हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प
सिमिकोट। हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।
हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो ।
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौँतारिरहनुभएका विशाल परियारले गुनासो पोखे।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका बताइएको छ ।
Facebook Comment