कर्णालीका आठ जिल्लामा भागबन्डा, कुन दललाई कति ?
सुर्खेत। कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डा टुंगाे लगाएकाे छ। यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागबन्डाको टुंगाे लगाउन भने बाँकी नै छ।
आठ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसदे ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ। डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, कांग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ।
जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ। कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ । माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ।
मुगुमा माओवादीले प्रमुख/उपप्रमुख एक एक र कांग्रेसले दुई दुई पाएको छ। एकीकृत समाजवादीले पनि एक एक पाएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँचवटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ। उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुईवटा पाएका छन्।
एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुईवटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ। माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ। जुम्लामा कांग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ।
माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ। समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ। कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ।
प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ। कांग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएकाे छ। एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ।
Facebook Comment