किन लगातार घटिरहेको छ सेयर बजार ?

रेखा श्रेष्ठ
२३ चैत २०७८ ७:२१

काठमाडौँ। अहिले सेयर बजारका लगानीकर्ताहरु अधिक चिन्तित छन्। सेयर बजार निरन्तर घट्दै रहेको छ। सेयर बजार घटिरहेकाले लगानीकर्ताहरुको सेयर कारोबार पहिलेको तुलनामा अहिले कम हुँदै गइरहेको छ।

केही समय अगाडि २२ सय बिन्दुबाट सेयर बजार बढेर २९ सयसम्म पुगेको थियो। सेयर बजार बढेको देखेर लगानीकर्ताहरु खुसी भएका थिए। तर, लगानीकर्ताको खुशी लामो समय टिकेन। सेयर बजार पुनः घटेर २४ सय विन्दुमा झरेको छ। र, कारोबार रकम पनि घटेर २ अर्व पुग्न पनि कठिन भएको छ।

सेयर बजार घटबढ हुनुमा धेरै कुराले प्रभाव पार्ने गर्दछ। धेरै जसो तरलताको कमी भएमा सेयर बजार घट्ने र तरलता बढ्नाले सेयर बजार बढ्ने गर्दछ। अहिलेको सन्दर्भलाई हेर्ने हो भने अहिले बजारमा तरलताको अभाव छ जसले गर्दा सेयर बजार घट्दै गइरहेको विश्लेषक बताउँछन् ।

एक विश्लेषकले भने, ‘तरलताको चापको कारणले गर्दा बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन्। साथै, व्याज दर वृद्धि हुँदै गएको छ।’ अर्थतन्त्र सही दिशामा नजानले पनि सेयर बजार घटेको विश्लेषक बताउँछन् ।

अर्को विषय हो राजनीति। राजनीतिले पनि सेयर बजारलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने गर्दछ। यदि सरकार स्थिर भएमा सेयर बजार बढ्ने र सरकार स्थिर नभएको खण्डमा सेयर बजार घटबढ हुने विश्लेषक बताउँछन्।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार सेयर बजार घट्नुमा राजनीतिक अवस्था, तरलता र सेयर बजारलाई लक्षित गरेर बनेको नीति नियमले प्रभाव पर्ने गर्दछ। उनले भनिन्, ‘पछिल्लो समय धितोपत्र बोर्डले ५१ कम्पनीलाई कालो सुचीमा राखेको सूची सार्वजनिक गरेसँगै बजार घटेको हो। त्यसका साथै नेपाल राष्ट्र बैंकले मातहतका बैंकलाई दिएको निर्देशनले पनि सेयर बजारमा गिरावट आएको दखिन्छ।’

राष्ट्र बैंकले बैंकहरुलाई सेयर धितो राखेर लिने ऋण प्रवाह गर्न नपाउने नियमले पनि सेयर बजार घटेको उनी बताउँछिन्। यसका साथै, कहिले पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार पुँजीपतिको लागि भनेर भाषण गर्ने र विभिन्न समयमा नियम बनाउने व्यक्तिले नकारात्मक अभिव्यक्ति दिँदा बजार घटेर अहिलेको अवस्थामा पुगेको उनले बताइन्।

पछिल्लो हरेक निर्वाचनको समयमा सेयर बजार बढ्ने गरेको देखिन्छ। तर अहिले निर्वाचन हुने भएता पनि रकम सहज नभएको हुनाले सेयर बजारमा लगानी कम भएको उनले बताइन्। उनले भनिन्,‘अहिले बजारमा तरलताको क्राइसिस नै छ। रकम बजारमा आएको छैन त्यहि भएर सेयर बजार नबढेको हो।’

निर्वाचन हुनु भनेको ढुकुटीमा थुप्रिएको रकम बजारमा आउनु हो तर अहिले निर्वाचन हुने भएता पनि ढुकुटीमा थुप्रेको रकम बजारमा आएको छैन। यसका साथै, बजारमा भएको रकम पनि विभिन्न माध्यमबाट विदेशिएको उनले बताइन्।

उनले भनिन्,‘निर्वाचन वर्षहरुमा सेयर बजार राम्रो हुन्छ भन्नुको अर्थ बजारमा पर्याप्त मात्रामा रकम हुनु हो। बजारमा भएको रकम विभिन्न क्षेत्रमा खर्च हुँदै बैंकको माध्यमबाट पूँजी बजारमा आउने हो। तर अहिले बैंकमा रकम छैन।’ यसले गर्दा पनि सेयर बजार वृद्धि नभएको उनले बताइन्।

सेयर बजार घट्दै गएको देखेर लगानीकर्ताहरू सेयर बजारमा लगानी गर्न डराएको देखिन्छ। उनले भनिन् ‘सेयर बजार बढ्दै गएमा लगानीकर्ताहरु बजारमा लगानी गर्न आकर्षित हुन्छन् तर बजार घट्दै गएपछि झन् बजार घट्ने हो कि भनेर लगानी गर्न डराएको अवस्था छ।’ सेयर बजार सेन्टिमेन्टमा चल्ने भएको हुनाले सेयर बजार घटबढ हुने उनले बताइन्।

अहिले बैंकसँग पैसा नभएको र लगानीकर्ताहरुले आफुसँग भएको सेयर होल्ड गरि रहेका छन्। नयाँ लगानीकर्ताहरु पनि सेयर बजार अलि घटे पछि सेयर किन्ने सोचमा रहेका छन् र पुराना लगानीकर्ताहरु पनि बजार घटोस् अनि किनैं भनेर बसेको अर्कोतर्फ सेयर होल्ड गर्नेहरुले पनि किन घाटामा बेच्ने भनेर बसेको हुनाले अहिले बजार घटिरहेको उनले बताइन्।

कति ठाउँमा सेयर बजार सम्बन्धि सामान्य ज्ञान पनि नभएको उनले बताइन्। तर कति ठाउँमा लगानीकर्ताहरुसँग पूँजी छ र पूँजी बजार सम्बन्धि केही ज्ञान पनि छ तर पहुँच छैन। सेयर बजार भने जहिले पनि घट्ने र जहिले पनि बढ्ने हुँदैन। सेयर बजारमा लगानी गर्दा राम्रा कम्पनीमा लगानी गर्ने गर्नु पर्दछ। घाँटी हेरी हाड निल्ने भने जस्तै आफूले होल्ड गर्न सक्ने गरि सेयर बजारमा लाग्नु पर्ने उनले बताइन्। होल्ड गर्न सक्ने गरि लगानी गर्ने गरेमा लगानीकर्ताहरुले सेयर बजार घटेपनि आतिनु पर्ने अवस्था नहुने उनले बताइन्। उनले भनिन्,‘बजार घटेको बेला लगानी गरौँ र बजार बढेको बेला सेयर बेचेर लाभ लिनु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *