काठमाडौंका चोक चोकमा फोहोरको डंगुर (फोटोफिचर)

काठमाडौँ। स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन। नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन नसकिएको हो।
नौ दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ। अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ।
उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ। सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ।
Facebook Comment