मन्त्रिपरिषद् बैठकः आज स्थानीय तहको निर्वाचनको मिति घोषणा होला ?

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक ढिला गरी सुरु भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।
सोमबार बिहान प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग छुट्टै छलफल गरेका थिए । त्यसैले आजको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सम्भावना धेरै छ ।
निर्वाचन आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले वैशाख अन्तिम वा जेठ पहिलो साता निर्वाचन गर्नुपर्ने सरकारलाई सिफारिस गरिसकेको छ । प्रधानमन्त्री देउवाले ४ जेठमा निर्वाचनको मिति तोकिने यसअघि नै जानकारी गराइसकेका छन् ।
Facebook Comment