र्सिङ पेसा खर्च धेरै रोजगारी कम
![र्सिङ पेसा खर्च धेरै रोजगारी कम](https://www.dcnepal.com/wp-content/uploads/2021/11/nurse_ykOrTwf4eQ.jpg)
काठमाडौँ। काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाइनन्। भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो। उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो। पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो। लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन।
तुलसा एक वर्षको तयारीपछि बेलायत जाइन्। त्यहाँको कमाइले उनी अहिले सन्तुष्ट छिन्। उनले भनिन्, “नेपालमै राम्रो जागिर भएको भए विदेश आउनुपर्ने थिएन।” उनीमात्र होइन, सुविना कालाखेतीले नर्सिङ पेसा धेरै राम्रो भन्ने सोचेर पढ्न थालिन्। खर्च कति लाग्ने थाहै नभई अध्ययन गर्नुभएकी सुविनालाई नाम निकालेपछि मात्र कलेजलाई शुल्कमात्र छ/सात लाख रुपियाँ बुझाउनुपर्ने थाहा भयो। सुविनाले भनिन्, “यति महँगो पढाइ हुन्छ भन्ने थाहा पाएको भए पढ्दिनथेँ।”
जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन्। जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन्। सुविनाले भनिन्, “सुरुमा धेरै गाह्रो छ। पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु।” आठ वर्षअघि आर्मी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ पास गरेकी गोङ्गबुकी रेश्मा लोहनीले आफन्तको चिनजानका आधारमा तीनकुनेका एक अस्पतालमा काम गर्न थालिन तर सुरुमा बेतलबी काम गरेको केही समयपछि मात्र मासिक आठ हजार बनाइदिएको थियो। चित्त नबुझेर लोहनी अस्ट्रेलिया गइन्।
उनले काम गर्दै नर्सिङमा स्नातकोत्तर सकिन्। अस्ट्रेलियाको पीआर लिइसकेकी लोहनी नेपाल आउने सोचमा छैनन्। उनले भनिन्, “मेरो नेपाल आउने सोच छैन। किनभने नेपालमा नर्सलाई रोजगारी पाउनै मुस्किल पर्छ।”
तुलसा, सुविना र रेश्मा त प्रतिनिधि हुन्। नेपालमा लाखौँ खर्च गरेर नर्सिङ शिक्षा अध्ययन गरे पनि रोजगारी नपाउने नर्स धेरै छन्। ती सबै नर्स विदेश पलायन भइरहेका वा हुनेक्रममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख गोमादेवी निरौलाले नेपालमा नर्सलाई रोजगारीको अवसर नभएकै कारण हजारौँ नर्स बिदेसिन बाध्य भएको बताइन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बिरामी र नर्सको अनुपात मिल्न सकेको छैन। जनरल वार्डमा नेपालमा नर्स र बिरामीको अनुपात एक नर्सबराबर छ जना बिरामी हुनुपर्ने हो। तर, नेपालमा एकजना बिरामीले ३० देखि ४० जनासम्म बिरामी हेर्नुपर्छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आईसीयूमा एक नर्सबराबर एकजना बिरामी हेर्नुपर्छ। गाेरखापत्र दैनिकबाट
Facebook Comment