राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको तयारी

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गरेको छ । यस वर्षदेखि विएस्सी नर्सिङ, विएनएस, स्नातक अफ फार्मेसी कक्षा सञ्चालन गर्ने तयारी गरिएको र पाठ्यक्रमसमेत स्वीकृत भइसकेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरूप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि यही शैक्षिक सत्रदेखि शैक्षिक पठनपाठन सुरु गर्ने गरी तीन संकायको पाठ्यक्रम तयार भई स्वीकृत भइसकेको छ ।
पाठ्यक्रम स्वीकृत गरे लगत्तै चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ । आयोगले अस्पतालको पूर्वाधार विकाससहित प्रदान हुने सेवा सुविधा, आवश्यक जग्गाका बारेमा अनुगमन गरेको थियो । आयोगको अनुगमनपछि प्राप्त सल्लाह सुझावका आधारमा प्रतिष्ठानमा सञ्चालित कार्यक्रमको लागि संख्या निर्धारण हुने शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले बताए ।
प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने ल्याब, लाइब्रेरी, लेक्चर हल लगायतको पनि अवलोकन गरेको छ । आयोगले स्थलगत अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएको र आयोगको सल्लाह अनुसार नै काम अघि बढिरहेको रजिस्ट्रार प्रकाश थापाले बताए । शैक्षिक कार्यक्रम सञ्चालनमा प्रतिष्ठानले चाल्नुपर्ने आवश्यक कदमको विषयमा आयोगले प्रतिष्ठान महत्त्वपूर्ण सुझाव दिएको थियो ।
चिकित्सा शिक्षा आयोगबाट नर्सिङतर्फ प्रा. मन्दिर वन्त, फार्मेसिको तर्फ प्रा. डा. धर्मप्रशाद खनाल, आयोगबाट कृष्ण पौडेल, प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, शिक्षाध्यक्ष डा. वसन्त लामिछाने रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एञ्जिलिका कार्कीसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो ।
Facebook Comment