पोखराको शिवरात्रि मेलामा झगडा : एक जनाको हत्या, तीन पक्राउ

डिसी नेपाल
२० फागुन २०७८ ९:३३

पोखरा। महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए। उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको हो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ।

हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ। पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं। अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ। बाँकी अनुसन्धानपछि खुल्छ।’

गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ। ‘चोकबहादुर घटनामा थिएनन्। अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने।

चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए। तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ। चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन्। घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *