राजतन्त्र फर्काउने पूर्वराजा ज्ञानेन्द्रको इच्छा, भने– जनतालाई शोकमा राख्नु प्रजातन्त्र होइन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् ।
७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा समीक्षा गर्नुपर्ने पूर्वराजा शाहको भनाइ छ ।
पूर्वराजा शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभई आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएको छन्। राष्ट्रियता विनाको प्रजातन्त्र आकाशमा महल बनाएको जस्तो हुने उनको भनाइ छ ।
‘आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुयाई रहेको छ, विचारणीय प्रश्न छ ।’ पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।
Facebook Comment