क्रान्तिले जन्माएकी एउटी वेश्याको कथा

डिसी नेपाल
३० फागुन २०७८ ७:५३

तीन दिनदेखि लगातार झरी परिरहेको छ। एक त दशैको बेला त्यसमाथिको झरीले काठमाडौ बैराग लाग्दो गरी शून्य भएको छ। घरी घरी हुँइकिने एकाध ट्याक्सी र मोटरसाइकलले लामो सुन्यतामाथि बेला बेला झिनो धावा बोलेको सिरक भित्रैबाट सुनिन्छ।

निन्द्राले छोडेको धेरै नै बेर भए पनि आलस्यताले नछोडेकाले सिरक छोड्न सकेको छुइन। अब सिरक ओड्नै अल्छी लागेपछि भने उठेर पर्दा उठाएर बाहिर हेरें, झरी उसरी नै एकनासले परिरहेको रहेछ। पारिपट्टिको बसपार्कमा कार्तिके झरीले बिथोल्न नसकेको एउटै दैनिकी भनेको कुकुरहरूको मधुमासमात्रै रहेछ।

एउटी साझा बेहुली लिएर झण्डै आधा दर्जन कुकुरहरू खाली भएको बसपार्कमा अल्छी लाग्दो गरी भित्र र बाहिर दुबैतिरको प्राकृतिक बहावबीच समन्वय खोजिरहेका झै देखिन्छन्। सायद तिनीहरु भित्रको उर्जा र उष्णता बाहिरको झरीले रोक्न सकेको त छैन तर “डिस्टर्ब“ चाहिँ पक्कै भएको हुनुपर्छ।

तीन दिन नै भयो उसलाई खोज्न छोडेको पनि। हप्तौंसम्म शहरभरि डुलेर खोज्दा पनि उसलाई भेटाउन सकिनँ। त्यसपछि अचानकसँग झरी सुरु भयो। झरीमा सिंगो शहर त आफ्ना आफ्ना कोठामा कैद छ उसलाई कहाँ खोज्नु! हुन त उसलाई खोज्नु पर्ने चित्तबुझ्दो कारण मैले आफैलाई पनि दिन सकेको छैन। शहरमा थुप्रै छ्न एउटा रात बेच्नेहरु!

सायद ऊ भन्दा धेरै सुन्दर र धेरै जवान! तर एउटा रात मात्रै हैन रहेछ उसलाई मैले खोजिरहेको कारण। के हो भन्ने आफ्नै प्रश्नमा चाहिँ म आफै बारम्बार अनुत्तरित हुन्छु।
केही हप्ता अगाडि उसले बिक्रीमा राखेको एउटा रात मैले किनेको थिएँ। तर त्यो रात सोचे जसरी आएन।

बिहान त झन अवाक र निराश बनाउने भएर आयो। मैले कबुल गरेर उसलाई तिरेको त्यो एकरातको मूल्य अरु कुनै दिन चुक्ता गर्ने बाचासहितको सानो चिट्ठी सिरानीमुनि छोडेर ऊ अचानक लजको कोठाबाट बेपत्ता भएकी थिई। त्यसयता उसलाई भेट्छु कि भनेर खोज्नु नै मेरो दैनिकी भएको छ। उसलाई खोज्न हतारिएको म यो बादल हटेर झरी थामिने आशामा घरी घरी पर्दा खोलेर आकाश चिहाइरहन्छु।

नभन्दै एक हप्ता परेर झरी थामियो। आकाश खुलेर चहकिला घाम लागे। दशै सकेर फर्केका र झरी थामिएर निस्केकाहरुले काठमाडौ फेरि आफ्नो जीबन्त स्वरुपमा फर्कियो। सडकहरू सलल्ल बग्न थाले। फुटपाथका पानीपुरी र गल्लीका मःमः पसलहरु उस्तै भिडभाडमय देखिन थाले।

रत्नपार्क र खुल्लमञ्च तिरको मौनता भंग भयो र आफूमाथिको आकाशलाई नै झर्को लाग्नेगरी त्यहाँको चर्को कोकोहोलो ब्युँझियो। यस्तो लाग्थ्यो धेरै लामो विश्राम पछि सृष्टिको चक्र एकपटक पुनः सुरु भएको छ। तर पनि यी सबै माझ उसको उपस्थिति कहिँ कतै छैन।

धेरै दिनदेखि रत्नपार्कमा गाडी चड्न र ओर्लिन आईजाई गरिरहँदा टाढैबाट एकहुल सेतो सारी लगाएका नारीहरु रातो ब्यानरमुन्तिर कहिले मौन त कहिले चर्कोसँग नाराबाजी गरेको देख्दै आइरहेको थिएँ।

काठमाडौमा जिउन, संघर्ष गर्न र उसलाई खोज्न अरु केही विकल्प नरहेपछि आफैंलाई बेच्दै पनि उ र उ जस्ता अरु हजारौंलाई खोज्ने अभियान आजसम्म जारी नै छ। मेरो जीवन कथा, मेरा भोगाई र बाध्यता, मेरो संघर्ष र लडाई जे जे भनेपनि यही हो। म यो भन्दा बाहिर छैन। चाहे ग्राहकहरुसँग लजका कोठाहरुमा होस, चाहे राज्य र पुलिससँग रत्नपार्कमा होस्, अथवा समाज, आफन्त, संस्कार, परम्परा र धर्मसँग जताततै होस म उ हराए यता निरन्तर संघर्षमा छु।

सिंगो काठमाडौं दशैमा ओरालो लाग्यो तर पनि सेतो सारीको त्यो समूह त्यहीँ थियो। हप्ता दिनको झरीमा त्यहीँ थियो कि थिएन भन्न सक्दिन तर म झरीबाट जोगिन हतार हतार ट्याम्पु चढिरहदा तिनीहरु चुपचापसँग त्यहीं नै बसिरहेका थिए। झरी थामिए लगत्तै म फर्किदा पनि त्यहीँ थिए। हजारौंले हजार थोक मागिरहने खुल्लामञ्च र रत्नपार्क वरपर नारा, अनसन, आन्दोलन, चक्काजाम आदिका निम्ति नौलो होइन।

बारमासै अनशन र आन्दोलनरत त्यो क्षेत्रमा आइपुग्न साथ म सास दबाएर भाग्थें। तर आज घेरा हालेर प्रहरीले हस्तक्षेप गरेको रहेछ म भाग्न नपाउदै घेराभित्र परेँ। रक्ताम्य टाउको लिएर सेता सारीहरु अलिकति पनि बिचलित नभई आफ्नो ठाउँ छोड्न मानिरहेका थिएनन्।

प्रहरीहरु जथाभावी लाठीचार्ज गरेर उनीहरुलाई भ्यानमा कोच्न खोज्दै थिए। यी सबै दृश्यहरुबीच फुटेको टाउकोले रक्ताम्य भएको अनुहार लिएर प्रहरीसँग भिडिरहेकी ऊ एकाएक मेरो आँखाको पर्दामा सिनेमाको कुनै दृश्य झै नाच्न थाली।

त्यसको अनुहार रक्ताम्य भए पनि त्यसका एकजोडा असन्तुष्ट बिद्रोही आँखालाई मैले प्रष्ट चिनें। अनि उसले पनि मलाई चिनी। तर केही बोल्न र भन्न नपाउँदै प्रहरीले उसलाई भ्यानमा कोचेर कुदायो। रण मैदानजस्तो भएको त्यो ठाँउमा छरपस्ट भएका केही थान चप्पल र रगताम्मे ब्यानरहरु मात्रै बाँकी रहे।

ब्यानर पल्टाएर हेर्न खोजे बेपत्ता परीवार सघर्ष समिति भनेर लेखेको रहेछ। धेरैबेर सम्म कुनै वियोगान्तक सिनेमाको नायक क्लाईमेक्स हारेर उभिए जसरी उभिई रहेपछि मनभित्र अनुत्तरित प्रश्नहरुको ठुलो बोझ लिएर साँझ उहीँ पुरानो लज आइपुगे।

तपाईं को उहाँको ?

त्यो बिहान भरी काठमाडौका आधी दर्जन पुलिस चौकी चाहारे पछी उसलाई हनुमान ढोकामा राखेको पत्तो पाए। हनुमान ढोकाका डिएसपीले खस्रो स्वरमा उसको र मेरो नाता सोधपुछ गरेका थिए। यो दोश्रोपटक थियो मैले उसको र मेरो नाता प्रमाणित गर्नु परेको। पहिलोपटक लजमा श्रीमती भनेर ढाटेको थिए दोस्रोपल्ट डिएसपीका अगाडि त्यसैलाई मुर्खतापूर्ण तरिकाले दोहोर्‍याए।

“लोग्ने बेपत्ता भएर अनशन बसेकी आईमाईको श्रीमान हुँ भन्न लाज लाग्दैन?“

डिएसपी कड्किए। मसँग रातो मुख पारेर लज्जित नहुनुको विकल्प थिएन। केही छिनपछि लाज पचाएर भुल सुधारको प्रयासमा लागे।

“ सरी सर! चिनजानकि बैनी हुन।“

“चिनजानका सबैलाई स्वास्नी भन्नुहुन्छ तपाईं?“

एकपटकलाई माफ पाँउ सर! निकाल्न सजिलो होला भनेर झुट बोलेको हुँ।“

“इडियट“

दुईपटक माफी मागेपछि र एकपटक अग्रेजीमा मुर्खको उपाधि चुपचाप स्वीकार गरेपछि डिएसपी अलि मथ्थर भए।

“ए! त्यो टाउको फुटेकी केटी लेञरा त।“

उ आई। उसको फुटेको टाउकोमा पट्टी बाधिएको भएपनी आँखाको बिद्रोह अलिकति पनि ओझाएको थिएन। उसलाई पहिलोपटक भेट्दा ती जति असन्तुष्ट देखिन्थे, अहिलेसम्म पनि उस्तै नै थिए।

चिन्छौ उहाँलाई?

डिएसपीले उसलाई सोधपुछ गरे।

चिन्छु।

को हो ?

कस्टमर हो

म स्तब्ध भए। यस्तो लाग्यो मानौं संसार एकछिनलाई घुम्न छोडेर अडिएको छ र बद्लामा मेरो टाउको घुम्न सुरु गरेको छ। उ असाधारण र बिद्रोही होला भनेर त मैले अनुमान लगाएकै थिए तर यो स्तरको बिद्रोहमा ओर्लिएली भनेर सोचेको पनि थिइन्।

डिएसपीको प्रतिक्रिया उस्तै आश्चर्यजनक लाग्ने थियो मेरालागि। यी दुईको संवाद हेर्दा यस्तो लाग्थ्यो मानौं सघर्षको मैदान र लजका कोठाहरुबाट छापा मारिएर बारम्बार उ यहाँ ल्याईन्छे र बारम्बार छोडिन्छे। यस्तो लाग्छ यी दुई आपसमा एकदमै परिचित र घनिष्ठ छ्न। दुबैले एक अर्काको बाध्यता बुझेका र स्वीकार गरेका छ्न्।

औपचारिकताका हस्ताक्षर र ल्याप्चे लगाएर हनुमानढोबाट बाहिरीए पछि बाकी रहेको दिन हामीले सँग सँगै घुमेर बितायौं। ढिलो गरि एउटा रेस्टुरेन्टमा पसेर लन्च लियौं। दिनभरी जसो नै मेरा आँखामा हजारौं प्रश्नहरु तैरि नै रहे। उसले ती प्रश्नहरु पढेता पनि मौनता साधिरही।

सायद उ सिंगै आफैमा मेरा प्रश्नहरुको जवाफ हो। न शब्द भएर मेरा जिज्ञासा व्यक्त हुनसके न शब्द भएर उ प्रकट भई। शब्द र बिषयको अभाबमा दिनभरी मौनतापुर्बक हामीले एक-अर्कालाई साथ दिई रहयै।
“हाम्रो प्रेम बिबाह थियो।“

त्यो साँझ लज फर्किएपछि काठमाडौको छिप्पिँदै गएको चिसोलाई छल्न एउटै सिरक भित्र पसेपछि उसले आफ्नो कथा आफै सुनाउन सुरु गरी।

“प्रेम र परम्परागत दुबै भने पनि हुन्छ। पारिवारिक सहमतिमा हाम्रो विवाह भएको थियो। नयाँ दुलही भएर उसको घरमा भित्रीएको मलाई हिजो जस्तै लाग्छ। त्यसको तीन महिनापछि उ बेपत्ता भयो। उ बेपत्ता भएको साँझ उ घर फर्केर आउला र उसलाई बाउ भएको समाचार सुनाउला भनेर म अधर्य भएर प्रतीक्षा गरिरहेकी थिए। तर आज छोरी १५ बर्षकि भैइ उ अझैसम्म आएको छैन।”

“किन अपहरण पर्‍याे र किन बेपत्ता बनाईयो त्यसको कारण र जवाफ नसुनी बियोगमै उसका बाउआमा बितेर गए। जम्मा थाहा भएको कुरो अघिल्लो साँझ सेनाले केही बुझ्नु छ भनेर बोलाएर गए भन्दै साँझ मलिन अनुहार लिएर आएका थिए। भोलिपल्टै उज्यालो नहुदै उ सुराकीको आरोपमा अपहरणमा परे। राजनीति उसको पेसा र शोख दुबै थिएन। उ पेसाले गाउँकै प्राथमिक स्कुलको शिक्षक थियो शोखले गित गाउथ्यो। नारायणगोपालका सबै गीत कण्ठस्त थियो उसलाई। उसले साँझ घर आएर नारायणगोपालाका गितहरु गुनगुनाएको अझैसम्म मेरो मस्तिष्कमा प्रतिध्वनित भई रहेको छ।”

अनि ?

“ त्यो त्रासद समय थियो। एउटा उन्मादमय तिलस्मी बायुको प्रभावले अचानकसंग मानिसहरू दानव भएको एकादेशको कथा जस्तो समय! उन्मादको प्रभावमा जस्ले जति धेरै मार्न सक्छ उ त्यतिकै महान । लासका बिस्कुनहरु समाचारका बिषय हुन्थे । बाँदरमुडे र दोरम्बामा मानबताको सदगती भई सकेको थियो। द्वन्दको भयावह चित्कारका अगाडि एउटा मानिस बेपत्ता हुनु सामान्य घटना थियो । त्यसैले त्यो बेला चुपचाप नियतिको प्रहार सम्झेर कुनैदिन यो उन्मादी बायुको प्रभाव कम होला र उसको पुनः खोजी गरौंला भनेर बस्दा बस्दै उसका बुवा आमा बितेर जानुभयो।”“

त्यसपछि?

“उन्मादी बायुको प्रभावले हद नाघेपछि मानिसहरू सडकमा निस्किए। त्यो त तपाईंलाई पनि थाहा छ। ०६२/०६३ को जन आन्दोलनको कुरा गर्दैछु म। म आफै पनि त्यो उन्माद विरुद्ध १९ दिन सडकमा लडे। जनताले नै हस्तक्षेप गरेपछि उन्मादी बायुको प्रभावले पागलपनको सिकार भएकाहरूले अन्ततः हारे। उन्माद र अंहकारको हार भयो। जनजीवन केही हल्का र सामन्य भयो। शोकाकुलहरु रुन सक्ने भए। हराएकाहरुको खोजी सुरु भयो। उसलाई खोज्दै जाँदा उ जस्तै बेपत्ता भएर हराएका अरु हजारौंका आफन्तसँग भेट भयो। संगठित भइयो। काठमाडौमा जिउन, संघर्ष गर्न र उसलाई खोज्न अरु केही विकल्प नरहेपछि आफैंलाई बेच्दै पनि उ र उ जस्ता अरु हजारौंलाई खोज्ने अभियान आजसम्म जारी नै छ। मेरो जीवन कथा, मेरा भोगाई र बाध्यता, मेरो संघर्ष र लडाई जे जे भनेपनि यही हो। म यो भन्दा बाहिर छैन। चाहे ग्राहकहरुसँग लजका कोठाहरुमा होस, चाहे राज्य र पुलिससँग रत्नपार्कमा होस्, अथवा समाज, आफन्त, संस्कार, परम्परा र धर्मसँग जताततै होस म उ हराए यता निरन्तर संघर्षमा छु।”

उसका कुराले अनायास नै ठूलो निस्वास छोड्न पुगे म। सायद मन भित्रका बोझहरुको स्खलन थियो त्यो निस्वास। हुनत मेरा सबै जिज्ञासाहरु सान्त भए तर पनि मन भने सान्त हुन सकेन। के भनेर सम्झाउने, के प्रतिक्रिया दिनेइ शब्दहरूको भयानक खडेरी पर्‍याे। सायद म मौन बसे भने नै उसको पीडालाई महसुस गर्न सक्छु होला। अर्को एउटा मध्यम निस्वास छोडेर शब्द र प्रतिक्रिया बिहिन भएको म चुपचाप यसै बसिरहे।

“त्यो दिन म अचानक जानुपर्‍याे। तपाईं सुतिरहनु भएको थियो डिस्टर्ब गर्न चाहिन। त्यसको बद्लामा तपाईको उधारो चुक्ता गर्न आजको सिंगो रात तपाईंको भयो।“
म लज्जित भए। मैले उसलाई आफुले तिरेको मुल्य असुलउपर गर्न खोजेको थिइन। एक अनौठो आकर्षण र त्यसका असन्तुष्ट आँखाको रहस्यले उसलाई खोजिरहेको थिए कि! कि सायद आफ्नै एक्लोपनबाट झेल्न नसकेर उसको साथ खोजिरहेको थिए। यो घडीसम्म पनि उसलाई खोज्नुको इमानदार भएर मैले आफैलाई जवाफ फर्काउन सकेको छैन।

“हैन मैले त्यसको लागि खोजेको हैन तिमीलाई। “

“फेरि किन खोजेको त ? “
खै………

मेरो जवाफ पूरा नहुँदै उसको फोनको घण्टी बज्यो। उताको अवाज त सुनिएन तर बोल्दा बोल्दै उसका ओठहरु थर थर काप्न थाले। आँखा रसिला भए तर चुहिन भने सकेनन्। उसले हुन्छ म आउँछु भनेर फोन राखिदिई।

“कस्को फोन ? के भयो? “

“ भोलि म लिवाङ जानुपर्ने भयो। केही समय अगाडि त्यहाँ एउटा सामुहिक चिहान फेला परेको थियो। त्यसमा भएका नरकंकाल मध्य एउटा उसको हुनसक्ने अनुमान थियो। डिएनए टेस्टका लागि उसले लगाएला लुगाहरु दिएकी थिए । परिक्षण पछि उसैको भएको पत्ता लागेको छ। अब चिहान उत्खनन गरेर मैले नरकंकाल बुझ्नु पर्ने भयो। त्यसैले म भोलि लिवाङ जानुपर्ने भयो।”

हे ईश्वर! म स्तब्ध भए। समाचारमा पढेका र देखेका गृहयुद्ध र युद्धपछि उत्खनन भएका सामुहिक चिहान र नरकंकालहरुका दृश्य झल्झती आँखाहरुमा नाच्न थाले। त्यसैको पुनाराबृती मेरै देशमा भइरहेको तथ्य मलाई बिक्कुलै बिश्वास लागिरहेको छैन। तर यो मेरो बिस्वास अबिस्वासको बिषय थिएन । कसैले कल्पना सम्म गर्न नसकेको उन्मादको सिकार त देश भई नै सकेको थियो।

भोलिपल्ट हामी रोल्पाको लिवाङ गयौं। न उत्खनन भयो। नरकंकाल भइसकेका एक दर्जन लासहरु मध्य एउटा लास हामीले उसको श्रीमान भएको भनेर बुझ्यौं। नजिकैको खोलामा चिता बनाएर पतिको रुपमा उसले नरकंकाल जलाईरहदा उ पटक्कै रोएकी थिइन्।

आधा नरकंकाल धुँवा बनेर बायुमण्डलमा बिलिन भइरहँदा त्यसको अर्को अंश खरानी र कोइलाहरु भएर पानीमा बग्न लागे। तीन अँजुली पानी तर्पण गरेर उसले आफ्नो प्रेमी र पतीलाई अन्तिम बिदाई गरी। त्यो पल मैले उसका आँखामा चिहाउने हिम्मत गरेको थिए। ती अझैसम्म उस्तै असन्तुष्ट र बिद्रोही झै देखिन्थे। संभतः अब तिनले न्यायको ठूलो लडाई र लामो यात्राको संकल्प गर्दै थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *