तनहुँका मतदाता भन्छन्ः घरघरमा पानी ल्याइदिनेलाई भोट

डिसी नेपाल
२४ वैशाख २०७९ २०:३०

तनहुँ । यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् ।

मत माग्न आउने उम्मेदवारसँग पानीको चरम समस्या रहेकाले घरघरमा पानीको धारा जडान गरिदिने उम्मेदवारलाई भोट दिने योजना बनाइएको व्यास नगरपालिका–५ पतेनीका नवराज पौडेल बताउँछन् । सदरमुकामबाट करिब तीन किलोमिटर दूरीमा रहे पनि विकासमा पछि पारिनुका साथै खानेपानीको चरम समस्या रहेकाले माग सम्बोधन गर्ने उम्मेदवारलाई भोट दिने वडावासीको योजना रहेको उनले बताए ।

विसं ०६१ देखि खानेपानीको चर्को समस्या भोग्दै आएकाले जसले घरघरमा पानीको धारा जडान गरिदिन्छ उसैलाई भोट दिइने उनले बताए । उनका अनुसार सडकको अवस्था हेर्यो भने उस्तै नाजुक अवस्था छ । अर्कोतर्फ बिहान र बेलुकाको समयमा मुस्किलले दुईदेखि पाँच गाग्री पानी पाउन पनि मुस्किल भएको स्थानीयवासी बताउँछन् ।

सोही वडास्थित साँघे दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले टोल बस्तीमा खानेपानीको एकदमै समस्या रहेकोले हाम्रो समस्याको समाधान गरिदिने नेतालाई भोट दिएर जिताउने बताए । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरालगायतका चार टोलका बासिन्दामा खानेपानीको हाहाकार नै रहेको छ । करिब बीस वर्षदेखि पानीको चरम समस्या खेप्दै आएको स्थानीय शान्ता परियारले बताए । पानी अभावका कारण ट्याङ्करबाट पानी किनेर जीविकोपार्जन गर्नुपर्ने समस्या स्थानीयवासीको छ ।

दुई हजार लिटर पानी रु तेह्र सयमा खरिद गरेर घरपरिवार चलाउँदै आएको स्थानीय जगदिश काफ्ले बताउँछन् । साँघे र मादी नदीको बीचमा रहेर पनि खानुपानीबाट वञ्चित हुनु लजास्पद कुरा भएको स्थानीय एवं शिक्षिका अम्बिका बास्तोला बताउँछन् ।

त्यसैगरी व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जुन नेताले मादीनदी कटान क्षेत्रलाई संरक्षण गरी विकास गर्छन् उसैलाई भोट दिने योजना बनाएको बताए । अघिल्ला वर्षमा निर्वाचित जनप्रतिनिधिले हाम्रा समस्याप्रति सुनुवाइ नगरेकाले सक्षम र विकासप्रेमी नेतालाई भोट दिने विषयमा स्थानीयवासीबीच छलफल भएको उनले बताए । गत वर्ष मादी नदीमा आएको बाढीले त्यस क्षेत्रका करिब ६०० घरपरिवार जोखिममा रहे पनि जनप्रतिनिधि आएर आश्वासन दिनेभन्दा अन्य काम हुन नसकेको उनले बताए ।

खानेपानी, मादी नदी कटान क्षेत्र संरक्षण, सडकलगायतका विकास निर्माणमा प्राथमिकता दिने नेतालाई भोट दिएर जिताउने अभियानमा पाटनवासी रहेको उनले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *