चुनावमा सिट घटे पनि हामीलाई आपत्ति छैन : हरिबाेल गजुरेल नेता, माओवादी केन्द्र

डिसी नेपाल
७ फागुन २०७८ ९:४८

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति हुन नसकेपछि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगे। माओबादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने आशंका समेत भइरहेको छ ।

एमसीसीको बहसले सत्ता गठबन्धनमा बिबाद कायम रहेको छ। एमसीसीलाई लिएर नेपालको पछिल्लो राजनितिमा नयाँ धुव्रीकरण हुने संकेत देखिएको छ। माओबादीे एमसीसीमा स्पष्ट अडान लिन नसकेको आरोप उक्त पाटीका अध्यक्ष पुष्पकमल दाहाललाई लागिरहेको छ।

यसै परिपेक्षमा माओबादी केन्द्रको गठबन्धनमा सहभागिता, असहमति या बहिर्गमन भन्ने बिषयमा केन्द्रित रहेर माओवादी केन्द्रका नेता हरिबाेल गजुरेलसँग डिसी नेपालका लागि शरद रिजालले गरेको कुराकानीको सम्पादित अंशः

माओवादी केन्द्रले एमसीसी सम्झौताबारे प्रष्ट दृष्टिकोण किन बनाउन सकेन ?

हामीले यथास्थितिमा पास गर्न सकिँदैन भनेको मात्र हौँ। तर यसको बाहिर गलत प्रचार भएको हो। हामीले राष्ट्रिय सहमति बेगर पास गर्न नसकिने हाम्रो बटमलाइन हो। हामी त्यसमा प्रष्ट छौँ। हिजो नेकपा हुँदा पनि हामी यथास्थितिमा पास गर्न सकिँदैन भनेकै थियाैं। अहिले पार्टी बिभाजित भएर यहाँसम्म आउँदा पनि हामीले संशोधन र सहमति बिना पास गर्न सकिँदैन भनेका छौँ। यस बिषयमा हाम्रो प्रष्टै अडान छ त!

एमसीसीमा एमाले कांग्रेस एक ठाउँमा उभिए गठबन्धन भत्किन्छ, त्यसपछि माओवादी केन्द्र के गर्छ ?

पहिलो कुरा त गठबन्धन एमसीसीको लागि बनेकै होइन, यो भिन्न परिवेशमा राजनैतिक स्थायित्व र संविधानको रक्षाको लागि बनेको हो। त्यसैले एमसीसीले गठबन्धन भत्किन्छ भन्ने म ठान्दिन। फेरि गठबन्धन भत्किएर उहाँ देउवाजीले कसलाई सर्मथन गर्नुहुन्छ ? केपी ओलीलाई सत्ता सुम्पने धृष्टता उहाँले गर्नुहोला जस्तो त मलाई लाग्दैन ।

हामीले यथास्थितिमा पास गर्न सकिँदैन भनेको मात्र हौँ। तर यसको बाहिर गलत प्रचार भएको हो। हामीले राष्ट्रिय सहमति बेगर पास गर्न नसकिने हाम्रो बटमलाइन हो। हामी त्यसमा प्रष्ट छौँ। हिजो नेकपा हुँदा पनि हामी यथास्थितिमा पास गर्न सकिँदैन भनेकै थियाैं।

हिजो उहाँहरुको बालकोटको बैठकमा पनि ओलीजीले कुनै सहमति जनाउनु भएन नि। गठबन्धन टुटाएर सरकार संचालनको लागि पुनःओलीलाई जिम्मा लगाउने हो भने हिजो गठबन्धन गर्नुको औचित्यता पुष्टी गर्न उहालाई अप्ठेरो पर्ला। ओलीजीको मौनताले त्यस्तो संकेत गर्दैन। अहिलेलाई गठबन्धनको बिषय भन्दा सहमति प्रधान विषय हो। सहमतिबाटै निकास दिनुपर्छ भन्ने हाम्रो आशय हो।

यदि गठबन्धनबाट यहाँहरु बाहिरिनु भयो भने आगामी निर्वाचनमा जाँदा यहाँहरुको पक्षमा परीणाम पनि सन्तोषजनक नआउला, निर्वाचन नजिकिँदै छ!

हामी सानो हौँला खुम्चेऔँला त्यसमा केही छैन। हिजो एकसय पच्चीस जितेको हामीहरु अहिले ५४  सिटमा पनि चित्त बुझाएकै छाैं। निर्वाचनमा परिणाम जे आउला त्यसको सामना गर्न हामी तयार छौँ। ‘मल्टीपाटी सिस्टम’मा आवश्यकताले यो गठबन्धन बनेको हो । सबै यसैमा निर्भर भन्ने होइन। हामी आगामी निर्वाचनको सन्दर्भमा एक्लै मुकाबिला गर्न सक्षम छौँ। आएको परिणामलाई हामी स्वीकार्छौं।

यहाँहरुको गठबन्धनमा रहेको भूमिकाप्रति कटाक्ष गर्दै कांग्रेस नेता डा.मीनेन्द्र रिजालले माओवादीले हामीलाई ‘लाल’ कांग्रेस बनाउन खोजेको छ भन्दै हुनुहुनुन्छ, के यहाँहरुले त्यसै गर्नुभएकै हो ?

मिनेन्द्र रिजाल त गठबन्धन बिरोधी हो नि। अब उहाँले त्यसो भन्नु कुनै अन्यथा होइन । कांग्रेस महाधिवेशनमा पराजित भएका गठबन्धन बिरोधीको स्याल हुइयाँको बारेमा केही भन्नु छैन । गठबन्धन पक्षधरहरु कांग्रेसको महाधिवेशनमा विजयी बनेका हुन। बिराधीहरुलाई कार्यकर्ताहरुले हराएका हुन्। यर्सथ यो गठबन्धन हामीलाई मात्र आवश्यक भन्ने तवरले जसरी प्रचार गरिएको छ त्यो नै गलत छ । कांग्रेस भित्र पनि पक्षधरहरुको बलियो उपस्थिति रहेको छ ।

अन्त्यमा यहाँको पार्टी अध्यक्षलाई एकातिर बिरोध गर्ने र अर्को तिर सर्मथनको लागि पत्र लेख्ने एमसीसीको बिषयमा द्वैध चरित्र देखाउनु भयो भन्ने आरोप लागेको छ नि?

यो पत्रको विषयमा अध्यक्ष एक्लैले लेखेको पनि होइन। संयुक्त पत्र हो। एमसीसीको बिषयमा सहमति गर्छाैं भनेर जानकारी गराउँदा कसरी दोहोरो चरित्र भयो। तत्कालीन आबश्यकता र गठबन्धनको भावनालाई कदर गरि उक्त पत्र लेखिएको हो। राजनीतिमा अनेकौ टयाक्सीसहरु हुन्छ।

बस्तुगत आबश्यकताले निर्धारण गरेको हुन्छ। नेपालका मिडियाहरुले गलत ढंगले ब्याख्या गरेका छन् । नेपालका मिडियाहरुमा दलाल र पुँजिपतीहरुको वर्चश्व  रहेको छ । माओबादी र प्रचण्ड स्थापित भए भने आफ्नो दलालीको असलीयत उदांगो हुने र आफ्नो भ्रमको खेतीको अन्त हुने भयले प्रचण्ड बिरुद्ध अफबाह फैलाएका हुन्। हिजो जनयुद्धलाई लिएर पनि यस्तै अपब्याख्या गर्न खोजिएको देखिन्छ। राजनीतिमा चतुर्‍याइँ र शक्ति केन्द्रलाई आफ्नो अनुकूलतामा संतुलित राख्नुपर्ने हुन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *