गठबन्धनका नाममा जनतामाथि निरंकुशता लाद्ने प्रयास

डिसी नेपाल
७ वैशाख २०७९ ११:१७

भनिन्छ, राजनीतिमा जे पनि संभव हुन्छ। अहिले स्थानीय तह निर्वाचनको मिति नजिकै आइसकेको छ। दलहरुबीच चुनावी प्रतिस्पर्धामा गठबन्धन गरेर जाने निर्णय भइसकेको छ। सत्ता गठबन्धनले त महानगरपालिकाको भागवण्डा पनि गरिसकेका छन्।

उता प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि केही साना दलसँग चुनावी तालमेलको निर्णय गरेको छ। सामान्यतया राजनीतिमा विचार र सिद्धान्त मिल्ने दलबीच चुनावी गठबन्धनलाई स्वाभाविक मानिन्छ।

जस्तो यसअघिको प्रदेश र संघीय चुनावमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनलाई सहज रुपमा लिइएको थियो भने, अघिल्लो पटकको स्थानीय तह चुनावमा कांग्रेस र माओवादीबीच भएको तालमेललाई भने अप्राकृतिक गठबन्धनका रुपमा लिइएको थियो।

प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन त्यो बेला कांग्रेसले ठूलो त्याग गरेकै हो। तर त्यसको बदलामा माओवादीबाट कांग्रेसले धोका मात्रै पायो। अहिले फेरि भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणुलाई नै मेयर बनाउन कार्यकर्ताको भावना विपरित कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन्।

भरतपुर महानगरका सबै वडाध्यक्षले यो पटक माओवादीलाई भोट नदिने निर्णय गरेको बेलामा केन्द्रबाट देउवाले जबर्जस्ती निर्णय लादेका छन्। यसको नतिजा निर्वाचनमा देखिने छ। आफ्नै नेतृत्वको सरकारले टाउकाको मूल्य तोकेको पार्टीसँग गठबन्धन गरी सारा कांग्रेसवादीहरुलाई माओवादीको यज्ञकुण्डमा होमिदिने पार्टीलाई अब कसरी लोकतन्त्रवादी भन्ने? यो गम्भीर प्रश्न बनेको छ।

देउवामा अहिले माओवादीसँग गठबन्धन नगरे फेरि बाम गठबन्धन हुने र आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने त्रास छ । कांग्रेसले प्रजातान्त्रिक हुँ भन्दै आफ्नो ढिन्डोरा पिट्दै जनताहरुलाई आस्वस्थ पार्ने माओबादी, एकीकृत समाजवादी र जसपा जस्ता पार्टीलाई काँधमा बोकी हिड्ने र गठबन्धन गरी सरकार चलाउने शैली चित्तबुझ्दो छैन।

यतिबेला कांग्रेसप्रति आस्था र विश्वास राख्नेहरु आज  कांग्रेसप्रति निराश बनेका छन्। यत्रो लोकतान्त्रिक पार्टी, हरेक परिवर्तनको नेतृत्वको गरेको दल आज सत्तामा पुग्न कुनै कम्युनिष्ट पार्टीको वैशाखी टेक्ने अवस्थामा कसरी पुग्यो वा नेतृत्वले पुर्‍यायो।

आज कांग्रेसका इमान्दार कार्यकर्ताले भरतपुर महानगर, पोखरा महानगर र वीरगञ्जमा कांग्रेस एक्लैले चुनाव जित्ने आधार प्रस्तुत गर्दासमेत देउवाले फेरि प्रधानमन्त्री बन्ने मोहमा कार्यकर्ताको भावना विपरित गतल निर्णय गरेर चुनाव जित्ने भन्दा पनि हार्ने संभावना नजिक पुर्याएका छन्।

पोखरामा मेयर जित्न ६० हजार मत आवश्यक पर्छ। तर त्यहाँ दुई हजार मत पनि नभएको नेकपा एकीकृत समाजवादीलाई नेतृत्व दिएर देउवाले एमालेलाई चुनाव जित्न सजिलो बनाइ दिएका छन्।

अहिले यो गठबन्धनमा सबैभन्दा धेरै गुमाउने भनेकै कांग्रेसले हो। पार्टीभित्रको असन्तुष्ट पक्षलाई मिलाएर लैजानुको साटो विचार र सिद्धान्त नमिल्ने कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको कांग्रेसका कार्यकर्ताले मन पराएका छैनन्।

यस्तो अवस्थामा कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्त भोट नहाल्ने बताइरहेका बेला कांग्रेसबाट उम्मेद्वार नहुँदा त्यसको सबैभन्दा बढी फाइदा कसले लिन्छ? यो कुरा नेतृत्वले किन नबुझेको होला।

देउवामा अहिले माओवादीसँग गठबन्धन नगरे फेरि बाम गठबन्धन हुने र आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने त्रास छ । कांग्रेसले प्रजातान्त्रिक हुँ भन्दै आफ्नो ढिन्डोरा पिट्दै जनताहरुलाई आस्वस्थ पार्ने माओबादी, एकीकृत समाजवादी र जसपा जस्ता पार्टीलाई काँधमा बोकी हिड्ने र गठबन्धन गरी सरकार चलाउने शैली चित्तबुझ्दो छैन।

त्यस्तै माओवादीले पनि आफूलाई जनवादी गणतन्त्रको सूत्रधार भन्छ । देशमा साम्यवादको नारा दिएको यो पार्टी एकाएक कांग्रेसको कोटको खल्तीमा बसी हात्तिको कानमा चमेरो बसेजस्तो गरी आफ्नो भावी रणनीतिको भबिष्य कोरिरहेको छ ।

सत्ता साझेदारीमा सदैब तन, मन र बचनले आफुलाई समर्पित गरी हिँड्ने यस्ता पार्टीका नेताहरु र कार्यकर्ताहरुलाई कुन पार्टीको नेता भन्ने र सम्बोधन गर्ने हो भन्ने कुरा समेत विवेकशील जनताहरुले छुट्याउन सकेका छैनन ।

यो नेपालका राजनीतिक पार्टीको बिचलन र नभए अरु के नै हुन सक्छ ? गठबन्धन मुलुकको आवश्यकता हो भन्ने कांग्रेस नेता प्रकाशमान सिंहको अभिव्यक्ति र जबरजस्ति गठबन्धन र तालमेल गर्न नहुने भनी कांग्रेसकै नेता गगन थापाको भनाइमा कत्तिको विरोधाभास छ ? चुनावको लागि गठबन्धनको बैठक सयौं बसे होलान् तर निष्कर्ष विहीन भइ टुंगिने क्रम चलिरहेको छ ।

माओबादी, र अन्य बाम विचारधाराका पार्टी र कांग्रेसको गठबन्धन हुनै सक्दैन । पानीमा तेलको गठबन्धन भइ निस्किने परिणाम र कांग्रेस, माओबादी र अन्य भुरे बाम पार्टीको गठबन्धनबाट निस्किने परिणाम उस्तै हो ।

५ बर्षमा देशलाई कसले कति लुटे, कसले कति भ्रष्टाचार गरे र कसले कति देश बनाउन सफल भए भन्ने कुराको छानबिन जनताले गरेको हेर्न बाँकी नै छ । आउँदो स्थानीय चुनावले को कति पानीमा छन् भन्ने कुराको निक्र्योल गर्नेछ । कुनै पार्टीको मत अर्कै पार्टीमा नजाओस्, यो पार्टीको बेइज्जत हो । चाहे सानो वा ठूलो किन नहोस । पार्टीका धेरैजसो नेता कार्यकर्ताहरु गठबन्धनको बिरोधमा छन् ।

चुनावपछी यस्तो सकसपूर्ण तालमेल कहाँ गई बिसर्जन हुने हो त्यो हेर्न बाँकी नै छ्र । यस्तोमा आज सम्पूर्ण नेता तथा कार्यकर्ताहरु रोइरोइ चुनावमा तालमेल मिलाउने अपजसिलो काममा जुटेका छन् । सत्ता छोड्नुपर्ला भन्ने त्रासमा रहेका र सत्ताबाट रोएर अलग्गिएकाहरु दुवै गठबन्धनको प्रयास गरिरहेका छन् ।

लोभ र राजनीतिको भोकले अत्तालिएका नेताहरु कोही ५ पार्टीको गठबन्धनको नागपासमा बेरिएर चुनाब लड्दैछन् । कोही झण्डै ७ पार्टीको गुट बनाई चुनावमा जान लागेका छन् । तालमेल मिलाउन झगडा, मतमतान्तर र तछाडमछाड छ भने यो कसरी स्वस्थकर चुनाव हुन सक्छ ? सन् १९८९ पछि नै प्रजातन्त्रको लहर संसारमा चलिसकेको थियो ।

आज बातावरणको एजेन्डा, लागुपदार्थको उन्मुलनको एजेन्डा, आतंकबादको एजेन्डा विश्वको समान एजेन्डा हुन्छ भने राजनीतिको एजेन्डा ‘प्रजातान्त्रिकरण’ नै हो । यो जान्दाजान्दै हाम्रा नेता यस्तो गठबन्धनको चुनावमा किन रोइरोइ होमिन लागेका छन् ? ५ पल्ट देशको प्रधानमन्त्री भइसकेका र हाल सत्तामै रहेका काग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी र भर्खर जन्मिएका मसिना पार्टीहरुसँग गठबन्धन गरी स्थानीय चुनावमा केवल एमालेको हारमा आफ्नो जित देख्नु उदेकलाग्दो कुरा हो ।

स्थानीय चुनावमा संसारमा कहाँ गठबन्धन भएको छ ? पृष्ठभुमि फरक-फरक भएका पार्टीहरुको गठबन्धनले देशको राजनीति कहिल्यै माथि नआउने प्रष्ट छ र प्रत्येकको स्वार्थले आज सबैलाई डुबाउने पक्का छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *