म्याग्दीमा निर्वाचन गतिविधि बढ्यो, अधिकांश जनप्रतिनिधि पुनः उम्मेद्वार बन्न इच्छुक
बेनी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन् । ६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन् ।
राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन् । जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुङ्गो नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन् ।
नेपाली कांग्रेसले १७, नेकपा (माओवादी केन्द्र)ले १४ र नेकपा (एमाले)ले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन् ।
वडामा उम्मेदवार छनोटको क्रम बढेको छ । उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन् । विसं २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुख–उपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ । छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन् ।
माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुनःनिरन्तरता दिन टुङ्गो लगाएको छ । हाल वडाध्यक्ष रहेका बेनी नगरपालिका–३ मा पद्मा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुनः अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । लोकप्रिय काम गरेकालाई पुनः उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताए । रघुगङ्गा–२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी हुन् ।
एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुङ्गो लगाउन थालेको छ । वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुननसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए । वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन् । बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत भएका छन्। एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिएका छन् ।
मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुनः सोही पदमा दोहो¥याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाएका छन् । यस अघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यसपटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा छिन् । धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालसमेत पार्टीबाट पुनःउम्मेदवार बन्न इच्छुक छन् ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनि पनि पुनः उम्मेदवार बन्ने प्रतिस्पर्धामा रहेका छन् । वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुङ्गो लगाएकामध्ये रघुगङ्गा गाउँपालिका–१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाअध्यक्षमा चुनिएका थिए।
बेनी नगरपालिका–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडासदस्य रहेका हिमबहादुर भण्डारीलाई कांग्रेसले सर्वसम्मत छनोट गरेको छ । मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टङ्कप्रसाद पुनलाई नै पुनः उम्मेदवार छनोट गरिएको छ ।
रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुनः कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा छन् । कांग्रेसबाट वडा नं ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा नं ६ का वडाअध्यक्ष एवं कांग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्यासी रहेका छन्।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदरवार बन्न दौडधुपमा छन् । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा उठ्ने कसरत गरेका छन्। पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समितिहुँदै जिल्ला कार्यसमितिमा आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए ।
जिल्लामा मङ्गोल नेशनल अर्गनाइजेशनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ । रघुगङ्गा–२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।रासस
Facebook Comment