पाँच दिनदेखि हिउँमा फसेका नागरिक सकुशल घर फर्किए

डिसी नेपाल
२६ माघ २०७८ १९:२६

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका ८ का ३४ जना नागरिक पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै नागरिक जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयको समन्वयमा नागरिकलाई सकुशल घर ल्याएका हुन् ।

यही माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए ।

प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्धारका लागि हेलिकप्टर पठाइएको थियो । बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्विइन्टल खाद्यान्न राहत फालेर उद्धार टोली फर्किएको थियो ।

त्यस्तै मंगलबार सुरक्षा निकाय, प्रशासन, तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका नागरिक सहित पाटनमा रहेका सयौँ भेडाको समेत सकुशल उद्धार गरिएको प्रशासनले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हिउँमा फसेका नागरिक र उनीहरूका भेडाको सकुशल उद्धार गरिएको छ । उनका अनुसार ३६ जना मध्य २ जना नागरिक २२ गते नै घर फर्किसकेका थिए ।

जडीबुटी संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार, प्रहरी प्रशासन र तातोपानीले सक्रियता पूर्वक उद्धार गरेको हो ।

तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओडार, खोटी सल्ला ओडार र गाग्रो ओडारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।

त्यस्तै, सोही हिमपातका कारण पाटनबाट फर्किने क्रममै दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जडिबुटी संकलन गर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला ३७ वर्षीया देवी शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *