किसानको घरदैलोमा सरकारको योजनाः कृषिमा यान्त्रिकीकरण प्रवेशसँगै किसान हर्षित
मोरङ । कृषिमा यान्त्रिकीकरणको प्रवेशसँग किसान हर्षित भएका छन् । उत्पादन र उत्पादकत्व बढ्ने, लागत कम र लाभ ज्यादा लिन यान्त्रिकीकरणले मद्दत गर्ने भएकाले किसान हर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रमा तरकारी जोन लागू भएपछि किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङबाट ५० प्रतिशत अनुदानमा खेत खनजोत गर्ने पावर टिलर प्राप्त गरेका छन् ।
लगभग ५०० हेक्टर जग्गामा लागू भएको तरकारी जोनमा किसान मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर लाभ लिइरहेका छन् । केही वर्ष जीवन निर्वाह हुने खेतीबाट अहिले किसानले लाखौँ आम्दानी गर्नुका साथै प्रशस्त रोजगार पनि दिएका छन् ।
तरकारी जोनमा फार्म र समूह गरी २९ वटा समूह सूचीकृत भएका छन् । किसानको माग र आवश्यकताअनुसार कृषियन्त्र प्रदान गर्न लागिएको हो । केही किसानले पम्पिसेट, बोरिङ, डिजिटल नापतौल गर्ने मेसिन, शीतगृह, टिपर माग गरेका छन् । अहिले कटहरीमा एक थान टिपर उपलब्ध गराइसकेको र बाँकी माग क्रमशः पूरा गर्दै जाने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले बताए ।
तरकारी जोनका देवानन्द साहले यस क्षेत्रका किसान परियोजनाबाट लाभान्वित मात्र नभई खेती गर्न थप उत्साहसमेत मिलेको बताए । उनले पाँच बिघामा तरकारी खेती गरेर खर्च कटाएर रु १५ लाख आम्दानी गर्न सफल भएको बताए । उनले दैनिक १५ जना कृषि मजदुरलाई रोजगार दिएका छन । महिला रु ३०० र पुरुषलाई रु ६०० दैनिक हाजिरमा काम लगाएको साहले बताए । हाम्रो उत्पादनलाई खेर जान नदिन सरकारले बाटोघाटो, शीतगृह, बजार र ढुवानीका साधन व्यवस्था गर्नुपर्ने साहले माग गरे।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा जहदा गाउँपालिकाको कुशवहामा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण हस्तान्तर कार्यक्रममा आठ जना तरकारी जोनका किसानले पावर टिलर प्राप्त गरेका छन् ।
चिनियाँ कम्पनीका सिफाङ पावरको खरिद मूल्य रु दुई लाख ५० हजारमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । किसान हरिहर साह, सियाराम राजवंशी, ताराचन्द मण्डल, मनोजकुमार सिंह, हरिनाथ सिंह, राकेश सिंह, गणेश राजवंशी र पवनकुमार सिंहले जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, परियोजना प्रमुख मण्डल र सहायक प्रमुख जिल्ला अधिकारी महेश तिमिल्सिना सामूहिकरूपमा हस्तान्तरण गरे।
संयोजक पोखरेलले जीवन निर्वाहमुखी खेतीले परनिर्भरता नहटाउने भन्दै कृषिलाई व्यावसायिक बनाउन, उत्पादन र उत्पादक बढाउन तथा रोजगार सिर्जना गर्न परियोजना आएको बताए । उनले किसानले उत्पादन मात्र होइन स्वस्थ्यकर उत्पादनमा जोड दिन सकेमात्र भारतबाट आयात हुने विषादीयुक्त तरकारी प्रतिस्थापन हुने विश्वास व्यक्त गरे । संयोजक पोखरेल परियोजनाले किसानको मागलाई क्रमशः सम्बोधन गर्दै जाने र यसैबाट मुलुकमा समृद्धि आउने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले राज्यको लगानी भएको यन्त्रलाई सुरक्षित एवं व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकियो भने मात्र अधिक लाभ लिन सकिन्छ भन्नुभयो । परियोजनाका प्रमुख मण्डलले तरकारी जोनलाई सुपरजोनमा लैजान किसानले थप मेहनत गर्नुपर्ने भन्दै स्वस्थ्यकर तरकारी उत्पादनमा जोड दिए।
जहदा गाउँपालिका अध्यक्ष कैलाश मण्डल र उपाध्यक्ष सालो साहले सरकारले यस क्षेत्रलाई छनोट गरेर तरकारी जोन बनाएकोमा खुसी व्यक्त गर्दै प्रशस्त मकै उत्पादन हुने यो क्षेत्रमा किसानका लागि मकै दाउन्नी गर्ने मेसिन माग गरे । तरकारी जोन सञ्चालक समितिका अध्यक्ष शिवनाथ सिंहले हरेक क्षेत्रबाट निराश रहेका यहाँका किसानको घरदैलोमा सरकारको योजना आएकोमा खुसी व्यक्त गरे ।
Facebook Comment