व्यंग्य : टावरमै रहेछ पावर
स्थानीयदेखि राष्ट्रिय तहसम्मको पावर हत्याउन र त्यसैमा टिक्न अग्लाअग्ला टावर निर्माण गर्ने अनि त्यसैको बजेटमा मजाले चर्ने र हामीले यो गर्याैं त्यो गर् याैं भन्दै जनतामा भ्रम छर्ने गरेर जनतालाई हैरान पारे भन्दै बिरोधी र हरुवाहरुले गरेको डरछेरुवा कुरामा जनतालाई पटक्कै बिश्वास छैन।
एउटा पालिकाको प्रत्येक वडामा कमसेकम एउटा भ्यू टावरपनि नभए त लाजै मर्नु भएर जनताको अगाडि कसरी मुख देखाउनु र मेरो कार्यकालमा बिकासको ठूलो फड्को हानियो भनेर खानपिनले आफ्ना हितैषी भएका पत्रकारहरुबाट समाचार कसरी लेखाउनु भन्ने लाग्नु स्वाभाविकै हो।
भ्यू टावर बनेपछि र सबैले वाहवाह भनेपछि अरु कुनै काम गर्नै परेन। आफ्नो पालिकाको सबैभन्दा अग्लो ठाउँमा भ्यू टावर बनाएर आफ्नो नाउँमा शिलालेख टाँसेपछि बिकास भएको सबैले देख्ने भए। आफ्नो पालिकाबाट मात्रै होइन यो त टाढाटाढाबाटसमेत प्रष्ट देखिने चिज भएकोले कसैले खोट लगाउने वा कसैलाई चोट पुर्याउने बिषयपनि होइन।
बिकासको प्रतिफल सबैले एकैचोटि चाख्न र आफ्नो पालिकाको नाक राख्न पाइने यस्तो राम्रो निर्माण कार्यको बिरोध गरेको सुन्दा जनताको कन्सिरी नतात्ने कुरै आउँदैन। जति अग्लो डाँडो भेट्टायो उति अग्लो भ्यू टावर बनाएर र भबिष्यमा यो भन्दापनि अग्लो बनाउने प्रतिबद्धता जनाएर जनतासित भोट मागेपछि जनताले भोट नदिइ सुखै छैन। केही काम नगरि गफ चुटेर बस्ने र जनताको नाम लिएर बजेट हिनामिना गरि जनतालाई पछाडिबाट छुरा धस्ने समूहलाईभन्दा त यस्तै खाले बिकास कार्यको लागि कम्मर कस्ने बहादुरहरुलाई भोट दिन जनतालाईपनि केही गाह्रो हुँदैन।
भ्यू टावर बनाउँदा सबैलाई फाइदा रहेछ भन्ने जनताले भर्खरै बुझ्न थालेका हुनाले सबैजसो पालिकाहरुले जोडतोडका साथ यो कदम चालेका रहेछन्। सबैभन्दा पहिला त भ्यू टावरको सोच ल्याउने पालिका प्रमुखलाई फाइदा, डिजाइन गर्नेलाई फाइदा, बजेट बनाउनेलाई त फाइदा हुने नै भयो, एस्टिमेट गर्नेलाई भाग छुट्याउनै पर्याे उसलाईपनि फाइदा, बजेट निकासा गर्नेलाई फाइदा नभए बजेट निकासा नहुने हुनाले त्यस बिषयमा कुरै गर्न परेन,निर्माणको ठेक्का लिनेलाई त त्यसै फाइदा हुने नै भयो।
निर्माणको पटके निरीक्षण गर्नेलाई ठेकेदार र पालिका दुबैतिरबाट हातलागि भएर फाइदा हुने भइहाल्यो। बिल चेक गरेर भुक्तानी दिनेको फाइदा सबैलाई थाहा छँदैछ, बिल भर्पाइ सबै टाकटुक मिलाएर फाँटवारी बनाउनेको फाइदा छुट्याएकै हुन्छ, भुक्तानी दिनेको बारेमा त बताउनै परेन, उपभोक्ता समितिमा आफ्नै मान्छेहरु हुने हुनाले उनिहरुलाईपनि हेर्नै पर्यो, लेखा परीक्षकको भाग त सुरुमै छुट्याइ सकिएको कारणले झमेला हुने कुरै भएन।
