टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन

डिसी नेपाल
२५ चैत २०७८ २३:१४

मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविमा आज आयोजित कार्यक्रममा उनले अभियान सञ्चालनका क्रममा आउनसक्ने कठिनाइहरुको व्यवस्थापन मिलाइसकिएको बताए । मन्त्री खतिवडाले जनतालाई आ–आफ्ना बालबालिकालाई खोप अभियानमा ढुक्क भएर सहभागी गराउन अपिल गरे ।

उनले आजदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकालाई खोप सेवा प्रवाह गरिने बताए । त्यसका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्थापन मिलाइएको उल्लेख गरे । खोप अभियान साझा भएकाले सबैले आ–आफ्नो तर्फबाट सहयोग गरेमात्रै सफलता प्राप्त हुनेमा उनले जोड दिए । कार्यक्रममा मन्त्री खतिवडाले खोप र सिरिन्जको बाक्सा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमसागर गुरागाईँलाई हस्तान्तरण गरेसँगै खोप अभियान प्रारम्भ भएको छ ।

खोप सामग्री ग्रहण गर्दै प्रमुख गुरागाईँले तोकिएको समय अगावै मकवानपुरमा अभियानले पूर्णता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुने जानकारी दिए । उनले अधिकांश विद्यालयहरुलाई खोप केन्द्र बनाइएको र विद्यालय पुग्न नसक्ने बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा गएर पनि खोप लगाउन सक्ने गरी प्रबन्ध मिलाइएको उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले अभियानलाई पूर्णता दिन आ–आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *