लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ । प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो ।
प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताए। उनले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको थियो ।
एमालेले नाराबाजी जारी राखेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे । दोस्रो सत्रको बैठकमा पनि एमालेका सदस्यहरुले बहिष्कार गरेका थिए । त्यस अवसरमा बोल्ने प्रदेशसभाका सदस्यहरुले बैठक अवरुद्ध नगर्ने वातावरण मिलाउन सभामुखसँग आग्रह गरेका थिए ।
अधिवेशनको सुरुआतमा दलका तर्फबाट शुभकामना दिँदै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले एमालेलाई बजेट ल्याउने बेला भएकाले विरोधको सट्टा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले प्रतिपक्षीको भूमिका खेल्नुको साटो हुँदै नहुने बखेडा झिकेर प्रदेशसभालाई बन्धक बनाएको आरोप लगाए ।
जनता समाजवादी पार्टी (जसपा) का सदस्य निर्मला मुडभरीले महिला हिंसाका घटना बढिरहेकाले नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रिय जनमोर्चाका तारा जिसीले प्रदेश सरकारले आफ्नो औचित्य कायम गर्न नसकेको बताइन् ।
प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश, २०७८ पेस भएको छ ।
सो बैठकमा सभामुख घर्तीले प्रदेशसभा सदस्य दीपेश थारूले बुझाएको राजीनामा पत्र पढेर सुनाएका थिए । थारूले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट बर्दियाको राजापुर नगरपालिकामा प्रमुखका पदमा उम्मेदवारी दिएका छन् ।
Facebook Comment