नेपाली सेनाका लागि वर्तमानका संकट

डिसी नेपाल
१६ फागुन २०७८ १०:२१

भोलि सेना दिवस। नेपाली सेनाको ठूलो उत्सव। गौरवमय इतिहासको सम्मान गर्दै वर्तमानको समीक्षा गरेर भविष्यको सुनौलो योजना बुन्ने दिन। सहिदहरुको सम्मान र घाइते बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको शुभकामना ब्यक्त गर्ने दिन।

आम नेपाली जनताले आफ्नो राष्ट्रिय सेनालाई माया ममता दर्शाउने र शुभकामना ब्यक्त गर्ने दिन। नेपाल सरकार, संबैधानिक निकायहरु, सबै सुरक्षा अङ्गहरु र विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरु सशरीर र टुँडिखेलमा उपस्थित भएर नेपाली सेनालाई बधाई र शुभकामना दिने दिन।

आत्मीयता दर्शाउँदै आशीरबाद दिने दिन। यो दिनमा नेपाली सेनाले के के संकट भोगिरहनु परेको छ भन्नेबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ।
राष्ट्रिय राजनीतिक अस्थिरता पहिलो ठूलो चुनौती हो। यसले बिदेशी हस्तक्षेप चरम उत्कर्षमा पुर्‍याएको छ। आन्तरिक शान्ति सुरक्षालाई चुनौती थपेको छ।

सुशासन नहुनु सेनाको ठूलो टाउको दुखाइ भएको छ। बिकासको बाधक भएको छ। समृद्धि आकाशको फल भएको छ। बिकास र समृद्धिले ल्याउने शान्ति सुरक्षा मात्र दिगो र सफलसिद्ध मानिन्छ। रोग भोग गरिबी अशिक्षा विद्रोहका बिउ र मलजल हुन्। यो वा त्यो विद्रोहको ज्वालाले मुलुक र मुलुकवासीलाई डामिरहन्छ।

जारी एमसीसी बिरोध, जुलुस र हिंसाले हाम्रो नेतृत्व, राजनीति सुझबुझ, कुटनीति, अर्थनीति, सुरक्षा संवेदनशीलतालाई जाहेर गर्दछ। जुन अदूरदर्शीता, अपरिपक्कपन, बिदेश बिरोध र झुकाउको अतिशयोक्ति र राजनेतृत्वको खडेरीले मुलुकलाई अस्थिरतातर्फ धकेल्न उद्यत देखिन्छ। सेनालाई धर्मसंकट!

संसारमा तेश्रो बिश्वयुद्धको बादल मडारिरहेको छ। युद्धको बिश्व रणनीति युरोप मध्य एशिया हुँदै एसियामा सरिरहेको छ। बिश्वको शक्ति शासन, पागल अपराधी बिचौलिया दलाल र हतियार माफियाहरुको हातमा सर्दै गएको छ।

राजनीतिक अस्थिरता, चरम भ्रष्टचार र बाह्य हस्तक्षेपबाट मुलुकको अस्तित्व रक्षा गर्न सैनिक शासन आह्वान गर्ने दल र दलको नेता हुन् वा बाह्य शक्तिको उक्साहट्, नेपाली सेनाले जनबिरोधी र प्रजातन्त्र बिरोधी महत्वकांक्षा कहिले पालेन। अप्रिय कदम चालेन। बरु शान्ति, सुशासन र समृद्धिको लागि प्रार्थना मात्र गरिरहयो।

चीन केन्द्रित बिश्व ईण्टेलिजेन्स र रणनीतिक प्रहार, आक्रमण, प्रत्याक्रमणको राप र तापबाट बच्न पनि हामीले सन्तुलित, तठस्थ र असंलग्न परराष्ट्र सिद्धान्तलाई अनुकरण गर्नै पर्ने हुन्छ। जुन सजिलो छैन। अथवा जुनसुकै होस् मौजुदा राजनीतिक नेतृत्वहरुबाट संभव छैन। अर्को धर्मसंकट!

प्रकृति रक्षाको ऐतिहासिक खम्बालाई मुकदर्शक बनाएर प्राकृतिक श्रोत साधन उत्खनन् दोहन बिनास गरेर सत्यानास पार्ने रोडम्याप अभ्यासको कसरी साक्षी बस्ने? अर्को धर्मसंकट!

राजनीतिक अवयवहरु, संबैधानिक अंगहरु र राज्यका सम्पूर्ण संयन्त्रहरु निकम्मा बनाउने राज्य सत्ताले नेपाली सेनामाथिसमेत लगातार वात लाउने बदनाम गर्ने र कमजोर पार्ने कामहरु गरिरहने छ। राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा कमजोर पार्ने यो कुनियतलाई टुलुटुलु हेरेर बस्नु? अर्को धर्म र नैतिकसंकट!

नेपाली जनताले मुलुकको अस्तित्व समाप्त हुने अनुमान लगाइसकेको अवस्थामा नेपाली सेना जागिर मात्र हो कि मुलुक र मुलुकवासी रक्षाको अन्तिम सचेत जिम्मेवारी जवाफदेही शक्ति हो भन्ने प्रश्नको जवाफ कहिले कसरी कसले दिने हो ? अर्को नैतिक संकट!

सुशासन दिन नसक्ने बाह्य शक्तिको गुलाम सरकारलाई साथ दिने कि कानुनी राज्य, बिधिको सुशासन, शान्ति र समृद्धिको जायज माग गर्ने जनताको रक्षा सम्मान कल्याण गर्ने अर्को ब्याबसायिक धर्मको संकट!

प्रमाणित भइसकेको नेपाली सेना

अरु देशको सेना दिवस भब्य र खर्चिलो हुन्छ। स्वतन्त्रताको स्मरण र भविष्यको रक्षा गर्न सैन्य शक्ति प्रर्दशन गरिन्छ। आफ्नो सैन्य सामर्थ्यता र प्रतिरक्षा तत्परता प्रदर्शन गरेर सम्भावित दुश्मनको सातोपुत्लो उडाइन्छ।

नेपाली सेनाका न बिरोधी न दुश्मन्। न इतिहासमा न वर्तमान र भविष्यमा। बिश्वमा बिश्वले बिश्वका लागि अधिक रुचाएको, पत्याएको र माया गरेको भाग्यमानी फौज हो नेपाली सेना।

हार्दिकता, आज्ञाकारिता, कर्तब्यपरायणता, बफादारिता, तठस्थता र बहादुरीजस्ता अपूर्व र अमूल्य गुणहरुले गर्दा यो सेना सबैको पहिलो रोजाइमा परेको हो। आस्था र बिश्वास बढेको हो। बिश्व शान्ति सेनाको माग, रोजाइ, परिचालन र संयुक्त राष्ट्रसंघको बिश्वासअनुसारको उत्कृष्ट योगदानले यो सत्यलाई पुनर्पुष्टि गरेकै छ। त्यसैले नेपाली सेनाको सेना दिवस सामान्य, मितब्ययी, परम्परागत, शान्त र सभ्यमात्र हुन्छ।

नेपाली सेनाको अर्को बिशेषता ‘बहादुरी र त्याग’ हो। तलब सेवा सुबिधा वास्ता नगरिकन प्राप्त जिम्मेवारी तामेली गर्ने तत्परता यो सेनाको अदभूत तागत र सौन्दर्यता हो। जतिसुकै बिषम कठोर र जोखिमपूर्ण जिम्मेवारी किन नहोस्, नेपाली सेनाले त्यो जिम्मेवारीलाई नगद र जिन्सी मूल्यसँग तुलना गर्दैन। बरु ज्यान जाओस त्याग गरेर देखाउन ऊ सदैव तत्पर रहन्छ।

कथित जनयुद्ध जबरजस्त छल गरेर ब्यारेक भित्र नआएको भए सेना-माओबादीको दोहोरो भिडन्त टर्ने थियो। अथवा, मिलनबिन्दु फेला पर्ने थियो। भाइ भाइबीचको त्यो भिडन्तलाई दूर्भाग्य मान्नुपर्दछ।

यसका २ वटा दृष्टान्त हेरौं। पहिलो, खाडी युद्धताका हामी लेबनानमा ग्यासमास्क लगाएर आधा स्वासप्रश्वासमा शान्तिको पहरा दिइरहेका थियौं। एउटा डफ्फा कुवेतमा आगो निभाउन र बमबारुद उठाउन तथा एकठाउमा संकलन गर्न जानुपर्‍यो। पाइला पाइला र सेकेण्ड सेकेण्डमा ज्यान जाने त्यो कालको भुँग्रोमा जोखिम क्यालकुलेसन गरेर सबै देशले हामी सक्दैनौं भनेर नजाने घोषणा गरे।

लेबनानमा तैनाथ हाम्रो डफ्फाले ‘जोखिम न सोखिम काल न साल’ भनेर मादल बजाउदै नाच्दै गाउदै कुवेत पुगेर आगो पनि निभाइदिए। बहादुरीका साथ यत्रतत्र छरपष्ट बम गृनेड रकेट संकलन गरेर सुन्दर भूमिलाई सफा सुघ्घर पवित्र बनाएर पुनःनाच्दै गाउदै लेबनानमा आइपुगे।

दोश्रो उदाहरण ताजा घटना हो। नेपाल आमा र आमाका सन्ततिलाई स्वस्थ सबल र शक्तिशाली राख्न महिला सैनिकहरुले स्वस्फूर्त निडरका साथ कोभिड महामारीमा कोभिडले मृत्यु भएकाहरुको शव ब्यबस्थापन गरे। ३ दिनसम्म लगातार शव ब्यबस्थापन गर्ने १ जोडी महिलाले मुखमा अन्न पानी हाल्न पाएका थिएनन्।

तर उनीहरुको हिम्मत र उर्जा कदरयोग्य थियो। पृतनापति स्वयं घाटे बाहुन भएर ४७०० शव ब्यबस्थापन गरेको देख्दा त्यो निस्वार्थ सेवाभाव त्याग र समर्पण कुन मूल्य र तक्मा विभुषणले किनेर पाउनु? महाभूकम्पको उद्धार र राहत उस्तै चुस्त दुरुस्त र प्रभावकारी थियो। प्रधानसेनापति स्वयं पालको रात् र दुना टपरीको भातको भरमा अहोरात्र खटिएका थिए।

गौरवयोग्य इतिहास

राज्यको स्थापनासँगै सैनिक दस्ता खडा गरिन्छ । पौराणिक कालमा जो जो राजा महाराजा भए परम्परागत सैनिक दस्ता खडा गरे र उत्तर दक्षिणको संभावित राज्य बिस्तारका अभियानबाट मातृभूमि नेपालको रक्षा संभव तुल्याए। सैनिक इतिहास सन् ३५० पछिको भेटिन्छ ता पनि अझ पुराना शिलालेखमा सेना स्थापना भएको कुरा उल्लेख छ।

मध्ययुगीन सैन्य दस्ता उस्तै मजबुत् र बहादुर थियो भनी इतिहासमा पढ्न पाइन्छ। १७ औं शताब्दीमा नेपालका भुरे टाकुरे राजा र राज्य बढारिने दूरसंभावना देखेर तत्कालीन राजा श्री ५ पृथ्वीनारायण शाहले महान् एकीकरण अभ्यास मार्फत आजको नेपाल यो पिंढीलाई उपहार दिए। एकीकरणमा सक्रिय लडाकू जनता नै सेना भए।

एकीकरणकै दौरान सेनाले आफ्नो रणकौशलता, पहलकदमी, सरप्राइज, इम्प्रोभाईजेसन र बहादुरी कला माझ्दै तिखार्दै लगे। आधुनिक सेना, गोर्खाली सेना, राष्ट्रिय सेनाको जग नै अनुशासित, बहादुर, स्वाभिमानी र विजयी थियो। खोजेर युद्ध नगर्ने, जाइ नलाग्ने तर आइलाग्नेलाई सोत्तर स्वाहा पारिदिने। खाली हातै किन नहोस्।

आवश्यक परे सारा जनता बनस्पति, बन्यजन्तु, चट्टान, जल, जंगल सेना भइदिने। लडाईमा स्वस्फुर्त सामेल हुने र सफलता तथा विजय अवस्यम्भावी गरेरै छाड्ने। त्यही हो हाम्रो नेपाली सेनाको पहिचान। अबिच्छिन्न स्वतन्त्रता रक्षाको गुदी कारण।

प्रथम बिश्व युद्ध होस वा दोश्रो। गोर्खाली सेनाले हातमा खुकुरी नचाउदै प्रर्दशन गरेको अदम्य साहस बिश्वका प्रख्यात नेताहरुले मुक्त कण्ठले प्रशंसा गर्दथे। भारत स्वतन्त्र बनाउन गोर्खाली सेनाले योगदान गरेको रगत र पसिना सुनौलो अक्षरले लेखिएकै छ। फलस्वरुप ब्रिटिश र भारतीय सेनालाई गोर्खाजले अब्बल साबित गरिदिएका छन्।

कथित् गृहयुद्धलाई बिना रक्तपात् शान्तिको मूलधारमा ल्याउन नेपाली सेनाले तत्कालीन राजा र श्री ५ को सरकारलाई दिएको ‘बिकास र सुरक्षा’ सुझाव ज्यादै मननयोग्य थियो। पहिला सुशासन, बिकास र समृद्धि’ भन्ने अवधारणा आज पर्यन्त सान्दर्भिक छँदैछ।

जुन अदूरदर्शीता, अपरिपक्कपन, बिदेश बिरोध र झुकाउको अतिशयोक्ति र राजनेतृत्वको खडेरीले मुलुकलाई अस्थिरतातर्फ धकेल्न उद्यत देखिन्छ। सेनालाई धर्मसंकट!

कथित जनयुद्ध जबरजस्त छल गरेर ब्यारेक भित्र नआएको भए सेना–माओबादीको दोहोरो भिडन्त टर्ने थियो। अथवा, मिलनबिन्दु फेला पर्ने थियो। भाइ भाइबीचको त्यो भिडन्तलाई दूर्भाग्य मान्नुपर्दछ।

करको सोझो नुनको सोझो गर्नुपर्दछ भन्ने मान्यता अङ्गीकार गरेको नेपाली सेनाले कहिले अल्छी आराम बिश्राम गरेन। राज्यले सुम्पिइएको सबै जिम्मेवारी सगर्व ग्रहण गर्दै गयो। जनहितका जनमुखी काम गरेर समृद्धिको फूल फुलाउन भरमग्दुर प्रयास गरिरहयो। प्रकृति संरक्षणको कठिन र जोखिमपूर्ण जिम्मेवारी होस् वा महत्वपूर्ण र संबेदनशील संरचनाको सुरक्षा। भीभीआईपीको सुरक्षा होस वा निर्वाचन सुरक्षा।

कर्णालीमा चामल ढुवानी होस वा हिमाली क्षेत्रमा बैंकको रकम ढुवानी। महाबिपद् होस् वा बिपदमा उद्धार राहत र पुनरनिर्माण। पूर्वाधार होस् वा बिकास निर्माण। शिक्षा स्वास्थ्य रोजगारको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदान।

राष्ट्रिय सेवा दलदेखि भु.पु.सैनिक संघको उत्थान, सबलीकरण र राष्ट्रिय बिकासको मूलधारमा समाहित गर्ने महान अभियान। बिश्व शान्ति स्थापनाको विशिष्ट योगदान यहाँ भन्नै परेन।  तसर्थ समग्रमा राष्ट्र राष्ट्रबासी र राष्ट्रियताको रक्षा कल्याण सम्मान गर्न नेपाली सेनाको गुन योगदान उल्लेखनीय रहेको मान्नुपर्दछ।

गर्बिलो वर्तमान

गौरवमय इतिहासको निरन्तरता नेपाली सेनाको गर्बिलो वर्तमान हो। प्रजातन्त्र होस् वा लोकतान्त्रिक गणतन्त्र, जनमतको कदर र लोकतन्त्र संस्थागत गर्न नेपाली सेनाले गरेको धैर्यधारण र इमान्दार पुकारलाई कसरी प्रशंसा नगर्नु।

राजनीतिक अस्थिरता, चरम भ्रष्टचार र बाह्य हस्तक्षेपबाट मुलुकको अस्तित्व रक्षा गर्न सैनिक शासन आह्वान गर्ने दल र दलको नेता हुन् वा बाह्य शक्तिको उक्साहट्, नेपाली सेनाले जनबिरोधी र प्रजातन्त्र बिरोधी महत्वकांक्षा कहिले पालेन। अप्रिय कदम चालेन। बरु शान्ति, सुशासन र समृद्धिको लागि प्रार्थना मात्र गरिरहयो।

बाहिरबाट प्रायोजित द्वन्द्वलाई बिराम लगाउन असमान शान्ति संझौतालाई स्वीकार ग¥यो। बढाइचढाइ संख्यालाई आँखा चिम्लेर समायोजन गर्न हार्दिकता देखायो। शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याउन, समायोजन सफल बनाउदै समायोजितलाई ब्यावसायिक राष्ट्रिय सेना बनाएर राष्ट्रिय अन्तर्राष्ट्रिय डिउटीमा स्वीकार्य बनाउन, प्रजातन्त्र र समावेशीकरणको नमूना देखाउन सेनाले गरेको त्याग बिश्वमै नमूनालायक र विशिष्ट प्रकृतिको छ।

राष्ट्रिय राजनीति र कुटनीति गोलखाडी गएको बेला सैनिक कुटनीतिले जनताको हातमुख जोडेको र राष्ट्रिय अस्मिता जोगाउन योगदान गरेको कुरा आम जनताले थाहा पाउनै पर्दछ। नाकाबन्दीमा नुन तेल बोकेर जिल्ला जिल्ला र गाउँ गाउँ पुर्‍याएको गुन होस् वा नाकाबन्दी अन्त्य गर्न गराउन खेलेको भूमिका होस् नितान्त जनपक्षीय योगदान हुन्।

हाल नेपाली सेनाले करिब ६० अरबको आफ्नै रगत पसिनाको कल्याणकारी कोष स्थापना गरेर राष्ट्रिय बिकासमा पु¥याइरहेको योगदान उल्लेखयोग्य छ। बार्षिक ५० करोड राजश्व योगदान छ। बिदेशी मुद्रा सञ्चतिमा मात्र १८ करोड युएस डलरको योगदान छ। २ हजार बढी गैर सैनिकहरुलाई रोजगारी उपलब्ध गराएको छ।

राज्यले हेर्नुपर्ने करिब १० लाख हिताधिकारीहरुको शिक्षा, स्वास्थ्य सेवा उसले खापिदिएको छ। नेपाली सेनाको स्वास्थ्य बिज्ञान कलेज चिकित्साशास्त्र अध्ययनको पहिलो रोजाइ भएको छ। ५ सय बढी डाक्टरको उत्पादन होस् वा ईन्जिनियर्स, पाईलट,प्राबिधिक जनशक्तिको उत्पादन त्यो राष्ट्र बिकासलाई ठूलो टेवा हो।

केन्द्र देखि हरेक क्षेत्र प्रदेशका सैनिक स्कुलहरु उत्कृष्ट मानिन्छन्। ब्रिटिश काउन्सिलको सर्भेमा रिपुमर्दिनी सैनिक स्कुल उत्कृष्ट ठहर भई सम्मानित भयो । यी गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध उत्कृष्ट स्कुलहरुमा ४० प्रतिशत गैर सैनिक बिद्यार्थीहरुलाई सुपथ शुल्कमा कोटा छुट्याइ एको छ। अझ २ नम्बर प्रदेशमा ५० प्रतिशत कोटा दिएर तराईबासीलाई सम्मान गरिएको छ।

नेपाली सेना कृषि बिज्ञान संस्थानमा बिएस्सी एग्रिकल्चर कार्यक्रम संचालन भइरहेको छ। कृषि अध्ययन अनुसन्धानमा जोड दिएर कृषि क्रान्ति गर्न बैदेशिक रोजगार घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न कृषि क्याम्पस असरदार हुने अपेक्षा गरिएको छ।

भु.पु.सैनिकहरुलाई कृषि ब्यावसायिक तालिम र सुलभ कृषि एवं आवास कर्जा उपलव्ध गराएर नेपाली सेनाले १० लाख हिताधिकारीहरुलाई ऐच्छिक ब्यवसाय गरेर आत्मनिर्भर हुन उत्प्रेरित गरेको छ।

सैनिक अस्पतालको आवश्यकता र उपदेयता महामारीको बखत थाहा भयो। केन्द्रिय अस्पताललाई अक्सिजन आत्मनिर्भर बनाउनेदेखि क्षेत्रीय र प्रदेश अस्पतालाको क्षमता बिस्तार गर्ने दूरदर्शी सैनिक योजनाले राष्ट्रिय स्वास्थ्य सेवामा ठूलो टेवा पुर्‍याउने छन्।

तराईमा सर्पदंश केन्द्रहरु खोलेर नेपाली सेनाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा सबैलाई जगजाहेर नै छ। मुलुकका उत्कृष्ट सिभिल अस्पताल र स्कुल कलेजसँग सैनिक अस्पताल र स्कुल कलेजलाई ईनप्यानल गरेर साझेदारी सेबाको थालनीलाई सकरात्मक कदम मान्नु पर्दछ।

हिमाल सफाइदेखि नदी ताल तलैया सरसफाईमा योगदान गर्दै आएको नेपाली सेना वातावरण सुरक्षाका सवालमा सचेत र सक्रिय देखिन्छ।
राष्ट्रिय गौरबको आयोजनाहरुले जग हसाइरहेको सन्दर्भमा काठमाण्डौ–निजगढ द्रुत मार्ग निर्माणको आयोजना सरकार र राजनीति दलहरुले हलो नअड्काइदिएको खण्डमा निर्धारित समयमा पूरा गर्न नेपाली सेना दृढ संकल्पकासाथ लागिरहेको छ।

राष्ट्रिय खेलकुदमा नेपाली सेनाको योगदान ७० प्रतिशतभन्दा धेरै रहेको छ। इतिहास लडाई केन्द्रित, स्वतन्त्रता रक्षा केन्द्रित थियो भने वर्तमान शान्ति समृद्धि र बिकास केन्द्रित छ।

अब के गर्ने सेनाले ?

सुशासनको माहोल नेपाली सेनाले बनाइदिएको हो। अब राजनीतिक स्थिरता सहितको सुशासन नेपाली सेनाको माग र शर्त हुनुप¥यो। त्यसबाट दिगो शान्ति र समृद्धिको सुनिश्चतता हुनुपर्‍यो। त्यही हो आम जनताको अपेक्षा र चाहना।

त्यसरी मात्र जनताको मन मस्तिष्क जित्न सकिन्छ। कुशासनसँग लतारिएर जागिर खाने सेनाको महिमा घट्ने छ। जनता टाढिने छन्। अन्तराष्ट्रिय समुदाय उसै टाढिसकेको छ।

नेपाली सेनाको अपेक्षा राजनेताको उदय, त्याग, तपस्या, डेलिभरी र परिणाम हो। नेता जनताले दुबैसँग जोडदार अपेक्षा राखेको तर बोल्न नसकेको मनोबिज्ञान हो। राजनीतिक शुद्धिकरण र सुशासनको सशक्तिकरण उसको अन्तरनीहित पुकार हो।

कुशासनसँग लतारिएर जागिर खाने सेनाको महिमा घट्ने छ। जनता टाढिने छन्। अन्तराष्ट्रिय समुदाय उसै टाढिसकेको छ।

नेपाली सेना छुट्टै ग्रहका मानिसहरुको झुण्ड होइन। यही समाजको उत्पादन र उपहार हो। जति बिषम र जोखिमपूर्ण, जति धेरै जिम्मेवारी उति धेरै कमिकमजोरी हुन्छन् नै। आरोप, प्रत्यारोप, दोषारोपण, बदनाम, पूर्वाग्रह र प्रतिशोधबाट समस्या समाधान हुन्न, बरु झन् बल्झिन्छ।

अन्त्यमा, बिश्वमा चर्चित र लोकप्रिय सेना घरेलु परिदृश्यमा नराम्रो हुनै सक्दैन। जुनसुकै दल, गुट उपगुट् समूह नेतृत्व अथवा ब्यक्ति किन नहोस् नेपाली सेनाको बिरोध नगरौं। बरु माया गरौं, सम्मान गरौं र हौसला बढाउने प्रेरणा भर्ने रचनात्मक सुझाव दिऊँ।

सेना-नागरिक सम्बन्ध अमर रहोस्। नेपाली सेना र बिश्व सेनाको द्विपक्षीय सम्बन्ध, समन्वय, सैनिक सहयोग, संयुक्त तालिम र सहकार्य फलोस् फुलोस्। राष्ट्रिय सेनालाई सँधै सफलता र बिजय प्राप्त भइरहोस् । आजको दिनमा नेपाली सेनालाई त्यही छ शुभकामना।

(लेखक सुरक्षाविद् हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *