लमजुङमा एक लाख ५२ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

डिसी नेपाल
२४ फागुन २०७८ १८:५८

लमजुङ । लमजुङमा यहि फागुन २८ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । लमजुङमा यसपटक १ लाख ५२ हजार बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ । यो अभियान सफल पार्न स्वास्थ्य कार्यालयले हरेक नागरिकलाई आह्वान समेत गरेको छ । औषधि निःशुल्क दिँदा पनि नखाने प्रवृत्तिले नै रोग निवारणमा चुनौति देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम वरालले वताए ।

लगातार ६ पटक औषधि खाएपछि किटाणु निष्क्रिय हुन्छ भने नखाएको मानिसमा सक्रिय रहन्छ । उनीहरूबाटै अन्यमा सर्ने क्रम चलिरहने भएकाले सबैले औषधि खानुपर्ने बरालको भनाइ छ । औषधि सेवनबाट कोही नछुटुन भन्ने उद्देश्यले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै छ । हात्तीपाइले रोग निवारणका लागि जिल्लामा १२ पटकसम्म हात्तीपाइलेको औषधि खुवाउने अभियान सञ्चालन गरेपनि रोग निवारण नभएपछि अहिले १३ औं पटक औषधि खुवाउन लागिएको हो ।

लमजुङमा अझै पनि हात्तीपाईले रोगको उच्च जोखिम रहेकोले अभियानलाई निरन्तरता दिनुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार लगातार ६ वर्षसम्म औषधि सेवन गरेमा हात्तीपाइले रोग निवारण हुन्छ । तर लमजुङमा भने १२ पटक सम्म औषधि खुवाउने अभियान सञ्चालन गर्दा पनि हात्तीपाइलेका रोगी भेटिएपछि १३ औं पटक औषधि खुवाउनु परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । जिल्लामा सर्वेक्षणको क्रममा हात्तिपाईले रोगको प्रकोप दर औषतमा चार प्रतिशत रहेको छ ।

जिल्लाको राईनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाईले रोगको उच्च जोखिम क्षेत्रको रुपमा लिइएको छ । यद्यपि अन्य भागमा पनि हाइड्रोसिलका समस्या भएका विरामी देखापरेकाले दुईवर्ष भन्दा कम उमेरका बालबालिका, सिकिस्त विरामी र गर्भवती महिला बाहेक जिल्लाका सवै नागरिकलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दवाडीले वताए । नेपालमा हात्तीपाइले रोग निवारणका लागि सन् २०१६ सम्म रोगको प्रिभालेन्स १ प्रतिशतभन्दा कममा ल्याउने र २०३० सम्म रोग उल्मुलन गर्ने निति लिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *