कम्युनिष्टसंगको सहकार्यले कांग्रेसलाई कहिले पनि फाईदा भएको छैनः पूर्वमन्त्री भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले कम्युनिष्टसंगको सहकार्यले कांग्रेसलाई कहिले पनि फाईदा नभएको र भविष्यमा पनि नहुने बताएका छन्।शनिबार डिसी नेपालको ‘द ब्रिज टक’कार्यक्रममा बोल्दै भण्डारीले चुनावी गठबन्धनको विषयमा नेताले भन्दैमा अहिलेका कार्यकर्ताले मानिहाल्ने अवस्था नरहेको बताएका छन्।
‘एउटा दुईवटा निर्वाचनको कुरा मात्र हैन,समग्रमा विशेष गरि १२ बुँदे दिल्ली सम्झौता देखि कांग्रेसले जसरी कम्युनिष्टसंग सहकार्य गर्दै आयो।त्यहीँबाट गल्ती भएको छ।’ भण्डारीले भने ‘कुनै पनि अवस्थामा कहिले पनि कम्युनिष्टसंगको सहकार्य कांग्रेसको हितमा हुँदैन। यो कुरा पहिले नै वीपीले पनि परिभाषीत गरिसक्नु भएको थियो।
उहाँले भन्नुभएको थियो कांग्रेसको सहकार्यले कम्युनिष्ट बलिया हुँदै गएको र कम्युनिष्टसंगै सहकार्य गरेको कारण कांग्रेस कमजोर हुँदै गरेको वर्तमान अवस्था हो। त्यसकारण हाम्रो प्रतिस्पर्धा नै कम्युनिष्टसंग हो। जस्लाई पराजित गरेर चुनाव हामी जित्ने हो,उसैसंग मिलेर जानु भनेको अब्यवहारिक र अराजनीतिक विषय हो। यस्लो हामीलाई क्षती गरिराखेको छ।’
तीस वर्ष पञ्चायतसंग लड्दा धेरै नेताहरु जेल बसेर विभिन्न प्रकारका यातना भोगेर,आफ्नै बिचारले,आफ्नै सिद्धान्तले,आफ्नै नीतिले र आफ्नै कार्यक्रमले २०४६ सालको परिवर्तन गर्ने नेतृत्व कांग्रेसले गरेका कारण अब पनि कांग्रेस आफ्नै क्षमता र सिद्धान्तको आधारमा निर्वाचनमा जानुपर्ने भण्डारीको तर्क छ ।
उनले अगाडि भनेका छन् ‘ गठबन्धनले क्षणिक रुपमा तत्कालिन रुपमा एकछिन राम्रो हुन्छ। तर पछि त्यही कुराले असर गर्दछ।त्यसकारण भोलीको दिनमा कांग्रेस आफ्नै बिचारले,आफ्नै नीतिले,आफ्नै सिद्धान्तले र आफ्नै संगठनले जनताको विश्वास जितेर विगतमा भएका कमिकमजोरीलाई सुधार्दै देश निर्माण गर्नुपर्छ।
अहिले हामीले सरकारको नेतृत्व गरेका छौँ ।तर हामीले चाहेर बनाएको हैन कम्युनिष्टहरुले सरकारलाई धोका दिएको कारण कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको हो।त्यसकारण कांग्रेस र कम्युनिष्टमा के फरक छ ? भन्ने कुरा आम जनताले बुझ्न पनि पाउनु पर्छ। त्यसकारण कांग्रेस छुट्टै ढंगबाट अगाढि बढ्नुपर्छ भन्ने आम नेता र कार्यकर्ताको भनाई छ।’
उनले विगतको २०७४ सालको निर्वाचनको गठबन्धनले पनि पाठ सिकाएको बताएका छन्। ‘विगतमा हामीले केही स्थानीय तह र केही संघीय निर्वाचनमा गठबन्धन गर्यौँ। तर पछि त्यो सबै गलत भएको छ। चाहे चितवनको मेयरको कुरा होस्,चाए डा.बाबुराम भट्टराईलाई जिताएको कुरा होस्।
यो कुरालाई अत्यन्तै गहिरो र गम्भिर रुपमा देश भरिका साथीहरुले लिनुभएको छ। त्यसकारण नेताले भन्दैमा तल्लो तहका कार्यकर्ताले मानिहाल्छ भन्ने अवस्था छैन। भोलि धोकाबाजीको,बैमानीको कुरा आउला त्यो कुराबाट समयमै सचेत भएर एक्लै चुनाव जित्ने अभियानमा लाग्नुपर्छ।’भण्डारीले भने।
भिडियो
Facebook Comment