लमजुङमा वैशाखको पहिलो सातादेखि कृषि गणना गरिने

डिसी नेपाल
१७ चैत २०७८ २२:५३

लमजुङ । लमजुङमा वैशाखदेखि सुरु हुने राष्ट्रिय कृषि गणना कार्यक्रमको तयारी सुरु भएको छ । आगामी वैशाख ६ गतेबाट जेठ १९ गतेसम्म हुने कृषि गणनाका लागि बेसीसरहमा स्थापना भएको जिल्ला कृषि गणना कार्यालयले आवश्यक तयारी सुरु गरेको हो ।

कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ का बारेमा जानकारी गराउन जिल्ला स्तरीय गोष्ठीको आयोजना गरेको थियो । जिल्ला कृषि गणना कार्यालयका प्रमुख जितेन्द्र रानाभाटले जिल्ला सञ्चालनमा हुने गतिविधि तथा गणना प्रक्रियाका बारे जानकारी गराएका थिए ।

उनका अनुसार देशभरका साढे ३ लाख घर परिवारलाई प्रतिनिधिमूलक घरका रूपमा छानिने र नमुना छनोटमा परेका घरमा गणकहरू पुगेर विवरण भर्नेछन् । सो मध्ये जिपिएस सिस्टमबाट लमजुङमा सबै स्थानीय तहका वडा समेटेर एक सय २५ गणना क्षेत्र छनौट गरिएको कार्यालय प्रमुख रानाभाटले बताए । यही चैत २४ गतेसम्म गणक नियुक्ति गरी आवश्यक तालिम प्रशिक्षण दिइने कार्यालयले जनाएको छ ।

वैशाख ३ भित्र तालिम प्रदान गरी ६ गते देखि जेठ १९ सम्म तथ्यांक संकलनका लागि खटाइने कार्यतालिका रहेको छ । देशभर पाँच हजार २३ जना गणक कृषि गणनाका लागि खटिनेछन् । उनीहरूको सहजीकरणको लागि एक हजार दुई सय ८० जना सुपरिवेक्षक खटिने भएका छन् ।

जिल्लाका लागि भने ४७ जना सम्म गणक र १२ जना सुपरिवेक्षक खटिने कृषि गणना अधिकृत रानाभाटले जानकारी दिए । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना भएको थियो । प्रत्येक १०र१० वर्षमा गरिने कृषि गणना अहिले सातौं पटक गर्न लागिएको हो । कृषि गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार भएको छ ।

कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने विश्वास लिइएको छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ ।

कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्यांक संकलन गरिने विभागले जनाएको छ ।

यसबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने भएको छ । गणना कार्य ४५ दिन भित्रमा सम्पन्न गरिसक्ने कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *