गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला सुरु
रसुवा। रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्छ ।
यो वर्षको गंगा दशहरा मेला मंगलबारदेखि मेला सुरु भएको छ । मेला २६ जेठ दशमीका दिनसम्म लाग्नेछ । अघिल्ला वर्षमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकस समितिका अध्यक्ष संजिक डिएमले बताए । मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । अहिले दैनिक ३० जनाभन्दा बढी मेला भर्न आइरहेको बताइएको छ ।
कोभिडको जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन हुने भएको हो । मेला १० दिनसम्म सञ्चालन हुनेछ ।
पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौ हजार भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट वर्षेनी हजारौ तीर्थयात्री आउने गरेका छन् । काठमाडाैंको गोंगबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ । दुई दिनको पैदलयात्रापछि चन्दनबारी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
१०८ कुण्ड रहेको रसुवामा वर्षेनी हजारौको संख्यामा तीर्थालु भक्तजन आउने गरेका छन् । समुद्री सतहदेखि ४३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगा दशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।
Facebook Comment