देशभर थपिए २७५ कोरोना संक्रमित ,एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६२८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ६७० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार २५५ रहेको छ । पछिल्लो समय थप ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ४५८ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २२ हजार ४९३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० रहेको छ । अहिले होम आइसोलेसनमा नौ हजार २६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २५४ आइसीयुमा ९२ र भेन्टीलेटरमा १५ जनाले उपचार गराइरहेका छन् ।
Facebook Comment