अहिले देशैभरि भ्यू टावर, प्रवेशद्वार, शालिक आदि बनाउने अलिखित होड चलेको हुनाले सबैतिर बिकासले नयाँ मोड पार गरेको सबैलाई लागेको छ। अग्रगामी छलाङ हान्ने सिलसिलामा पुराना शालिक तोडफोड गरेको भनिएकोमा बिदेशतिरका मालिक खुसी पार्न र उताबाट राजनीतिको नाममा ठूलो रकम झार्न यस्ता महान कार्यहरु भइरहेको थाहा पाएपछि खुसीले जनताको भुइँमा खुट्टा छैन।
सबैकुरा बुझेर हल्ला गरिदिन सक्ने बिरोधी र दादा गुण्डा डनलाई हातमा राख्ने काम फोकटमा हुने कुरै आएन,आफू बाहेक सबैलाई चोर देख्ने र पैसा पाएन कि खोइरो खनेर समाचार लेख्ने अति नैतिकवान पत्रकारहरुकोपनि गक्ष अनुसार खल्तीमा हालिदिनै पर्याे आदि भनेपछि यसमा ठूलो जालो फैलिएको र यसमा सबैजना मैलिएको कुरा सबैलाई थाहा भएकै कुरा भएपनि थाहा नपाएजस्तो गर्नै पर्याे ।
यत्रो लगानी र यति धेरैजनाको सहभागिता भएपछि कसले छुने कसले हल्लाउने? सबैको लागिमेली र सहयोगबाट भ्यू टावर तयार भएपछि राष्ट्रिय स्तरका ठूला र अझ शिर्ष नै भनिने र ठूलाठालुमै गनिने नेतालाई ल्याएर उद्घाटन गराइ दिएपछि सबै खत एकैचोटि माफ भइहाल्छ।
त्यहीँका जनताबाट उठाएको करबाट बनेको भ्यू टावरबाट दृश्याबलोकन गर्न तिनै जनतालाई टिकट बेचेर फाइदा गर्न सुरु भएपछि पालिकाका पदाधिकारीहरुलाई स्थायी आम्दानीको श्रोत खुलिहाल्यो। यो भन्दा ठूलो उपलब्धि जनताको लागि अरु हुनै सक्दैन। अहिले सबैतिर भ्यू टावर बनेको र यसैलाई अग्रगामि छलाङ भनेको त्यसै होइन रहेछ भन्ने सबैले थाहा पाए।
प्राकृतिक रुपमै बनेको भ्यू टावररुपी डाँडाको टुप्पोलाई अझ अग्लो तुल्याउने र पालिकाका मतदाताहरुलाई यही हो असली बिकास भनेर फुल्याउने कार्य सारै जनमुखी रहेछ। बालकोटे कामरेडले झापाको आफ्नो निर्वाचन क्षेत्रमा अरबभन्दा अलि माथिको सानो बजेट खर्च गरेर बनाउन थालेको भ्यू टावरले त्यहाँबाट तिब्बतसम्मको अबलोकन गर्न र त्यो कामबाट निकै पुस्ता तर्न सक्ने हो कि भने जसरी प्रचार प्रसार भएको सुनेर त्यहाँका जनता दंग परे अनि पूरा भएपछि त्यसको मजा लिन पर्छ भनेर सहयोगको लागि अघि सरे।
कुनैपनि निर्माणको शिलान्यास गर्नासाथ काम पूरा नभइकन उद्घाटन सम्पन्न गरेर ढुक्क भइहाल्ने सारै असरदार बिकासे बानी भएका बालकोटे कामरेडले यो भ्यू टावरमापनि आफ्नो शैली परिबर्तन नगरेको र अरु शंका उपशंका गर्न नपरेको देखेर त्यहाँका जनता दंग छन्।
स्वघोषित महान नेता भनेर प्रख्यात भएका खुमलटारे कामरेडले हालसालै आफ्नो भुतपूर्ब निर्वाचन क्षेत्र र धनयुद्धमा सबैभन्दा बढी हत्या हिंसाको अनुभव गराउन र यसैलाई भजाएर आफ्नो ढुकुटी भराउन सकेको रोल्पामा करोडौँको लागतमा बनेको भयंकर ठूलो भ्यू टावरको उद्घाटन गरेर चुनावमा भोट माग्न भ्याएछन् अनि यस्ता कार्यले जनताको उत्थान हुनेमा कुनै शंका नहुने बिचार अगाडि ल्याएछन्।
यिनीहरु त सामान्य उदाहरणमात्रै हुन्। अहिले देशैभरि भ्यू टावर, प्रवेशद्वार, शालिक आदि बनाउने अलिखित होड चलेको हुनाले सबैतिर बिकासले नयाँ मोड पार गरेको सबैलाई लागेको छ। अग्रगामी छलाङ हान्ने सिलसिलामा पुराना शालिक तोडफोड गरेको भनिएकोमा बिदेशतिरका मालिक खुसी पार्न र उताबाट राजनीतिको नाममा ठूलो रकम झार्न यस्ता महान कार्यहरु भइरहेको थाहा पाएपछि खुसीले जनताको भुइँमा खुट्टा छैन।
देशैभरि यस्ता निर्माण कार्यहरु प्रतिस्पर्धात्मक तरिकाले भइरहेको र यो कार्य जोडतोडकासाथ अगाडि गइरहेको देख्दा अहिले देशको प्राथमिता यही पो रहेछ भन्ने सबैले बुझेका छन्। त्यसमाथि झन् शिर्षहरु नै उद्घाटनमा तँछाडमछाड गरेर दौडादौड गर्दै हिँडेपछि यो त प्रमाणित नै भइहाल्यो।
हाम्रो प्राथमिकता शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बाटोघाटो, रोजगारी, कृषिको लागि उन्नत मल बिउ, सिँचाइ, पशुपालन, पुल पुलेसा झोलुँगे पुल, भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, सिपमुलक तालिम, मातृशिशु कल्याण, औद्योगिकरण, विद्युत उत्पादन, आत्मनिर्भर हुने कार्यको थालनी, विद्युतिकरण, आयमुलक कार्यक्रमहरुको सुरुवात, सिपयुक्त जनशक्तिको उत्पादन, राष्ट्रिय भावना आपसी मेलमिलाप सद्भाव सहिष्णुता सामुहिकताको भावनामा बृद्धि आदि हो कि भनेर सोच्नेहरुको दिमाग नपुगेकै रहेछ।
यसो हेर्दा त अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेकै भ्यू टावर, प्रवेशद्वार र शालिक निर्माण रहेछ भन्ने सबैले थाहा पाएकोमा हामी सबैले सामुहिक गर्व गर्न ढिला गर्न हुँदै हुँदैन। त्यही भएर यस्ता कार्यलाई अझ तिब्र रुपमा बढाउँदै र मोटो शुल्क लिएर जनतालाई यस्ता भ्यू टावरहरुमा चढाउँदै लैजान पर्छ।
नयाँ नेपाल बनेपछि र नेताहरुले धेरै ठूलो फड्को हानियो भनेर भनेपछि अरु धेरैथरि बिषयहरुमा गिनिज रेकर्ड कायम भइसकेको अनि देश धेरै अगाडि गइसकेको अबस्थामा अब संसारमा सबैभन्दा बढि भ्यू टावर भएको देशको पदवी पाउन र त्यो सहजै आउन धेरै समय कुर्न नपर्ने पक्का भएकोले नेता र जनता दुबैथरि खुसी छन्।
अब बन्ने भ्यू टावरहरु लाखमा होइन कमसेकमपनि करोड र अरब घटीको बनाउनै हुँदैन। देशका युवाहरुलाई अरब पठाएर असुलेको करबाट जम्मा भएको बजेटबाट बनाउने भ्यू टावर अरबभन्दा कम बजेटमा बनाइयो र त्यसैमा पालिकाहरुले सहमति जनाइयो भने अरब गएकाहरुकोपनि इज्जत रहँदैन अनि रेमिटेन्सले नेताहरुलाई पनि सहँदैन।
देशमा रोजगारी बढाउने ब्यबस्था मिलाउनु र युबाहरुलाई यतै रोजगारि दिलाउनु भन्दा जनतालाई भाषण पिलाउनु अनि जनहितको कुरामात्रै गरेर कामको कुरामा भने मुख सिलाउनु नै अति उत्तम हो भन्ने सोच्नुलाई अत्यन्त असरदार नेतृत्व क्षमता भनिने भएपछि यस्तैले प्राथमिकता पाउनु नौलो हुने कुरै आएन।
भ्यू टावरहरुको तुलनामा स्वागतद्वार र शालिकहरु कम बनेको र यो अलि पुगेन भनेर जनताले भनेको अनि यसैलाई अहिलेको मुख्य उपलब्धिमा गनेको अबस्थामा अन्यत्र ध्यान पुर्याउने कष्ट नगरेको एकदम ठिक छ। यसलाई निरन्तरता दिएर अझ बढाउँदै लैजान पर्छ भन्ने जनताको माग रहेछ भन्नेपनि नेताहरुको भाषणबाट बुझ्न पाउँदा जनता प्रफुल्ल छन्।
अब वरिपरिका झिना मसिना डाँडाहरुमामात्रै होइन हिमालका टाँकुरा र अझ आठ हजार मिटरभन्दा अग्ला सबै हिमालहरुमा घच्चिका भ्यू टावरहरु निर्माण गरेर सँसारलाई देखाउन ढिला गर्नै हुँदैन। सपना बाँड्न र असल कुराहरु सबै भाँड्न अत्यन्त सिपालु नेतृत्वको सारै राम्रो बोलवाला भएको समयमा यतिपनि गर्न नसके के को राजनीति गराइ भयो र? यति काम पुरा गर्न सकियो भने संसारमा सबैभन्दा बढि पर्यटक आउने र पर्यटकहरुबाट ठूलो आम्दानी पाउने देश बन्न खासै बेर लाग्दैन।
यतिसम्मको उच्च सोच नराख्ने हो भने भ्यू टावर राजनीति र आम्दानीबाट बन्चित हुनुभन्दा यसको आम्दानी सन्चित गर्नसके देशले अग्रगामी हो कि कुन्नि कुन खाले छलाङ हान्न अनि सबैतिरबाट नगद तान्न धेरै दुख गर्नै पर्दैन जस्तो देखिन्छ। यसो हेर्दा भ्यू टावरमा नै सबैथोक रहेछ भन्ने जनतालेपनि भ्यू टावरहरुको दैनिक बिस्तार भएबाट बुझ्दै आएका हुन्।
अहिलेसम्म यसका फाइदाहरु नेताहरुलेमात्रै बुझेकोमा जनताले नै बुझिसकेपछि निर्माणमा चाहिँ केही कमी आउने र त्यहाँबाट हेर्न नपाएर पर्यटकहरुले दुख पाउने हुन् कि भन्ने डर कायम रहने हो कि भन्नेहरुपनि नभएका होइनन्।
यसबाट आउने फाइदा जति जनप्रतिनिधि, पदाधिकारी, नेता र निर्माणमा संलग्न हुनेलेमात्रै उठाए भन्ने हल्लामा कुनै सत्यता छैन। हाम्रो पालिकामा यतिवटा यस्तोखाले भ्यू टावर छ भनेर त्यहाँका बासिन्दाहरुले अन्यत्रकाहरु र आफ्नै नातेदारलाई पनि धाक लगाएर नाक ठाडो पार्दै सशुल्क टिकट काटेर हेर्ने भयंकर ठूलो सहुलियत पाउने नैसर्गिक अधिकार पाउनु नै ठूलो कुरा हो।
अब बन्ने भ्यू टावरहरु लाखमा होइन कमसेकमपनि करोड र अरब घटीको बनाउनै हुँदैन। देशका युवाहरुलाई अरब पठाएर असुलेको करबाट जम्मा भएको बजेटबाट बनाउने भ्यू टावर अरबभन्दा कम बजेटमा बनाइयो र त्यसैमा पालिकाहरुले सहमति जनाइयो भने अरब गएकाहरुकोपनि इज्जत रहँदैन अनि रेमिटेन्सले नेताहरुलाई पनि सहँदैन।
अन्यत्रबाट हुने आमदानी जस्तै यसबाट हुने आमदानीको पनि ठुलो हिस्सा पालिकाका पदाधिकारीहरुको सुखसुबिधामा खर्च नगरे जनप्रतिनिधि वा पदाधिकारी हुनुको मजा के भयो र? त्यसैले यसमा जनताले अरुमा जस्तै कुनै दावी बिरोध नगरिदिएपछि जनप्रतिनिधिहरुपनि खुसी अनि जनतापनि खुसी। स्थानीय तहमा यसैलाई भनिन्छ विनविन सिच्यूएसन भनेर बुझ्न पर्छ।
भ्यूटावर बनाएर आठदश तल्ला माथि उक्लेपछि र वास्तबिक जमिनसँग सम्बन्ध फुक्लेपछि जमिनका कुराहरु जस्तै महान दामरेडहरुले संचालन गरेको खाओबादि धनयुद्धका घाइते अपांग बेपत्ता बिधवा टुहुरा अयोग्य घरखेत गुमाएका आदि र अन्य रोगी, भोकानांगा, अशिक्षा, बेरोजगार, खानेपानी अभाव, सुग्घर सफाइको अभाव, पौष्टिक आहारको कमी, दैबी प्रकोप पीडित, न्याय नपाएर भौँतारिएका, महँगीले पिल्सिएका, कालो बजारी, भ्रष्टाचारी,ठगी, अनियमितता, कफिनमा बन्द भएर आउनेहरु, तस्करी, धुलो मैलो सडकका खाल्डा खुल्डी, हावाहुरीले उडाउने पक्की पुल आदि नदेखिनु स्वाभाबिक हो।
यस बाहेक अरु थप केके बनाएर बजेट मार्न र सात पुस्ता तार्न सकिन्छ भन्ने ठाउँहरु यहाँबाट प्रष्ट देखिने रहेछ। अझ बस्ती बिकासको नाममा कुनकुन धान फल्ने फाँट मास्ने, कुनकुन डाँडा भास्ने र कुन जँगल तास्ने भन्ने त यहाँबाट छर्लँग देखिएर जग्गा दलालीबाट अकुत कमाउने र सबैजना बाँडचुँड गरेर रमाउने काम सारै राम्रोसित हुन सक्ने भएकोलेपनि भ्यू टावर सबै पालिकाहरुको लागि अनिबार्य नै रहेछ।
जति माथि चढ्दै र माथिमाथि बढ्दै गयो दूरीले गर्दा तलकालाई चिन्न नसक्नु सामान्य नै भएकोले आफूले हेर्न चाहेको बस्तु वा ठाउँमात्रै प्रष्टसित हेर्नको लागि भ्यू टावरहरुमा शक्तिशाली दूरबिन राख्नै पर्छ। त्यसो भएपछि आफूलाई मन लागेको चिज वा ठाउँ हेर्यो कुरै खत्तम। अरु नचाहिने कुरामा किन टाउको दुखाउने?
यस्ता भ्यू टावरहरुद्वारा कृत्रिम तरिकाले जतिसुकै माथिल्लो उचाइमा छलाङ हानेपनि र आफूलाई आफैंले महान मानेपनि त्यहाँबाट आफूलाई फाइदा नहुने कुनै कुरा नदेखिएपनि वा नसुनिएपनि प्रकाश सपुत जस्ता गायक वा नायकले बनाएको पिर नामक अति छोटो सिनेमा र त्यसको गीत प्रष्टै सुनिनु र देखिनुलाई एउटा बिडम्बना नै मान्नपर्छ अनि यस्ता भनेका बकवास हुन् भनेर सबैले ठान्नपर्छ।
केही समय अगाडि अर्को एउटा पशुपति शर्मा नामक गायकलेपनि सानो स्वरमा लुट्न सके लुट् कान्छा भन्ने गीत गाउँदा यस्तै भ्यू टावरहरुमा राम्रैसित सुनिएको र बन्द गर्न पर्ने सुचिमा चुनिएको थियो रे।
त्यही भएर अरुका बैशाखीमा उभिएर भ्यू टावर चढ्ने र क्षमता नै नभइकन जनतालाई झुक्याएर अगाडि बढ्ने जमातको हावा फुस्किन खासै ठूलो चिजको आबश्यकता नहुने रहेछ भन्ने जानेपछि अनि जनताले यिनीहरु साँच्चिकै ठूला रहेछन् भनेर ठानेपछि टावर जाबो जति बनाएपनि कुनै खति छैन। त्यही भएर जनताले ठूलो स्वरमा चिच्याएर भन्न थालेका छन्, टावरमै रहेछ सबै पावर।
Facebook Comment