बिमानस्थलबारे हाम्रो प्रतिवेदन र तस्करको निर्वाध धन्दा

डिसी नेपाल
१६ चैत २०७८ ११:०१

चार्ल्स शोभराजले ‘नेपालको अन्तर्राष्ट्रिय बिमानस्थलबाट म हात्ती छिराईदिन्छु’ भनेपछि पंक्तिकार त्यहाँको सुरक्षा प्रबन्धको गोप्य चेकजाँच गर्न गएको थिएँ।

बिमानस्थलको व्यवस्थापन र सुरक्षा प्रबन्ध फितलो, मिलिभगत, कमाउधन्धा र सेटिङमा चलेको देखेपछि एउटा होइन सयौं भिमकाय हात्ती छिरिरहेको गोप्य प्रतिबेदन राष्ट्रिय सुरक्षा परिषदलाई दिएका थियौं।

२३ वर्ष अगाडि इण्डियन एयरलाइन्स ८१४ हाम्रो बिमानस्थलबाट अपहरण भई अफगानिस्तानको कन्दहारमा पुर्‍याइँदा पंक्तिकार धेरै दिनसम्म एण्टी हाईज्याकिङ अपरेशन गर्न तालिम प्राप्त सुसज्जित चुस्त टिम लिएर बिमानस्थलमा २४ घण्टा स्ट्याण्डवाई थिएँ। हामीले चिसो भुंईमा धेरै रात बिताएका थियौं।

सेटिङमा संचालित बिमानस्थलबाट अन्तर्राष्ट्रिय बिमान अपहरण हुने पूर्व संकेत पनि हामीले दिइसकेका थियौं। त्यसकै आधारमा राष्ट्रिय सुरक्षा सरोकार निकायहरुसँग समन्वय गरेर हामीले एण्टी हाईज्याकिङ रिहर्सल पनि गरेर तयारी हालतमा बसेका थियौं।

भन्दाभन्दै जहाज अपहरण भयो। राष्ट्रिय सुरक्षामा कालो धब्बा लाग्यो। क्षेत्रीय र अन्तर्राष्ट्रिय जगतमा मुख देखाइनसक्नु लाज भयो। भारतले आफ्ना सम्पूर्ण फ्लाइटहरु नेपाल आउन जान रोक लगायो। हाम्रो सुरक्षा कमजोरी र सेटिङ धन्दा निर्बस्त्र उजागर भयो।

सेटिङमा लतारिएका र रमाई आएका अन्य सुरक्षा निकायहरुले पनि अब आँखा कान खोल्ने कि? ऐले नखोले कहिले खोल्ने? मातृभूमिले हारगुहार र जोडदार माग गरेको बेला साहसिक निर्णय गरेर किन नसच्चिने?

छिमेकी भारतले मात्र होइन, मित्रराष्ट्र अमेरिकाले समेत नेपालको बिमानस्थल सुरक्षित छैन भनेर आफ्नो प्रतिबेदनमा किटान उल्लेख गर्‍यो। तथापि, त्यसलाई नेपाल सरकारको सुरक्षा संयन्त्रहरुले टेरपुच्छर लाएन। सेटिङ ब्यापार र तस्करी जारी रह्यो।

यी दुई केवल लज्जास्पद प्रतिनिधि घटना। प्रजातन्त्रको उदयसँगै अन्तर्राष्ट्रिय बिमानस्थल ठेक्कामा चलेको कुरा भो यहाँ नगरौं। ती ठेकेदारहरुले प्रधानमन्त्री गृहमन्त्री फेरेको र धेरै अधिकारीहरुको सरुवा बर्खास्ती गरेको फेहरिस्त पनि भो यहाँ नखोलौं। सेटिङबिना छिरेका जीवित चिङ्पान्जी हाल केन्द्रीय सदर चिडियाखानामा रमाइरहेका छन्।

मुलुक कतै आतंकवादको अखडा नहोस् र राष्ट्रिय मुटु मानिने अन्तर्राष्ट्रिय बिमानस्थल कतै आतंककारीहरुको कब्जामा नपरोस भन्ने पंक्तिकारको सुरक्षा चिन्ता हो।

हालत उही

हालसालै एकजना मान्छेको बिमानस्थल भित्र अबैध प्रवेशले हल्लीखल्ली मच्चियो। नेपालबाट हात्ती हरायो, अथवा गोप्यसँग बिक्री निकासी गरियो। बिमानस्थलको अन्तिम र सम्बेदनशील कक्ष ब्यापारीलाई ठेक्का लागेको र त्यहाँबाट चिया कफीका नाममा तस्करी हुने सुरक्षाविदहरुको चिन्तालाई कसरी वहियात र नाजायज भन्नु।

अति महत्वपूर्ण र संबेदनशील क्षेत्रको पेरिमिटर सुरक्षा नाजुक छ। न त नजरी मिलापका पोष्टहरु छन्। न सिसी क्यामराको भरपर्दो र सशक्त अनुगमन। बाहिरी घेराको सुरक्षा जिम्मेवारी पाएको नेपाली सेना साँच्चिकै बाहिर छ, विमानास्थलमा। आइसोलेसनमा छ। सेटिङबाट धेरै टाढा छ। उसको आवश्यकता बोध र महत्व राष्ट्रिय बिपद् र बिमान अपहरणताका मात्र हुने हो।

उसका सुरक्षा जिज्ञाशा, सुरक्षा सवाल, सुरक्षा सुझावलाई रद्दीको टोकरीमा फ्याँकेर सेटिङमा निर्वाध चलेको तस्करी सधैं चलिरहने हो। अब हात्ती मात्र होइन दर्जनौं हात्ती बोक्ने बोइङ नै छिराउने हो। यही हो बर्तमान तस्वीर। भविष्यको पनि तस्वीर।

राष्ट्रिय सुरक्षाको दृष्टिकोणले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अति महत्वपूर्ण र संबेदनशील क्षेत्र मानिन्छ। यो वास्तवमा मुलुकलाई हेर्ने जाँच्ने र बुझ्ने पहिलो ऐना हो। यसको अति संबेदनशील स्टेराईल क्षेत्रभित्र ठेक्का लगाएर सुरक्षा संबेदनशीलतामाथि नजरअन्दाज गरिएको छ।

यो गम्भीर विषय हो। विगतमा रोकिएको सो काम क कस्का के के इन्ट्रेष्टले फेरि शुरु गर्न लागियो? यसको खोजी हुनुपर्छ। घटना दुर्घटना भइसकेपछि अपराधी खोज्नुभन्दा हुनुअघि अपराधका लागि बाटो सहज बनाइदिनेहरुमाथि धावा बोल्नु जरुरी छ।

भोलि फेरि आईसी ८१४ जस्तै अर्को घटना भयो भने नेपालले अन्तर्राष्ट्रिय जगतमा कसरी मुख देखाउने? त्यतिबेला यी ठेक्कामा दिने निर्णयकर्ताहरु र ठेकेदारका मतियारहरु सबै दुला पसेका हुन्छन् अनि सबै अपजसजति देशले भोग्नुपर्छ। बेलैमा सचेत हुनुको विकल्प छैन।

राष्ट्रिय सेनालाई अन्तिम सुरक्षा अस्त्र भनिन्छ। बिमानस्थल सुरक्षा खतरामा पार्ने अति संबेदनशील क्षेत्र स्टेराइल हलभित्रको वर्तमान ब्यापार ठेक्काको निर्णय रद्द गराउन सैनिक नेतृत्वले सैनिक कुटनीति अथवा सुरक्षा दबाब दिनु पर्दछ।

मुलुकका कार्यकारी प्रमुखको आँखा कान खोलिदिनु पर्दछ। उहाँलाई बाइपास गरेर भएको निर्णय भए सच्याउनुपर्‍यो। सेटिङमा आबद्ध गरिएको भए हुँदैन भन्न सक्नुपर्‍यो। नतमस्तक र मुकदर्शक भएर बस्नु हुँदैन नेपाली सेना। राष्ट्रिय अस्मिता लुटिन दिनु हुँदैन। राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाबिपरितका क्रियाकलाप आफ्ना आँखा अगाडि हुन दिनुहुँदैन।

अन्तर्राष्ट्रिय समुदायको र आफ्ना सर्वसाधारण जनताको बिश्वास जित्न पनि नेपाली सेनाले उपयुक्त समय र बिन्दुमा उपयुक्त पहलकदमी लिनुपर्दछ। सेटिङ्गमा लतारिएका र रमाई आएका अन्य सुरक्षा निकायहरुले पनि अब आँखा कान खोल्ने कि? ऐले नखोले कहिले खोल्ने? मातृभूमिले हारगुहार र जोडदार माग गरेको बेला साहसिक निर्णय गरेर किन नसच्चिने?

राष्ट्रिय मतदानको संघारमा उभिएको बर्तमान गठबन्धन सरकारले राष्ट्रिय सुरक्षा धरापमा पार्ने भाँडभैलो नगरोस्। अप्रिय निर्णयहरु गरेर सुरक्षा निकायहरुको चित्त नभाँचोस्। नेपाली सेनालाई फगत् साक्षी र बलीको बोको नबनावस्। हामी प्रतिआतंकबाद तालिम प्राप्त संस्थापक सदस्यहरुको चित्त नदुखावस्।

बरु अन्तर्राष्ट्रिय बिमानस्थल अन्तर्राष्ट्रिय सम्पत्ति भएपछि संसारभरको चासोको क्षेत्र हो र यो निकै संबेदनशील पनि छ। यो राष्ट्रिय छबि झल्किने ऐना हो। नेपालको गौरव हो। यसको नमूना ब्यवस्थापन र सुरक्षाले मात्र हाम्रो गौरवको रक्षा सम्मान हुन्छ।

सरकार, सेना, संचार माध्यम र सरोकार निकाय सबैको यो गौरव रक्षामा सामुहिक ध्यान जावस्। अन्तर्राष्ट्रिय बिश्वसनीयता ह्रास होइन बढाउने सकारात्मक निर्णय र काम होस्।

(लेखक सुरक्षाबिद् र संरक्षणकर्मी हुन्)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *