एमालेको प्रस्तावमा प्रधानमन्त्री बन्लान् प्रचण्ड?

शरद रिजाल
२२ जेठ २०७९ ६:५९

काठमाडौं । केही दिन यता सत्तासाझेदार दलका नेताद्वयको अभिव्यक्ति सर्बत्र चर्चा र गठबन्धन भित्र शंसयको रुपमा प्रकट भएको छ। सत्तारुढ गठबन्धनमा आवद्ध दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षद्धयले आफूहरुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको सार्वजनिक गरिरहेका छन्। उनको यस अभिब्यक्तिले पछिल्लो समय नेपालको राजनीतिको अनेकौ टिकाटिप्पणी र चर्चाको बिषय बनेको छ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललेसमेत आफूलाई पनि प्रधानमन्त्रीको प्रस्ताव आएको दाबी गरेका छन्। यी दुबै नेताको सार्वजनिक अभिव्यक्तिले बर्तमान सत्ता गठबन्धन संकटमा र वाम गठबन्धनको सम्भावना बढेको त होइन भन्ने आकलन गर्न थालिएको छ।

प्रचण्डको अभिब्यक्तिको आशय नेकपा (एमाले) बाट उनलाई प्रधानमन्त्रीको अफर आएको हो। उनलाई नेपालको राजनीतिमा अस्थिर आरोप लगाएता पनि उनले आफूलाई उनकै शब्दमा ‘गतिशिल’ भन्न रुचाउँछन्।

प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव आएको खुलासा भए लगत्तै सत्ता गठबन्धनका अर्का नेता माधव नेपालले प्रचण्डप्रति इंगित गर्दै ‘तपाईंलाई मात्रै होइन प्रचण्डजी मलाई पनि आएको छ’ भन्दै प्रचण्डलाई आफू पनि प्रधानमन्त्रीको हिस्सेदार भएको बोध गराउन उनले अभिब्यक्ति दिएका छन्।

यी सब बजार हल्लामात्रै हुन्। त्यस्तो प्रस्ताव कसैलाई पनि कहिँ कतैबाट गएको छैन। चुनावी परीणामले वामपन्थीहरु एक हुनुपर्ने सन्देश दिएको छ।  तर तत्काल उहाँहरु कांग्रेससँगको गठबन्धन तोड्न तयार हुनुपर्यो नि! पृथ्वीसुब्बा गुरूङ उपमहासचिव एमाले

उनको अभिब्यक्तिको उद्देश्य प्रचण्डलाई चुनौती वा सचेत बनाउने देखिन्छ । उनले प्रचण्डलाई सचेत बनाउने वा आफू पनि प्रधानमन्त्री दाबेदारको तहमा रहेको बोध होस भन्ने या प्रधानमन्त्रीको प्रस्ताव सबैलाई आउने गरेको सामान्य तवरले आएको आश्वासन मात्रै भएको दर्शाउन भनेका हुन् त्यो भने खुलाएका छैनन् ।

बिगत हेर्दा पनि माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा एउटासँग र संघीय र प्रदेशको निर्वाचनमा अर्कैसँग गठबन्धन गरेका थिए। यद्यपि अहिले भने उनले यो गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरिरहेका छन्।

एकातिर गठबन्धन नतोड्ने प्रतिबद्धता गरिरहेका छन् भने अर्कोतिर आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुकोे प्रशिक्षण कार्यक्रममा कांग्रेसलाई समेत दम्भ प्रदर्शन गरेमा एमाले जस्तै ठेगान लगाइदिने चेतावनी समेत दिइसकेका छन्।गठबन्धनका शिर्षनेताको हालका अभिब्यक्तिले सत्तारुढ कांग्रेसलाई सशंकित बनाएको छ।

प्रचण्डको उक्त अभिब्यक्तिको प्रत्युत्तर कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दिइसकेका छन्। उनले कांग्रेस हार स्वीकार्न तयार रहेको तर देश र जनता बचाएको भन्दै प्रचण्डप्रति कटाक्ष प्रकट गरिसकेका छन्।

प्रचण्डलाई कतिपयले एमाले देखाएर कांग्रेस घुक्र्याउने प्रचण्डको रणनीति भएको बिश्लेषण गरेका छन्। आगामी संघीय निर्वाचनमा गठबन्धनबाट बलियो हिस्सा प्राप्त गर्न प्रचण्डको नयाँ फण्डा भएको बताउन थालिएको छ।

कांग्रेसका नेता रामहरि खतिवडा प्रचण्डको अभिव्यक्ति कार्यकर्तालाई उतसाहित बनाउन र आगामी निर्वाचनमा गठबन्धनबाट बलियो हिस्सा प्राप्त गर्न मात्रै आएको बताउँछन्।

‘कार्यकर्तालाई उत्साहित र मनोवल उच्च बनाउन भनिएको मात्र हो,’ उनले डिसी नेपालसँग भने, ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बन्द प्रशिक्षणमा उनीहरुको मनोवल बढाउन र गठबनधनबाट हिस्सा बढि पाउन मात्रै दिइएको अभिब्यक्ति हो यसलाई हामीले त्यही अथर््ामा मात्र लिएका छौँ।’ उनले अगाडि थपे, ‘गठबन्धन सबले आवश्यकता बोध गरेर बनेको हो र यसको लाभपनि सबैले लिएकै छन्, तर्सथ यसको महत्व उहाँले बुझ्नु भएको छैन् भन्ने हामीलाई लाग्दैन।’

प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बिषयमा भने आफूलाई जानकारी नभएको खतिवडा बताउँछन्। उनले यो पनि प्रचण्डको काग्रेसलाई घुक्र्याउने नयाँ फण्डा मात्रै भएको टिप्पणी गरे।

तर माओवादीका नेता राम कार्की भने एमाले भित्रको एउटा तप्का प्रचण्डप्रति सकारात्मक रहेको र उक्त तप्काको चाहना प्रचण्डले पार्टी र सरकारको नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताउँछन्। उनले एमाले भित्रको एउटा समूहले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको स्वीकार गरे। ‘

एमाले भित्र धेरै गुटहरु छन् ती मध्ये कतिपयले प्रचण्डलाई पार्टी र आन्दोलनको नेतृत्व गरोस् भन्ने सकारात्मक सोच भएकाहरुले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन्। त्यहाँ भित्रको एउता पंक्ति हिजोकै नेकपा जोगाउनुपथ्र्यो भन्ने पनि छन्, उनीहरुबाटै प्रस्ताव आएको साँचो हो,’ उनी भन्छन्, ‘पछिल्लो समय ओलीकै निकटस्थहरु समेत उनीसँग रुष्ट छन्। यर्सथ प्रचण्डले नेतृत्व गरे वाम आन्दोलन जोगीने र पुनःएकता गर्ने मनशायले एक पक्षबाट प्रस्ताव आएको सत्य हो।’

उनका अनुसार एमाले भित्र कोही प्रचण्डप्रति कठोर र कोही नरम समूह छन्। यस्तै कार्कीले कांग्रेस भित्रको अहंकार र दम्भ व्याप्त रहेका कारण अध्यक्ष प्रचण्डले ठेगान लगाइदिने चेतावनी दिएको बताउँछन्।

गठबन्धनबाट धेरै लाभ पनि लिने र हामीलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बढेकाले प्रचण्डले चेतावनी स्वरुप ठेगान लगाइदिने अभिब्यक्ति दिएको कार्की बताउँछन्।
‘गठबन्धनका कारण ठूलो दल हुने तर हामीलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बढेकाले अध्यक्षले सचेत मात्रै गराउनु भएको हो,’ उनले भने। वर्तमान गठबन्धन नटुट्ने तर सम्मानजनक हैसियत हुनुपर्ने पार्टीको जोड रहेको नेता कार्कीको भनाइ छ।

उता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि एमालेबाटै प्रधानमन्त्रीको प्रस्ताव आएको उक्त पार्टीका नेता मेटमणि चौधरी दाबी गर्छन्।
तथापि अध्यक्ष नेपालले अस्वीकार गरेको उनले दाबी गरे। प्रचण्डलाई र हाम्रो अध्यक्षलाई प्रस्ताव आएको एकै ठाँउबाटै हो।

तर त्यो ललिपप मात्रै भएकाले हामीले गम्भीरताका साथ लिएका छैनौँ,’ उनले भने, केपी ओलीबाट त के आउँथ्यो तर एमालेका एक समूह जो वाम एकताप्रति सकारात्मक छ त्यो समूहबाट प्रस्ताव आएको हो।’ उनी पनि राम कार्की जस्तै एमाले भित्रको एउटा समूह वाम एकताको पक्षमा रहेको बताउँछन् ।

चौधरीले भने, ‘एमालेको एउटा समूह अझै पनि वाम एकताप्रति सकारात्मक छ, उनीहरुको चाहना वामपन्थीहरु कांग्रेससँग होइन हामीसँग मिल्नुपर्छ भन्ने साथीहरुको अझैपनि सद्भाव कायम छ। तै पनि वर्तमान गठबनधनबाट टाढिने मनसाय अहिले तत्काल छैन।’

एमाले भित्रबाट वाम एकतासहित प्रधानमन्त्रीको प्रस्ताव आएको माओवादी र समाजवादीका नेताहरुले दाबी गरे पनि एमालेका नेताहरु भने यसलाई अस्वीकार गरेका छन्। एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको प्रस्ताव बजार हल्ला मात्रै भएको बताउँछन्।

‘यी सब बजार हल्लामात्रै हुन्। त्यस्तो प्रस्ताव कसैलाई पनि कहिँ कतैबाट गएको छैन,’ उनले भने, ‘चुनावी परीणामले वामपन्थीहरु एक हुनुपर्ने सन्देश दिएको छ तर तत्काल उहाँहरु कांग्रेससँगको गठबन्धन तोड्न तयार हुनुपर्यो नि!’

तत्काल वाम एकताको सम्भावना के छ? भन्ने प्रश्नमा गुरुङले भने , ‘वाम एकताको त सम्भावना छैन तर राजनीतिमा सम्भावना सदैब खुला हुन्छ । एकता हुने अबस्था छैन। भए गठबनधनसम्म हो। अहिल्यै नै परिणाममुखी यस बिषयमा कुनै छलफल भएको मलाई जानकारी छैन।’

उनले तत्काल वाम एकताको सम्भावना नभएको बताउँदैे त्यस बिषयमा कुनै उपलब्धीमूलक छलफल भएकाबारे आफूलाई जानकारी नभएको बताए। उपमहासचिव गुरुङका अनुसार तत्काल वाम एकताको सम्भावना नरहेको तर चुनावी गठबन्धन भने हुन सक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *