८ फागुनदेखि इलामबाट काठमाडाैं व्यावसायिक हवाई उडान हुने
इलाम। व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। बुधबार दिउँसो नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि मात्रै परिक्षण उडान गरिएको हो।
फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यवसायी उडान सुरु हुँदैछ। तारा एयरलायन्सले साताको एक दिन काठमाडौँ-इलाम-काठमाडौँ उडान गर्ने तयारी छ। नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलायन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलायन्सबीच सम्झौता भएको हो।
सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ। ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन्। फाल्गुननन्द-सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ।
विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पूरा भएको हो। २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो। विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघिसमेत परीक्षण उडान गरिएको थियो । २१ जेठ २०७५ मा तारा एयरको ट्विनअटर जहाजले परीक्षण उडान गरेको थियो।
Facebook Comment