क्षेत्रीय र अन्तर्राष्ट्रिय अतिक्रमणको निशानामा हाम्रो पानी
आज विश्व जल दिवस। जलको महत्व उपयोगिता र महिमा स्मरण गर्ने दिन। पानी र प्राणी बीचको जीवन मरण सम्बन्ध आत्मसात् र मनन गर्ने दिन। पानीको फारु, संचिति, दिगो उपयोग र थोपा थोपा सदुपयोग गरिछाड्ने संकल्प गर्ने दिन।
धर्तीमाता जलमाथि आसिन छिन्। तल जल, भित्र जल माथि जल। हामी मानवलगायत समग्र जैविक विविधताको १ मुठ्ठी प्राण जलमा निर्भर छ। तर, हामी मानव बाहेक सबै प्राणी जगतको संख्या घट्दो छ। लोपोन्मुख छ । कति लोप भइसकेको पीडा छ। तर हाम्रो संख्या बढेको बढ्यै छ। हाम्रो आकारसँगै आकांक्षा झन् धेरै बढेको छ। प्रकृति दोहन बिनाश र लुट झन् तीब्र छ।
उपयोगी जीवनजल सुक्दो छ। प्रदुषित र अनुपयोगी भएको छ। तापक्रम वृद्धिका कारण समुद्र र नुनिलो पानीको सतह बढ्दो छ। मानव अस्तित्व नै संकटमा पर्ने निश्चित भएको छ। तसर्थ, प्रकृति रक्षालाई सुनिश्चित गर्न जल रक्षा गरौं भन्ने प्रार्थना र पुकारको लागि यो आलेख पस्किएको छु।
पछाडि फर्केर हेर्दा
२२ वर्ष अगाडि गस्ती गर्दा सफा स्वच्छ पानीमा माछा खेलेको देख्न पाइन्थ्यो। माछाले गोही छलेर भाग्दथे। डल्फिन महाजाल देखेर फर्किन्थ्यो।
चुरेमा जहाँ खोपिल्टो बनायो १० मिनेटमा पानी भरिन्थ्यो।अर्को १० मिनेटमा पानी सङ्लो भएर पिउन योग्य हुन्थ्यो। हामी अञ्जुली भरी पानी पिएर र तुम्लेट भरेर गस्ती अगाडि बढ्दथ्यौं। बाघ गैंडाले पाइला पिच्छे सफा स्वच्छ शुद्ध पानी पिउन पाउँथे। पुरानो पानी शक्तिबद्र्धक थियो। यो मेरो निकुञ्ज ड्युटीको सानो तर मिठो अनुभव हो।
वर्तमानको पीडा
गत हप्ता जन्म घर ओखलढुङ्गा चिशंखुगढी हुँदै कुमालटारसम्म पुगें । युवाकालका सुन्दर झरना मुहान खोला सबै सुख्खासाप देखें । खहरे खोलादेखि कोशी नदीसम्म ट्याक्टर, डोजर, स्काईभेटर, टिपरले एकछत्र कब्जा जमाएको देखें ।
उता बाँके बर्दियाका पानी नबग्ने तर पैसाको खोलो बगाइएका नहरहरु वन्यजन्तुलाई पासो भएका छन् । प्रकृति अमैत्री सडक पुल बिजुली झन् ठूलो पासो । २ मुठ्ठी प्राणजलको खोजीमा अबोध बन्यजन्तु गाउँ गाउँ पसेका छन्।
संघीय संरचना हाम्रो जल जंगल कब्जा गर्ने प्रायोजित डिजाइन हो। हामी सतर्क र सावधान भएनौं र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाको अडान लिन सकेनौं भने पूर्व एकपक्षीय सन्धिहरु जस्तै एमसीसी र बीआरआई हाम्रा जल, जंगल कब्जा गर्ने एम्बुस आयोजना सिद्ध हुनेछन्।
अरुको कुरा छाडौं, निकुञ्जको कोर इलाका भित्र पानीमा खेल्ने रमाउने जीवनयापन गर्ने गैंडालाई न खेल्न पर्याप्त पानी छ न त पिउने शुद्ध पानी। मृत गैंडाको पोष्टमार्टम गर्दा पेटभरि प्लाष्टिक र विषादीजन्य फोहोरको थुप्रो फेला पर्ने नजिर सामान्य भइसकेको छ ।
पानी बिना विस्थापित हुनेको संख्या बढ्दो छ। जनतालाई पानी बोक्ने दूरि झन् बढेको छ। राजधानीमा ट्याङ्कर र गुणस्तरहीन मिनरल वाटरको व्यवसाय फस्टाएको छ। सुरक्षाकर्मीहरुको २ मुठ्ठी सास धाराले होइन घ्यार् घ्यार् ट्याङ्करले धानिदिएको छ।
अहोरात्र खटेर ड्राइभरले बोकेको अर्को गुणस्तरहीन पानीले सास त धानिएको छ तर शरीर पानीजन्य र बिषाक्त खानाले जीर्ण भइसकेको छ । धेरै भूपू सैनिकहरु अस्पताल र ओखतीको भरमा बाँचिरहेका छन्। क्यान्सर उपचारको लागि लर्को लागेर भारत जानेको संख्या कहालीलाग्दो छ । पानीजस्तै पैसाको खोलो बगेर भारत गएको छ । जलका पीडा अझ धेरै छन्।
आजसम्म मैले पानीको महशुल तिरेको याद छैन । कुलमान प्रशासन अगाडि विद्युत महसुल नतिर्नेहरुको संख्या कति हो कति ? सिंचाई महसुल झन् कसले तिर्नु । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको पानी चोरी, लुट र दुरुपयोग हेरे हाम्रो शासकीय, प्रशासकीय, व्यवस्थापकीय र चारित्रिक अनुहार खुलिहाल्छ।
राष्ट्रिय सेनाले कडा कानून समातेर कडा पहरा दिएको निकुञ्जको पानी त सुरक्षित छैन भने अन्यत्रको जलमाताको के कुरा गर्नु ? मेलम्ची खानेपानी र बागमती सफाई अभियानलाई लुटतन्त्र र कुशासनको ऐना नभनेर अरु के भन्नु ? पानी कुटनीति, पानी सन्धिका नाममा शिर पुच्छर नदी बिक्रीको यहाँ कुरा नगरौं ।
कराई र गराई
यो महत्वपूर्ण र संवेदनशील दिवस मनाउन थालिएको ३ दशक पूरा हुन्छ, अर्को वर्ष । जल जस्तै अबोध बालवालिका पनि इश्वर हुन् । ती दुवै बोल्दैनन्। अथवा ‘हरहर महादेव’ भन्दै शिरमा बागमतीको पानी खन्याएर शितल र शुद्ध भइरहन्छन्। दिवसले यता जल संरक्षणको नारा फलाकिरहन्छ। नीति निर्माता र शासकहरु आयातीत प्रशोधित पानी मात्र उपभोग गर्दछन्।
युक्रेनको प्रकृति र पानीको हालत हेरौं । विश्व पागल मान्छेहरुको कारखाना जस्तो भएको छ। सूचना प्रविधिको मात र घमण्डले हाम्रो विवेकमा बिर्को लागेकै छ। मान्छे पृथ्वी ध्वस्त पारेर अरु ग्रहमा पानी खोज्न हिँडेको छ।
भएको श्रोत मुहान ध्वस्त पारेर पानी पुनः प्राप्तिको अप्राकृतिक र महंगो प्रविधिको बिकल्पको पछि लागेको छ । काकाकुल जनताहरु पत्याएर पिउँला पानी भनेर बसेका छन् ।
तत्कालको बाटो
‘वातावरण सुरक्षा’ नेपाली सेनाको नयाँ सुरक्षा रणनीति बन्नुपर्दछ। अन्य सुरक्षा निकायहरुले अंगीकार गर्ने सुरक्षा रणनीति पनि उही हुनुपर्दछ। किनभने अबको क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रमण अतिक्रमणको निशानामा हाम्रो बचेखुचेको पानी हुनेछ। जल बनाउने जंगल, जंगल र जल बनाउने जमिन माथि तीब्र धावा बोलिने छ।
संघीय संरचना हाम्रो जल जंगल कब्जा गर्ने प्रायोजित डिजाइन हो। हामी सतर्क र सावधान भएनौं र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाको अडान लिन सकेनौं भने पूर्व एकपक्षीय सन्धिहरु जस्तै एमसीसी र बीआरआई हाम्रा जल, जंगल कब्जा गर्ने एम्बुस आयोजना सिद्ध हुनेछन्।
वातावरण सुरक्षाले मात्र शुद्ध पिउने पानी लगायत प्राण वायु सुरक्षा, पेट पूजा नगरी नहुने खाद्य सुरक्षा, कृषि जमिन र भूमि सुरक्षा, जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सक्दछ।
यी हरफ लेख्दै गर्दा हप्तौंसम्म राजधानीको फोहोर उठाउन नसक्ने, ३ दशक मेलम्ची पानी दिन नसक्ने, राष्ट्रिय कृषि उत्पादन मारेर खरबौं रुपैयाँको रासायनिक मल र बिषादीयुक्त खाद्य वस्तु तथा प्लाष्टिक भित्र्याउने सरकारलाई अब संवेदनशील, प्रकृतिमैत्री र जवाफदेही हुन जनस्तरदेखि हरेक तह र तप्काले दबाब दिनुपर्दछ। आगामी चुनाबी घोषणा पत्रमा जलबायु परिवर्तनको मुद्दालाई समावेश गर्न लगाउनुपर्दछ।
स्थानीय सरकारलाई सबल सक्षम र सशक्त बनाउँदै प्रदेश संरचना शीघ्र हटाउनुपर्दछ। सगरमाथाको जग र मधेसको शिर चुरे श्रृङ्खलाको डोजर डेमोक्रेसी तथा दोहन विनाश र लुटतन्त्र तत्काल बन्द गर्नुपर्दछ।
यो गहन, महान र पवित्र जिम्मेवारी पूरा गर्न शासक र हामी शासित एकजुट हुनुपर्दछ। तर, आफू अपूरणीय क्षति गर्ने र भावी सन्ततिलाई पानी पुनर्स्थापनाको असम्भव काम छाडेर जानु हाम्रो अक्षम्य अपराध हुने छ। पाप लाग्ने छ। प्रकृति र पानीश्राप लाग्ने छ।
आजको दिवसले हामी सबैलाई भुलसुधार गर्ने, जलजगतको रक्षा कल्याण सम्मान गर्ने र शान्ति तथा समृद्धिको रोडम्याप पक्रेर सुन्दर नेपाललाई स्वर्गमा रुपान्तरण गर्ने शक्ति र सदबुद्धि भरिदियोस्।
Facebook Comment