प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
बाँके । बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ ।
प्रदेशसभा सदस्य आरती पौडेलको नेतृत्वमा मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाउन बाँकेबाट बुटवल गएको टोलीले उनलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका विज्ञ कवीन्द्र भट्टराई, लेख प्याकुरेलसहितको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश योजना आयोग र मुख्यमन्त्रीको कार्यालयले विश्वविद्यालय दाङ र कपिलवस्तुमा सार्ने गरी जग्गा खोज्न थालेपछि विश्वविद्यालयको विषयमा विवाद भएको हो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले अघिल्लो साता पत्रकार सम्मेलन गरेर प्रदेश विश्वविश्वविद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको बङ्गलाचुली वा संस्कृत विश्वविद्यालयको जग्गा र कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको बताएका थिए । विश्वविद्यालयका लागि १०० बिघा जग्गा सिफारिससहित जग्गा छुट्याउने कामसमेत सम्पन्न गरेको खजुरा गाउँपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजान नहुनेमा जोड दिए । लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आव २०७६÷७७ मा रु तीन करोड, आव २०७७÷७८ मा रु सात करोड र चालु आर्थिक वर्षमा रु १० करोड विनियोजन गरेको छ । विश्वविद्यालय ऐन नबनेकाले पहिलो र दोस्रो बजेट खर्च हुनसकेको थिएन । यो योजनाका लागि बाँके जिससले पनि रु दुई करोड बजेट विनियोजन गरेको समन्वय समिति प्रमुख श्रीवास्तवले बताए।
Facebook Comment