फेरि नेपाली संसारमै जन्मिउन् गोपाल योन्जन

डिसी नेपाल
६ जेठ २०७९ ७:५४

साहित्य समाजको दर्पण हो भने सङ्गीत समाजको ‘धड़्कन’ हो। यदि कुशल हातद्वारा सृजना भएको सङ्गीत भए यसले सोझै हाम्रो मुटु छुन पुग्छ। जनमानसको हृदय छुने र यसको स्पन्दनसित चल्ने लय भए, सङ्गीतकारको सङ्गीत व्यक्तिहरूका आआफ्नै भाव भई छाउन सके सर्जक अमर बन्न पुग्छन्।

वास्तवमा उसले रचना गरेको सङ्गीतद्वारा उसले समाजको उत्कृष्ट सेवा गरिरहेको हुन्छ। त्यस्ता साँचा सेवकहरूमा सबैभन्दा उज्ज्वल नक्षत्रको रूपमा रहेको व्यक्ति महान् सङ्गीतकार, शब्दकार र गायक श्री गोपाल योन्जन थिए।

उनी एक यस्ता सङ्गीतकार थिए जो नेपाली जनमानसको हृदयको अन्तर्तह छिचोल्न पुगी हर व्यक्तिको दुःख र सुख,  हर्षअमर्ष, कायरता र वीरता आदि मानसिक भावहरूसित लुकामारी गरिरहेका हुन्थे। लगभग साठीको पछिल्लो दशकदेखि यस बेलासम्मको युवकयुवतीहरूका जीवनका राग नै भएर उनी बाँचिरहेका छन्।

चाहे समाजको विवशता र व्यवस्था अथवा कलाको अमरत्व, चाहे प्रेम भावनाको अभिव्यक्ति नै किन नहोस् या ईश्वरसम्बन्धी चेतना होस्, आफ्ना प्रवीण हातद्वारा हरेकको हृदयमा स्थित भावनालाई टिपेर अति शिष्ट, सुन्दर र आनन्ददायी भाव अनि लयमा राखिदिएका छन् उनले।

जहाँ दुई व्यक्तिको भावना र भोगाइमा एक सुरता (सामन्जस्य) आउँछ बिजुलीका बल्बले विद्युत धारा पाएझैँ हृदय पुलकित हुन्छ अनि आफूसितका भोगाइको अनुभूति तथा व्यक्ति र सङ्गीतकारको भावनामा समस्वरता आउन पुगेकोले सुन्नेको हृदयमा आनन्दले छाउँदछ।

भाषा नै बुझिएन भने पनि सङ्गीतले हरेकको हृदयलाई छुन्छ, किनकि सङ्गीत अन्तरात्माको आवाज हो। यदि एउटा सङ्गीतकारको साधना गहन छ अथवा उसलाई ईश्वरको देन प्राप्त छ भने, उनको सङ्गीतमा हरेकको हृदयान्तरमा प्रवेश गर्ने शक्ति प्राप्त छ भने उनले सृजना गरेको सङ्गीत सबैको निम्ति सर्वमान्य तत्त्व हुन जान्छ।

अनि त सबै मानिसहरूमा ईश्वररूपी एकात्मकताको बोध हुनजान्छ। अतः यो एकत्वको प्रेम अघि बढ़ेर आनन्दको फल भई फल्न पुग्छ। यसैले एक सङ्गीतकारको रचनाले ईश्वरीय आनन्द दिएको हो। एउटा सङ्गीतकारको सङ्गीत अर्को एक गीतकार (शब्दकार)-को भावनासित कतिसम्म एकलयतामा पुग्न (तादात्म्य राख्न) सक्यो अतः शब्दकार र सङ्गीतकारको भावना, भाषा र लयमा कतिको सामन्जस्य आउन सक्यो अर्कै शब्दकारको रचना र सङ्गीतकारको आफ्नो घतको कुरा हुनसके यो गीत अन्तमा गएर सबैको सम्पत्ति हुनपुग्छ।

सङ्गीतकारको आफ्नै शब्द भए त यसको भाव र लयमा एकरूपता नआउने प्रश्न नै रहँदैन। यही कुरो हो अनि यही सत्य जो हरेकको हृदयमा बसी उसको भावनामा एकलयता अतः समस्वरता पुरîएर ऊ आत्मज्ञानी भई सबैका भावनामा एक भई डुबेको देखापर्छ।

यही कला, यही कुशलता महान् सङ्गीतकार श्री गोपाल योन्जनको विशेषता हो। यसैकारण उनले रचेको शब्द, उनले रचेको गीतसङ्गीत मेरो आफ्नै आत्माको आवाज हो अथवा यो गीत मेरो आफ्नै हो भन्ने लाग्छ, जसलाई घत लाग्नु भनिन्छ अनि त मेरै शब्द, मेरै भावना र सङ्गीतिय सुर उनले टिपेर लगेका हुन् जस्तो लाग्छ।

प्रणय गीत, मानवीय प्रेम र कमजोरीहरू, सामाजिक विवशता र व्यवस्था, बालगीत र नारीहरूमाथिका विचार, राष्ट्रियता र ईश्वरभक्तिसम्मका गीत र सङ्गीतका स्रष्टा महान् सङ्गीतकारलाई हामीले साँचो मूल्याप्रन गर्ने हो भने शब्दकार, सङ्गीतकार र गायक तीन व्यक्तित्वलाई अलगअलग छुट्याएर विवेचना गर्नु अनिवार्य छ, किनकि उनका गीतहरू जसरी हामी हरेकको हृदयमा झन्किरहेछ, शब्दले त्योभन्दा गहिरा कुराहरू भनिरहेका हुन्छन्।

यही कला, यही कुशलता महान् सङ्गीतकार श्री गोपाल योन्जनको विशेषता हो। यसैकारण उनले रचेको शब्द, उनले रचेको गीतसङ्गीत मेरो आफ्नै आत्माको आवाज हो अथवा यो गीत मेरो आफ्नै हो भन्ने लाग्छ, जसलाई घत लाग्नु भनिन्छ अनि त मेरै शब्द, मेरै भावना र सङ्गीतिय सुर उनले टिपेर लगेका हुन् जस्तो लाग्छ।

त्यसमाथि आफ्नै आवाजमा गायन पनि गरेका भए आफूले भन्न चाहेका पीरमर्का, मानवीय कमजोरी, आफ्ना आस्था, विश्वास, प्रेम र भक्तिलाई यथार्थ भावनासित व्यक्ताइरहेका हुन्छन् तर लेख र स्थानको सीमिततालाई ध्यानमा राखेर तिनका सर्वाङ्गीण विधाहरूलाई अन्य लेखहरूमा छुट्टाछुट्टै तयार गरिनेछ। हाललाई सङ्गीतकारको रूपमा उनको क्रम विकास र छोटोमीठो संस्मरणहरूलाई राखिने काम गरिएको छ।

सङ्गीत कर्म-गोपालको नाममा आएको पहिले पहिलेको एच. एम. भी. रेकर्डमा भरिएको अनि दिलमाया खाती अनि कर्म योन्जनद्वारा गाइएको ‘सावन फर्की फेरि आयो’ (शब्द गोपाल योन्जन), ‘सम्झेर बुझेर दिइहाल यो जोबन’ आदि गीतहरू श्री गोपाल योन्जनसित संबद्ध शुरूशुरूका गीतहरू हुन् भनी हामी जान्दछौँ।

तर सङ्गीतकारको रूपमा सङ्गीतकार गोपाल योन्जनले आफ्नै शब्दहरू लिएर रचेका पहिलो गीत ‘गाउँकी छोरी’ हुन् भनेर किटान गर्न सकिन्छ जो सुश्री शान्ति बम्जनको आवाजमा ६० को प्रथम दशकमा खरसाङ रेडियोबाट प्रसार भएको थियो। त्यसपछि ‘यो मेरो घर नै बन्दछ’ आदि गीतहरू।

तर गीतकार सङ्गीतकारको रूपमा उनलाई आजको स्तरमा पुर्याउने गीतहरूका रचना र गायन उनी सन्त जोसेफ कलेजबाट दार्जीलिङ सरकारी कलेजमा प्रथम वर्ष कला (बी. ए.) को अध्ययनको निम्ति प्रवेश गरेपछि नै हुन्छ। सरकारी कलेजमा वर्षका अनेक प्रसङ्गमा हुने कार्यक्रमहरूमा उनले अनेक गीतहरू गाए अरू त के तबलावादक र गायक श्री गोकुल चन्द्र राई र श्री भीमचन्द्रका साथमा कव्वालीसम्म पनि गाए।

१९६२-६३ को अवधिमा सङ्गीतकार र गायकको अभाव श्री रामानुज ठटालले टारिदिए। पछिबाट सुश्री अरुणा लामा यस कलेजमा प्रथम वर्ष बी॰ ए॰ को छात्राको रूपमा आइन्। निकैपछि भीना गुरुङ पनि आइन् जे जति भएका कलेजका गायकगायिकाहरूले अनेक अनेक गीतहरू गाए।

तर शास्त्रीय आधारमा रचिएको लगभग तीन महिनाको अन्तरालमा आफ्नै शब्द सङ्गीत र गायनमा श्री गोपाल योन्जनज्यूले प्रस्तुत गरेका ‘तिमीलाई जानी जानी, फेरि भेटेको होइन’, ‘आजकल म पिरतीलाई ती पीर भन्छु’ यी दुई प्रेम गीतहरूले जमाउनसम्म जमायो, सनसनी नै पारेको थियो। धेरै दिनसम्म यी गीतहरू चर्चाको विषय भएको थियो।

अझ अर्को उत्कृष्ट प्रणय गीत ‘बाँचिदिन्छु तिम्रै निम्ति’ हामी नभएको सम्भवतः हामी कलेज सकेर निस्किसकेपछि एकपल्टको कार्यक्रममा गाएछन्। यही क्रमले अर्को, उनले कलेज छाड़्ने साल ६७-६८ तिर उनलाई आजको महान् सङ्गीतकारको रूपमा चिनाउने गीत हामीले कलेज छाड़िसकेपछि गाएछन् कुनै अर्को एउटा प्रसङ्गमा।

यस कलेजमा आफ्नै आवाजमा सही भावलालित्यमा सबैको मन हरेको यो ‘तिम्रो जस्तो मुटु मेरो पनि’ गीत उनी अध्ययनको निम्ति काठमाडौँ जानको लगत्तै उनका मीतज्यू नारायण गोपाललाई स्वर सम्राट् बनाउने स्तरमा नारायण गोपालको आवाजमा रेकर्डमा भरिने काम भयो। कवि भूपिको शब्दका हाम्रो जीवन र आफ्नोपनको ज्वलन्त गीत ‘अल्झेछ क्यारे पछ्यौरी’-लाई आफ्नो सङ्गीतद्वारा प्राण भरिदिएर

ईश्वरका नाम समर्पित उनका भक्ति गीतहरू, न फूल चढ़ाएँ, न माला चढ़ाएँ, तिम्रै गीत तिमीलाई चढ़ाएँ र बायाँ हातमा राखेँ उनले दार्जीलिङ हिमालयन कला मन्दिरमा हुँदा रचेका सुन्दर गीतहरू हुन्।

अरूका सामु सदा शिर ठाड़ो पारेर छाती फुकाएर बाँच्न चाहने गीतहरू यी वरदपुत्रका प्रवीण हातहरूले रच्दै आए तापनि दार्जीलिङ छोड़्नुभन्दा अघि नै मेरो आफ्नो केही छैन यो भगवान्को देनलाई नै निमित्त मात्र भएर आदेश पालन गर्दैछु भन्ने भावमा ईश्वरसित चाहिँ सदा शिर झुकाएको उदाहरण हुन् यी भक्ति गीतहरू। जो आफ्नै शब्द, स्वर र गायनमा अर्पित थियो।

उनी काठमाडौँ गएपछि शब्द रची सङ्गीत भरिएका दुई उच्चकोटिका गीतहरूमा गीत र सङ्गीत कलाको अमरत्वमाथि रचिएका ‘तिम्रो जस्तो मुटु मेरो पनि’-कै स्तरको गीत ‘मेरो गीत मेरो प्रतिविम्ब होइन’ र अर्को भक्ति गीत ‘जुनी भर ईश्वर म सुकर्म गरूँ’ रेडियो नेपालबाट प्रसार भएको जानकारी छ।

‘तिम्रो जस्तो मुटु मेरो पनि’ र ‘मेरो गीत मेरो प्रतिविम्ब होइन’ या गीतहरू उनका स्वर सम्राट्सितको मित्रताको परिचयात्मक अब्बल गीतहरू हुन्, यसरी नै ‘बिर्सेर फेरि मलाई नहेर’ पनि। पछिल्लो भक्ति गीत उनको ईश्वरप्रतिको आस्था, सत्यता र समर्पण भावको अन्तरहृदयबाट आपैळआफ निस्केको चुड़ान्त आत्मा निवेदन हो। मेरो व्यक्तिगत मन्तव्य राख्ने स्वतन्त्रता भए म यस भक्ति गीत ‘जुनीभर ईश्वर म सुकर्म गरूँ’-लाई उनको सङ्गीत प्रतिभाको श्रेष्ठतम कृति  भन्छु।

सारमा भन्ने हो भने सङ्गीतका यी महान् प्रतिभाले रचेका, गाएका अनि आफ्नै समस्वरतामा गाउन लाएका गीतहरूमा एक प्रतिशत जति मात्रलाई क्रमबद्ध गर्दा प्रणय गीतहरूमा

१) ‘तिमीलाई जानी जानी फेरि भेटेको होइन’

२) ‘आजकल म पिरतीलाई ती पीर भन्छु’

३) ‘बाँचिदिन्छु तिम्रै निम्ति’

४) ‘बिर्सेर फेरि मलाई नहेर’

५) ‘तिम्रो जस्तो मुटु मेरो पनि’

६) ‘मायालु हजार हुन्छन्’

७) ‘चुमेर पानाभरि’

अर्को श्रेणीका जीवन सम्बन्धीका गीतहरू

१) मेरो गीत मेरो प्रतिविम्ब होइन (कलाको अमरत्वमाथि)

२) दुई गाला नदीका बालुवाको ओठ लिएर (नशा गर्ने बहाना र बाध्यतामाथि)

३) सारा दिन अरूलाई बाँड़े (जीवनको जीवाइमा)

४) केही चोटले ज्ञानी हुन्छ (भोगेका सङ्घर्षका प्रतिफलनहरू)

५) लौ सुन म भन्छु मेरो राम कहानी

यी गीतहरू उत्कृष्टमध्येका एकाध हुन् जो उनले २॰ देखि २७ वर्ष भित्रैको उमेरमा रचिसकेका थिए शब्द र सङ्गीत दुवै। अरू त के नशा गीतसम्म लिई गला नदीका बालुवाको ओठ भनेर, पिउँछु मुहान सुराको बेहोश, बेहोश भएर’ सुन्ने र घोत्लिनेलाई उनले यो गीतमा कत्ति यथार्थता दर्शाएका अनि कति भावुकतामा गाएका छन् भन्ने थाहा हुन्छ।

नारायण गोपालद्वारा गाइएको अर्को नशाको गीत ‘गल्ती हजार हुन्छ’-मा गायक र सङ्गीतकार दुवैले आफ्ना मानवीय कमजोरीहरूका स्वीकृति जनाएका छन्। ‘सारा दिन अरूलाई बाँड़ेँ, शायद यी रात मेरा, ‘मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा’, ‘केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ शब्दकारको रूपमा यी गीतहरू रच्ने यी महान् कवि स्रष्टा सङ्गीतकारलाई सूक्ष्मतामा केलाएर हेर्नु आवश्यक छ।

प्रतीक रूप उनी आफूका र वास्तविकतामा केही गर्नुपर्छ भनी समाजको निम्ति चिन्ता लिने सबै कर्णधारहरूका जीवनका सेवा अनि अनुभवगत भोगाइलाई सजीवतामा उतारिएका उनका उत्कृष्ट गीतहरू हुन्। ‘लौ सुन म भन्छु मेरो राम कहानी’ सार्विकतामा गढ़ेको एक अब्बल गीत समग्र जनमानसको राम कहानी हो। शब्दकारको रूपमा विवेचना गरिएको छुट्टै लेखमा यी गीतहरूका सूक्ष्म विवेचना गरिने काम भएको छ।

उनका गीतहरू संसारलाई रमाइलो बनाउन केही गरौँ भनी जमर्को गर्ने हरेक कर्मठ व्यक्तिहरूका सामयिक स्थितिलाई आफ्नो बनाई व्यक्ताइदिएका भावहरू हुन्। यसरी सङ्घर्षशील पाइलाहरू अघि बढ़्दा कहिलेकाहीँ निराशाको बादलले छोप्न खोजेको स्थिति उनका ‘जीवनदेखि धेरैधेरै नै थाकेर, म मुर्दा भएको तिमी आज हेर’, गीतले व्यक्ताएको हामी देख्छौँ।

तर कर्मठ यी सङ्गीतकारले यी निराशाहरूलाई काढ़ेर अघि ओर्लन समर्थ हुँदा, जातिप्रेम, देशभक्ति र ईश्वरभक्तिका अनमोल रत्नहरू गीतका रूपमा नेपाली संसारले प्राप्त गर्न पुग्छन्।

जीवनका सङ्घर्षमा अड़्चन हुन आएका निराशा त के संसारसित झुक्न नमान्ने आफ्नो आत्मविश्वास –

१) ‘म झुक्दै नझुक्ने नेपालको छोरो’

२) ‘देशले रगत मागे मलाई बली चढ़ाउनु

रूँदिनन् मेरी आमा, ऊ नेपालीकी छोरी’  जस्ता उच्चकोटिका गीतहरू आफ्ना जातिको निम्ति दिन सक्षम भएका हुन्। प्रारम्भिक कालका अतिशय मौलिक ईश्वर भक्ति गीतहरूका अतिरिक्त ‘शान्तिभन्दा ठूलो केही छैन’ भनी सार्क देशमा नेपाल राष्ट्रले चाहेको शान्तिको उत्कट अभिलाषा व्यक्ताउन उनले गीतकार क्षेत्रप्रताप अधिकारीका गीतलाई आफ्ना वैचारिक समतामा बाँधेर यति प्रभावी सङ्गीतद्वारा शान्तिको प्रभावी गीत दिएर देशको सफल प्रतिनिधित्व गर्न उनी सक्षम भएका थिए।

हो, यो कुरा मान्नुपर्छ टेलिभिजनको बाढ़ आएर रेडियोको प्रचलन हराउन थालेपछि फलतः हामीले उनको ३॰ वर्षदेखि गत २॰-२५ वर्षको परिपक्व उमेरमा रचेका स्तरीय धेरैभन्दा धेरै गीतहरू सुन्न पाएनौँ। तथापि २६ वर्षभित्रको उमेरमा रचिएका उनका गीतहरूले उनका असमानान्तर प्रतिभाको परिचय दिएको छ।

माथि उल्लिखित गीतहरू एकाधबाहेक सबै त्यही अपरिपक्व उमेरका उपजहरू भएर पनि हामीमाझ यी गीतहरूले अविस्मरणीय छाप लगाएका छन्, हरेक नेपालीको घरघरमा, तनमन र हृदयान्तरमा छापिएका अतिशय सुन्दर गीतहरू भई बसेका गीतहरू हुन्।

उनका गीतहरूले बालक, नारी र युवा शक्तिको महत्त्व चिनाएका छन्। एकापट्टि नारीको सुकोमल प्रेम दर्शाएको छ भने आमाको संसार हल्लाउन सक्ने दिव्य हातको शक्तिलाई अझ बढ़ी बुझेको छ। देशको निम्ति योग्य नागरिकलाई सर्वस्व बलिदान गर्ने आह्नान गरेको छ भने एक धीर पुरुषलाई जीवनको सङ्घर्षमा सबलतासित अघि बढ़्दा सर्वोच्च सत्ता ईश्वरको अघि पाइला पाइलामा नम्रतासित झुक्दै बढ़्नु सिकाएको छ।

उमेरमा आउने यौन प्रेमको स्वाभाविकतालाई मर्यादापूर्वक निभाउँदै अघि बढ़ेका यी महान् सङ्गीतकारले आज भविष्यका कर्णधारहरूलाई सदा शिर उठाई अघि बढ़्ने वीरताको परम्पराको लागि मरिमेट्ने बड़ो स्वस्थ र सही दर्शन दिएर गएका उनका गीत, सङ्गीत र गायनमा लाटालाई बाठा, निर्धालाई बलवान्, रूखालाई प्रेममय र मूर्खलाई ज्ञानी बनाउने जादू छ।

सबै प्रकारका प्रेमको अतिरिक्त नारी औ लोक संस्कृतिका विधामा आफ्ना पौरखी औँलाहरूका प्रवीण चालनद्वारा नेपाली जनजीवनलाई समेट्न सक्ने यी बहुमुखी प्रतिभाको लेखन, सङ्गीत र गायनलाई अलगअलगै औ विविध विधाहरूलाई पनि अलग अलगै औ छुट्याएर, विस्तारमा विवेचना नगरे हामी उनका प्रतिभाको सही मूल्याप्रन गर्नबाट चुकेका हुनेछौँ, अनि त उनलाई पुग्नुपर्ने हाम्रो श्रद्धा अपूरो हुनेछ।

हो, साँच्चै म हाम्रो आफ्नोपनले छपछप भिजेको स्वस्थ, शुद्ध र मर्यादापूर्ण प्रणय र सर्वाङ्गीन प्रेमका गीतहरू, भोगाइका जीवनगाथाहरूलाई परसंस्कृतिको छिटा नपारी, आफ्नै माटोको बास्ना मगमगी चलाउँदै सजीवताका साथ प्रस्तुत गर्ने यी बहुमुखी प्रतिभाका धनीको असामयिक निधनले नेपाली सङ्गीतको क्षेत्रमा  क्षति पुर्याएकाे छ।

किनकि उनी नेपाली जनजीवनका यथास्थितिलाई सुन्दर शब्द र वाक्यहरूका संरचनामा सजाएर अति मौलिक र संवेदनशील सङ्गीतरूपी प्राण  भर्ने औ कतिपय गीतहरूलाई आफ्नै हृदयस्पर्शी गायनद्वारा, भावना र भोगाइहरूलाई  तीनै आयाममा मूर्त पार्ने जादूगर थिए। हो उनले मन फुकाएर गीत रचे, हृदय खोलेर स्वर भरे अनि आत्मा जागृत गराएर गाए।

यसैले उनका गीतहरू कुनै पनि विधामा होस् एउटा सग्लो र सफल उपन्यासझैँ एकएकवटामै आपैळमा पूर्ण छ। हजार गीतहरूले हजार सफल कथाको भूमिका निभाएका छन् अतः जीवनका छोए जति सबै पक्षलाई यसका पूर्ण आयाममा व्यक्ताउन सफल बनेका छन्। सारमा भन्ने हो भने महान् सङ्गीतकार गोपाल योन्जन एक व्यक्ति नभएर नेपाली सङ्गीतको क्षेत्रमा एक विशाल संस्था हुनपुगेका व्यक्ति थिए।

सङ्गीतको साँचो उद्देश्य सङ्गीतकारले अरू मानिसको अन्तरआत्मा टटोल्न समर्थ हुनु हो, अतः एउटा सङ्गीतकार जसले यस्तो हृदयस्पर्शी सङ्गीत रचना गर्नसक्छ ऊ एक महान् आत्मा हो। यस्ता अन्तरसौन्दर्यका खोजीमा आफू हराएकोले उनी त ईर्ष्या, क्रोध, घृणा र लोभदेखि धेरै माथि उठिसकेका मानिस थिए भन्ने कुरा उनका स्वरचित शब्दहरूबाट थाहा लाग्दछ।

शाश्वत सङ्गीतको खोजीमा सङ्गीतकारले जतिजति मीठा सुरहरू पाउँदै जान्छन् उति ‘ऊ’ परम सौन्दर्यका स्रष्टा ईश्वरको एउटा उपकरण मात्र भएर काम गरेको अनुभव गरी विनम्रताले ओतप्रोत हुनपुगेको हुन्छ। जुन कुरा आफ्नो यति हृदयस्पर्शी स्वर हुँदाहुँदै पनि आफ्ना गीतहरू स्वर सम्राट् नारायण गोपाल, ध्रुव केशी, उदित नारायण झादेखि लिएर नयाँभन्दा नयाँ गायकहरूसित बाँड़ेर, कुनै पनि साङ्गीतिय कार्यक्रम उद्घोषण तथा संचालनमा देखाएको भाव र इच्छा गर्ने हामीजस्ता जोसुकैलाई आफ्ना गीतहरू मन लगाएर सिकाएको, त्यसभन्दा बढ़ी हरेकसित उनको व्यवहारले हरेकलाइ रिझाएका छन्।

यसरी नै आफूले सृजना गर्न सकेको कलाकृति (गीत) मात्र आकाशझैँ शाश्वत अमर हुनेछ- मानिस (आफू) त दुई दिनको पाहुना मात्र हो यो संसारको निम्ति भन्ने कुरा उनका अपरिपक्व उमेरमै रचेका गीतले-

‘आकाश जस्तो अमर गीत मेरो
म जस्तो दुई दिनको पाहुना होइन’ – भनी सकारेर प्रस्टाएका छन्।

अन्तमा आत्माको अमरत्व र पुनर्जीवनमा विश्वास गर्ने हामी यदि महान् सङ्गीतकार गोपाल योन्जनले संसारमा फेरि जन्म लिनुछ भने आपैळले यहाँसम्म ल्याएको साङ्गीतिय स्तरलाई माथि उठाउन, अघि बढ़ाउन, उनले यति माया गरेको नेपाली संसारमा नै जन्मन पाऊन्ऋ ईश्वरसित यही हार्दिक प्रार्थना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *