्ख दोस्त’ को आवश्यकता थियो। उनले वर्तमानको सस्तो प्रेमलाई हैन, सुधारिएको भविश्य रोजिछन् केटा।’
ललित मलाई अदवै नराखी जथाभावी भनिरहेको छ-‘जत्ति बूढो, उत्ति फुँडो भनेको यही हो। आफूलाई भने एउटी पाउन पनि कत्रो धौ धौ। हजुरजस्ता बूढालाई भने रोजी र छाडी! हैन, अचेलका ‘बूढी माऊ’ र ‘बूढा बाउहरू’ के विधि पात्तिएका हँ? हजुर त्यसको एक बेजोड नमुना। हाहाहा…। हेहेहे…।’
ललितले मसँग लाजै नमानी भन्यो–‘मैले रमासँग खासै प्रेम गर्न जानिनँछु सर। त्यही भएर उसले मभन्दा लायकको एन.आर.एन.केटो रोजी। मैले ठूलो पाठ सिकेँ। त्यही भएर प्रेमासँग सबै किसिमको सम्बन्ध कायम गरिसकेँ। यो स्कुटी उनकै लागि किनिदिएको हुँ।’
ललित र प्रेमाबीच आशक्तिको पराकाष्ठा नाघिसकेको रहेछ। यद्यपि, विवाह गर्न हतारिएका थिएनन्। अझै छैनन्। प्रेमा एक साधारण महिला। कामचाहिँ घरमा रङ्ग लगाउने। प्रेमाका पुरुष सहकर्मीहरू उनलाई निकै नै छेडछाड गर्दारहेछन्।
ललितको साथीको घरमा केही नमुनाहरू ललितका आँखाले प्रत्यक्ष देखे। कानले पनि सुने। तब ललितले सहन सकेन। अर्को दिन प्रेमाले गुनासो गरिछन्–‘हिजो हजुरले मेरो ठेकेदारलाई हातपात गर्नुभयो। त्यही कारणले अबदेखि उसले मलाई काममा नडाक्ने भयो।’
ललितले निर्णय सुनाइदियो-‘छाडिदेऊ यस्तो मूला ज्यामी काम। आजदेखि मैले दिने भएँ तिम्रो दैनिक ज्याला बराबरको पैसा। तिमी बसी बसी खाऊ।’ त्यसरी ललितले एक साधारण श्रमिक महिलाको उद्धार गर्यो। प्रेमिका बनायो। ठूलो किराना पसले साहुनी बनायो। व्यापार वृद्धिका लागि सरकारी अनुदानको कोटामा बैँकबाट सहुलियत दरको कर्जा पनि मिलाउन सफल भयो।
तर ललितलाई यो कुराचाहिँ अहिलेसम्म थाहा रहेनछ–प्रेमा के हुन्? प्रेमा को हुन्? चोभारको उक्त भेटघाटबाट मैले चित्त बुझ्दो उत्तर पाउँदिन। ‘किन लगनगाँठो कस्दैनन् उनीहरू?’ खै, मलाई थाहा छैन। ललित र प्रेमाको ‘माया–प्रीतिको कथा’ झण्डै एक दशक लामो भइसकेको छ।
म र मेरो ‘फेसबुक–फ्रेण्ड’ को कहानी पनि त्यस्तै हो। गएको पुस महिनाले मेरो जीवनमा अर्को मोड ल्याइदिएको छ। पुसको तेस्रो हप्ता काठमाडौँमा लामो वर्षा भयो। अनि अन्तिम साता आकाश सफा।
मेरी ‘प्राणेश्वरी’ को काठमाडौँ आगमन हुन्छ, पोखराबाट। त्रिभुवन विमानस्थलमा मैँ गएको थिएँ। पहिलो पटक थियो, हाम्रो साक्षात्कार हुन लागेको। मेरी ‘फेसबुक फ्रेण्ड’ को उपस्थितिलाई अति व्यग्रका साथ पर्खिन थालेँ।
उनीसँग अरू दुई जना पनि रहेछन्। प्राणेश्वरी मेरो फोटो देखाउँदै प्रष्ट हुन खोज्छिन्–‘हजुर प्याकुरेल सर नै हुनुहुन्छ हैन त? उही क्या त, मेरो बूढो मान्छे। अचम्म लाग्यो मलाई! हजुर त सक्कली अनुहार पो राम्रो बनाएर बस्नु हुँदोरहेछ सर। कसो मैले हजुरको फोटो हेर्नासाथ ‘रिजेक्ट’ गरिनछु उतिबेला।’
मैले पनि साहित्यिक ओज देखिनेगरी उनको प्रशंसा गर्न थालेँ–‘हजुर पनि कुनै बगैँचामा फुलेको गुलाबभन्दा कमकी हुनुहुन्न रैछ नि। वास्तवमा मैले हजुरको ‘रिक्वेस्ट’ लाई ‘एक्सेप्ट’ गरेकै हजुरको मृदु मुस्कानबाट प्रभावित भएर हो।’
मेरो प्रशंसारूपी फूल बर्सा भएपछि प्राणेश्वरीको हाँसोकोे फोहोरा फुट्छ। यो साक्षात्कार हाँसो त ‘टिकटके’ हाँसोभन्दा कति गुणा मीठो, मीठो। उनी ‘टिकटक प्रेमी’ हुन्। त्यही भएर म अलि जिस्कन्छु–‘हु न त मैले हजुरको उप-नाम ‘टिकटक–कुमारी’ भनेर राख्न चाहेको थिएँ। तर ‘प्राणेश्वरी’ नै उचित लाग्यो।’
उनी पनि कम वाचाल थिइनन्। त्यही भएर सिधै भनिन्-‘मैले पनि त हजुरलाई उपनाम दिएकी छु, ‘बूढो मान्छे’ भनेर। कति रात ननिदाई च्याटमा मस्त भइयो। कति दिन भिडियो कलमा संवाद गर्दै घण्टौँ बिताइयो। बडो अचम्म पो हुने रहेछ, फेसबुकबाट प्रेम गर्न थालेपछि!’
उनी धाराप्रवाह बोलिरहेकी छिन्–‘हजुर दोस्रो बैँसको उत्तराद्र्धमा हुनुहुन्छ। अनि म मध्यमा छु। यो उमेरमा माया र सद्भाव ठूलो कुरा हो । भौतिक देह गौण।’
उनको गलामा पोते—तिलहरी केही थिएन। सिउँदो पनि खाली नै देखिन्थ्यो।
हामी केवलकारभित्र बस्यौँ। केवलकारले दईवटा खम्बाहरू नाघेपछि एक्कासि मेरो कानमा परिचित स्वर गुञ्जियो–‘प्याकुरेल सर। यो केवलकारलाई उडेको भन्ने कि गुडेको?’
मेरा आँखा क्रिसाका आँखासँग जुधिहाले। म केही पनि बोलिनँ। उनीसँगै टाँसिएर बस्ने पुरुष उनको ‘नयाँ मान्छे’ होला भन्ने अनुमान लगाएँ। त्यसो त प्राणेश्वरीले पनि आफ्नो पाखुरा मेरो पाखुरामा छिराएर अङ्कुसे पारेकी रहिछन्।
क्रिसाले मलाई अप्ठेरो हुने किसिमले भनिन्–‘हजुरले मलाई माया मारेदेखि म नेपाल आएकी थिइनँ। म आउन पनि चाहन्न थिएँ। तर यो मानिसले केवल–कार चढ्न औधी रहर ग¥यो। त्यही भएर चन्द्रागिरि डाँडो उक्लेको।’
मेरी प्राणेश्वरीले सबैको ध्यान अन्तै खिचिदिइन्–‘हजुरहरूलाई थाहा छ? यस्तो केवल–कारमा पनि आगलागी हुन्छ नि। लट्ठा पनि चुँडिन्छ। यदि यसमा पनि त्यस्तो…?’
-‘हैन, के भन्दैछिन् यी बूढी माऊ!’ युवतीले हकारिन्–‘यो बुढेसकालमा के मति चढ्छ मेरी ममीलाई। यस्तो ‘क्रिटिकल सिच्वेसन’ मा पनि जथाभावी कुरा सोच्ने हो?’
बल्ल मलाई जानकारी मिल्यो, तिनी छोरी रहिछन्। क्रिसालाई हाम्रो जोडी देखेर किन जलन भएको? केही वर्षअघि अरबपति बूढोको धन देखेर गएकी हैनन् र तिनी? सात—आठ महिना उपभोग गरिहालिछन् ।
बूढाले अरबपति बनाएर गएछन् नि। उमेर, बैँस र पैसा नै त सबैथोक रहेछ वर्तमान युगमा। अब अहिले ‘पति–वरण’ गर्न सफल भइछन् अर्कै केटालाई। तैपनि मेरी प्राणेश्वरीप्रति ‘ईष्र्या’ किन लागेको ?
अर्को दिन…
बगैँचाजस्तो एक टुक्रा जमिनभित्र प्राणेश्वरी र म बसेका छौँ। हामी दुवैले बदाम खाएका छैनौँ। छोडाइरहेका मात्र छौँ। मैले स्पर्श गर्न सकिरहेको छैन । म अवाक छु। न हुँ पनि कसरी? मोबाइलको मेसेन्जरका पानाभरि मेरा अभिव्यक्तिहरू छरपस्ट छन्। तर यो साक्षात्कारमा मलाई के भयो?
प्राणेश्वरीले उनको ब्यागबाट एउटा पोको निकालिन्। मलमलको रुमालको उक्त पोको मेरो हातमा राखिदिइन्। अब बदाम छोडाउने क्रम भङ्ग हुन पुगेको छ । पोकोलाई फुकाउनासाथ म आश्चर्यचकित भएको छु!
अनायासै मेरो ओठ खुल्छ-‘यो सब के हो प्राणेश्वरी?’
उनले मेरो हातमा च्याप्प समातेर भनिन्-‘बूढो मान्छे। हजुर त हीरामोती नै देखेझैं गरी छक्क पर्नुभयो गाँट्ठ ! यो एउटा तिलहरी न हो। त्यो पनि मेरो घाँटीमै बिलाउने। अनि यो एउटा सानो फूली र एउटा सानो औँठी। बस्, यिनै तीन चीज त हुन्।’
मैले बुझ पचाएर सोधें–‘तिलहरी किन नि? यो त हजुरको जीवनबाट अलग भैसक्यो हैन र? तर आज एक्कासि फेरि यो…,यो…?’
उनले आफ्ना बाहुहरू फैलाएर मेरा आँखामा गढेर हेर्दै सवाल गरिन्–‘के मलाई यो रङ्गीन संसारमा रमाउने अधिकार छैन र बूढो मान्छे?’
उनी भावनामा बग्दै जान थालिन्–‘समय र सन्जोगले जुराएको नाता हो हाम्रो। हो, हजुर र म त्यतिखेर दोषी ठहरिन्थ्यौँ–यदि हाम्रो उमेर असमान भएको हुन्थ्यो भने। तर…।’
उनी बोल्दै थिइन्। मैले बीचैमा च्वाट्ट काटिहालेँ–‘हजुरले दस लाससम्म मात्र पढेकी कुरा गर्नुभएको थियो । श्रीमान् पानीजहाजमा डुबेर बित्नुभएको भन्नुभएको थियो। कान्छी छोरीको बिहे भएकै छैन….।’
-‘हजुरले भाउजूसँग पारपाचुके गर्न पर्दैन बूढो मान्छे ।’ उनी आत्मीयता देखाउँदै मलाई सम्बोधन गर्थिन्— ‘बूढो मान्छे’ भनेर, फेसबुकमा । मलाई यही सम्बोधन मीठो लागेको हो । उनी मेरी ‘प्राणेश्वरी’ । अनि म उनको ‘बूढो मान्छे’।
उनी भावनामा बहकिँदै छिन्- ‘म हजुरकी पत्नी हुँ भनेर दावी पनि गर्दिनँ बूढो मान्छे । केवल यी तीनथरी गहनाहरू मात्र लिन आएकी हुँ र अहिले लिन चाहन्छु ।’
मेरो पैँतीस वर्षे प्राध्यापनको ‘करियर’ छिनभरमा धूलोपीठो भएको अनुभूत गरेँ मैले । के पढाएछु मैले ? के सिकाएछु मैले ?
उनी भनिरहेकी छिन्- ‘मेरो र हजुरको कुनै पनि ‘स्टाटस’ मिल्दैन सर । म त थोरै पढेकी आइमाई । तर हजुर त प्रोफेसर । यद्यपि, माया र सद्भावको लेखाजोखा गर्ने हो भने त म…।’
मलाई आफैंदेखि रिस उठ्न थाल्छ । म बसेको स्थानबाट उठेर चारैतिर नियाल्छु । चन्द्रागिरि डाँडैभरि मानिसहरूको चहलपहल छ। सबै सबै प्रेममा लिप्त छन्।
मैले मलमलको रूमाललाई साविककै तरिकाले पोको पारेँ । छोडाइएका र छोडाउन बाँकी बदामहरू असरल्ल छन् । एक गेडो पनि खान मन भएन । उनीसँग केही पनि नबोलिकन सरासर होटलतिर लागेँ।
म रूमभित्र पसेँ । ढोका लगाइनँ। म हिजो यहाँ बसेको थिइनँ। आफ्नै घर गएको थिएँ, नैकापमा । केही मिनेटपछि नै प्राणेश्वरी आइपुगिन् र दुवै हात छातीमा बाँधेर सवाल गरिन्-‘हजुरले के निर्णय गर्नुभयो त बूढो मान्छे ?’
-‘के हजुरलाई मैले ‘वाइफ—फ्रेण्ड’ बनाउनु प्राणेश्वरी ?’ मेरो प्रतिप्रश्न जान्छ उनलाई । म लगातार बोलिरहन्छु-‘यो उमेरमा आएर हजुरले दोस्रो विवाह गर्दा परिवारले के भन्लान् ? समाजले के भन्ला ? नातागोताले के सोच्लान् ?’
मेरो कत्रो धृष्टता ! मबाट जेजे सवालहरू गरिए, तिनले मैँलाई मूर्ख सावित गर्दै थिए । थोरै वर्षको मित्रता हो र । सात—सात वर्षका हिउँद-वर्षाहरू बितायौँ । केके मात्रै बोलिएन होला ? केके मात्रै वचनवद्धता प्रकट गरिएन होला ?
चन्द्रागिरि डाँडा साक्षी छ । कस्तो रहेछ यो साथी र साथ भन्ने चीज ? पतिलाई पनि बाहिर ‘गर्लफ्रेण्ड’ चाहिएको छ । अनि पत्नीलाई ‘ब्वाइफ्रेण्ड ।’
मैले हत्केला माड्दै भनेँ- ‘हजुरले मलाई कस्तो धर्मसङ्कटमा पार्ने हुनुभयो प्राणेश्वरी ! हजुरकै छोरी र जुवाइँलाई साक्षी राखेर मैले हजुरको सिउँदोमा सिन्दूर…?’
-‘मैले हजुरलाई ‘मेरो सिउँदोलाई सिन्दूरले रङ्गाइदिनोस्’ भनेकी छु र बूढो मान्छे ?’
उफ् ! उल्टै उनी मलाई प्रतिप्रश्नहरूको झटारो हान्न लागिन् । उनले मलाई हाम्रो ‘भूमिका’ को बारेमा राम्रोसँग पाठ पढाइन् ।
उनी भन्दै जान्छिन्- ‘मैले केवल प्रेमको ‘जमानी’ खोजेकी हुुँ, दोस्रो पति होइन। म हजुरलाई ‘हसबेण्ड-फ्रेण्ड’ हैन, ‘बेस्ट-फ्रेण्ड’ बनाउन चाहन्छु बूढो मान्छे। जहाँसम्म मेरी कान्छी छोरी र जुवाइँको कुरा छ, उनीहरू जापानमा बस्छन्। ‘लिभिङ्ग टुगेदर’ को सम्बन्धमा छन्। उनीहरू बिहानै सौराहातिर लागिसके।’
प्राणेश्वरीले अघि बगैँचामा जस्तै गरेर दुवै बाहु फैलाउँदै भनिन्- ‘अब त दिनोस् त्यो पोको। सात-सात वर्षसम्म त कुरिसकेँ। अब कुर्न सक्तिनँ मित्र। के म मेरो प्रेमको अपहरण भएको यी आँखाले टुलुटुलु हेरी बस्न सक्छु र ?’
हामी समयको अनौठो मोडमा थियौँ । त्यही बेला लण्डनबाट मेरी पत्नीको ‘भिडियो कल’ आउँछ। मलाई झनक्क रिस उठ्छ र मुख लाग्छु- ‘बल्ल याद आयो लोग्नेको ? आज एक दशक बितिसक्यो । नाति, नातिनीहरू ठूला भैसके । तर तिम्रो दुई वर्षे भाका अझै सकिएको छैन हगि ?’
मैले भिडियोको दृश्यमा प्राणेश्वरीलाई पनि समेट्न चाहेँ । तर उनले इशाराले भनिन्, नाइँ-नाइँ । उताबाट पत्नीले झपारिन्-‘यो बुढेसकालमा जवानी चढेजस्तो छ ! होटलको रूम हो । चन्द्रागिरि डाँडामा खुबसँग बदाम छोडाइँदैछ हैन ?’
-‘चुप लाग तिमी…।’ मलाई एकदम रिस उठ्यो र लाइन काटिदिएँ । प्राणेश्वरी मलाई सम्झाउँदै छिन्— ‘हजुरले त्यस्तरी प्रस्तुत हुन नहुने थियो बूढो मान्छे । जे भए पनि उहाँ हजुरकी एक मात्र अर्धाङ्गिनी पो त ।’
मैले रुन्चे हाँसोमा बताएँ— ‘उनले मलाई आधा अङ्ग सम्झे पो उनी अर्धाङ्गिनी । भो, हजुर टेन्सन नलिनोस् यसमा । हजुरजस्ती नारी मेरी ‘बेस्ट—पे्रmण्ड’ भएपछि मलाई अरू कोही चाहिँदैन ।’
उनले कोठाको ढोका अलिकति ढप्काइदिइन् । तब मैले उक्त पोको उनको हातमा थमाइदिएँ । उनी ठूलो ऐनासामु उभिएर नाकमा फूली लगाउन लागिन् । केही असहज भएकोले मैले सघाएँ । उनको नाक टलक्क टल्कियो । त्यसपछि देब्रे हातको माझी औँलामा औँठी पहिरिइन्।
किन साहिँली औँलामा लगाइनन् ? म मनमनै सोच्दै थिएँ । अब बाँकी तिलहरी थियो । तर लगाइनन् । बरु औँठी पनि फुकालेर तिलहरीसँगै पोको पारेर ब्यागमा राखिन् । मैले आफ्नो कोटको भित्री खल्तीमा हात घुसाएँ र चेकबुक निकालेँ ।
मसँग कलम रहेनछ । उनले दिइन् । म एउटा पातो चेकमा हस्ताक्षर गरेर प्राणेश्वरीको हातमा थमाउँछु । उनको कलम पनि फिर्ता गर्छु । उनले मेरो अनुहारमा हेरेर आफ्नो ओठमा मुस्कान भरिन् । खाली चेकमा रकम उनैले लेखिन् ।
-‘किन त्यति रकम मात्रै भर्नुभएकी हजुरले ?’ मैले अनौठो मानेर सोध्दै अगाडि भनेँ- ‘चेक बाउन्स हुन्न ।’
-‘किन चाहियो आवश्यकताभन्दा बढी रकम ?’ प्रतिप्रश्न गर्दै प्राणेश्वरी भन्छिन्- ‘मैले मेरो परेको रकमभन्दा पाँच रूपैयाँ मात्र बढी लिएको छु बूढो मान्छे ।’
मैले फेरि जिज्ञासा प्रकट गरेँ- ‘पाँच रूपैयाँ दामचाहिँ केका लागि नि प्राणेश्वरी ?’
उनले हाँसेर उत्तर दिइन्- ‘दक्षिणा। हजुरले उपहार दिएर मात्र पुग्छ र। उपहारसँगै दक्षिणा पनि त चाहियो नि । त्यही भएर…।’
उनले उनको खास उद्देश्यबारे स्पष्ट पारिन्- ‘म हजुरको ‘बेस्ट-फ्रेण्ड’। मैले पनि गर्व गर्न पाएकी छु, मेरो पनि कोही आफ्नो मानिस छ भनेर।’
मभित्रको ‘प्रोफेसर’ हार्दै थियो। उनी हँसिली छिन्। तर म उदास छु । उनले हाम्रो साइनोको आफ्नै किसिमले व्याख्या गरिन्। विवाहेत्तर पनि नारी र पुरुष ‘बेस्ट—फ्रेण्ड’ हुन्छन् । कुरौटेहरूको मतलव गर्न हुन्न । मार्या गरौँ । मायामै बाचौँ । बस्…।
उनी मलाई पढाइरहेकी छिन्-‘यो साइनो मुटु र मायाको सम्बन्ध हो। कुनै सर्त छैन । कुनै आग्रह पनि छैन । न त बन्देज छ । हाम्रो मायाको साक्षी पनि एकार्काको मन र मुटु । दर्शक पनि एकार्काकै मन र मुटु । बाँकी सबै मिथ्या।’
मेरो मनको बोझ हलुका पार्न अन्तिम प्रश्न गर्छु-‘मैले एउटा कुरा बुझिनँ । हजुरले तिलहरी र औँठी कहिलेलाई साँचेर राख्नुभएकी ?’
-‘हेहेहे…। तपाईँ त साँच्चैको लाटो मान्छे !’ हाँस्दै उनले अर्थ लगाइन्- ‘यो नाकको फूली मायाको ‘प्रतीक’ हो । यो कुरा हामी दुईबीच मात्र सीमित रहन्छ । अब हजुरलाई मैले हरपल आफ्नै साथमा पाउँछु बूढो मान्छे । अँ, हजुरको मैले एउटा ‘सेक्रेट’ कुरा चाल पाइसकेकी छु नि।’
त्यो कुरा मैले भन्नै लागेको थिएँ । तर मेरो ‘सरप्राइज’ लाई उनले असफल पारिदिइन्। मैले उनको नामको ‘ट्याटू’ खोपाएको थिएँ— ‘प्राणेश्वरी’ । म छक्क पर्छु ! कसरी चाल पाइछन् उनले?
त्यस्तैमा मैले बदाम सम्झिएँ । झ्यालबाट हेरेँ । ओहो ! यो के देख्दैछु म ? हाम्रो बदाममा त केटा र केटी पो चर्दै रहेछन् ! केटो त ललित रहेछ । अनि केटी त ? सायद उसैकी प्रेमिका होली, प्रेमा। मलाई ललितको व्यहोरो मन परेन।
मैले चन्द्रागिरिमा भेट्न फोन गरेको थिएँ । प्रेमासँग भेट गराउन आग्रह गरेको थिएँ । तर ढाँट्यो । बरु उल्टै मेरी पत्नीलाई कुरा लगाइदिएछ । मलाई कुदेर गई ललितलाई लात ठोक्न मन लाग्यो।
मैले प्राणेश्वरीसँग बदाम खाने प्रस्ताव राखेँ । अहँ, उनले मानिनन्। बरु आफ्नो मोबाइलमा जहाजको टिकेट देखाइन् । जान हतार गरिन् र होटलको हिसाब चुक्ता गरिन्। हामी केवलकारमा चढ्यौँ।
अचानक उनी भावनामा बहकिइन्- ‘अब मलाई यसमा आगलागी भए पनि चिन्ता छैन । लट्ठा चुँडिएर तल खसे पनि डर छैन । किन कि आज मैले संसारै जितेकी छु ।’
प्राणेश्वरीको अभिव्यक्तिप्रति एक वृद्ध पुरुषले टिप्पणी गरे- ‘किन यति छिट्टै मर्ने कुरा गर्नुहुन्छ नानी ? अब असारमा आएर हिउँ पनि खेल्नु पर्छ नि । यो चन्द्रागिरि डाँडामा बदाम छोडाउन नपाएर, हिउँमा लडीबुडी गर्न नपाए जन्मेको के सार भयो र ?’
उनको कुरा सुनेर सबै यात्रीहरू हाँस्न थाल्यौँ । त्यही बेलामा केवलकार लचक्क लच्कियो । लट्ठा चुँडियो कि भनेर सबैको सातोपुत्लो उड्यो । सबैले हात जोडेर भालेश्वर महादेवलाई पुकार्न थाल्यौँ । आखिर अर्को विकल्प पनि के नै थियो र ?
मेरी प्राणेश्वरीको मनमा के थियो कुन्नि ? मेरो मनमाचाहिँ कुरा खेलिरहेका थिए- ‘मेरी बेस्ट—फ्रेण्डले त्यो तिलहरी किन लिइन् ? तर किन लगाइनन् ? आखिर यो पोकोको रहस्य कहिलेसम्म गोप्य रहला ? कहिलेसम्म ?
Facebook Comment