स्वरोजगार बन्दै जुम्लाका महिला

डिसी नेपाल
१४ फागुन २०७८ १७:१६

खलङ्गा । चन्दननाथ नगरपालिका– ६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन । घरपरिवारको गुजारा चलाउन निकै गाहे हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन् । अहिले उनलाई परिवार चलाउन सहज भएको छ ।

आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन् । “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ ।

“एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ । टोपी र मोजा बुन्न सिकेका छौँ । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ ।”

चन्दननाथ– ४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ । सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ ।”

सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन् । अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन् ।

पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन् । उनीहरूका परिवार पनि यसबाट खुसी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उनले सुझाए ।

पातारासी गाउँपालिकाद्वारा २३२ योजना सम्पन्न

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २३२ वटा योजना सम्पन्न गरेको छ । पालिकाभित्रका सबै वडामा सो योजना सम्पन्नका लागि रु १९ करोड १८ लाख ६३ हजार ६०० खर्च भएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए।

स्थानीय समुदायका मागमा आधारित योजना सफतापूर्वक निर्माण गरी सञ्चालनमा आएका छन् । सो गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमा अध्यक्ष बोहोराले सो जानकारी दिएका हुन्।

चालू आवमा एक स्थानीय तह एक खेल मैदान, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, कृषि कार्यालय जुम्लाको आलु पकेट सिँचाइ कार्यक्रमको २ प्रतिशत, राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा चार प्रतिशत, वित्तीय समानीकरणतर्फ २१ प्रतिशत, प्रधानमन्त्री रोजगार कार्यक्रममा सात प्रतिशत बजेट खर्च भइसकेको छ ।

यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमको १७ प्रतिशत, सङ्घ सरकारको समपूरक र विशेष अनुदानतर्फको ३९ प्रतिशत, वित्तीय समानीकरणतर्फको अध्यक्ष÷उपाध्यक्ष विकास कोषतर्फ २ प्रतिशत र नेपाल जलवायु परिवर्तन कार्यक्रमतर्फको आठ प्रतिशत रकम पालिकाले खर्च गर्न सफल भएको उनको भनाइ छ । पालिकाभित्र ४० वटा सडक निर्माण भई सञ्चालनमा आएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा ग्राभेल सडक ५१ हजार मिटर र २०७७÷०७८ मा ७५ हजार मिटर सडक ग्राभेल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *