निर्वाचनले लमजुङमा सरकारी कार्यालयको सेवा प्रभावित

लमजुङ । स्थानीय तह निर्वाचनको लागि निजामती कर्मचारी खटिएपछि लमजुङका प्रायः सबै कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । जिल्लाका अधिकांश कर्मचारी सोमबारदेखि नै निर्वाचनका लागि खटाइएपछि करिब पाँच दिनका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा ८ सय ९५ कर्मचारी खटाइएका छन् ।
निर्वाचनका लागि संघ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयहरूका प्रमुखहरूलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । अहिलेको अवस्थामा निर्वाचनलाई सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले कुनै पनि कार्यालयमा अत्यावश्यकभन्दा बाहेकका सेवा प्रवाह गर्न नसकिने वैद्य बताए ।
सोबाहेक प्रत्येक मतदान केन्द्रमा सहयोगीका रूपमा एकरएक जना कर्मचारी पनि खटाइएको छ । जिल्लाका प्रत्येक मतदान केन्द्रमा कम्तीमा चार जनादेखि पाँच जनासम्म कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।
निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृतसरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ । सुब्बासरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ । जिल्लाका ५ सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा सहायक स्तरको कर्मचारी दुई–दुई जना खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
Facebook Comment