सुनको कचौरा हातमा राखेर विदेशीसँग भिक्षा माग

डिसी नेपाल
२२ जेठ २०७९ ६:४४

भर्खरै पृथ्वी दिवस गयो। लगत्तै अगाडि बन्यजन्तु सप्ताह मनाइयो। मैले लेख रचना लेखेर यी दिवसहरुलाई सम्मान गर्नुपर्ने थियो।
अँह मेरो मन नै फुरेन। कलम अघि सर्दै सरेन।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक सहर र ब्यापरिक केन्द्रबिन्दु तथा राजनीतिक मुख्यालय काठमाडाैं फोहोरले पुरिएकी छन्। झरीले झन् गुम्सिएको बेला दुर्गन्धले निस्सासिएकी छिन् ।

गाउँ घरका सडक, धारा, खोला रगत र लादीले लतपतिएका थिए। राजनीतिक भोट खरिद बिक्री र शक्ति प्रदर्शनका लागि पाल्तु अबोध जनावरहरु बलि चढेका, चढेइ थिए चुनावअघि र लगत्तै पछि पनि।

पृथ्वीका मालिक दावी गर्ने मान्छेहरु मस्तराम थिए। बिहान फलानो दलको भोज, साँझ सम्म यो र त्यो सबै दलको भोज। पृथ्वीको यो सुन्दर अंशमा पानीभन्दा धेरै रक्सीको खोलो बगेको भान हुन्थ्यो। पृथ्वीलाई अन्याय। माटोमाथि पाप। जल जमिन जंगल जनावरको उपहास। त्यसैले मैले मेरो लेख्ने धर्म निभाउन सकेको थिइनँ।

लाज र अवसर

कति प्यारो र आकर्षक गन्तब्य हाम्रो अंशको पृथ्वी। पर्यटकहरुको ओइरो। सभा सम्मेलनहरुको चटारो । तर दुर्भाग्य, फोहोरले सहर पुरिएकी समय यहीँ हात्ती सम्मेलन। यही बेला बिदेशी पाहुनाहरुको आतिथ्यता गर्नुपर्ने कार्यभार। फोहोर छल्न सडक भेटिन्न। न चोक र खुला चौर भेटिन्छ। नदीनाला उस्तै दुर्गन्धित। मैले लाज छोप्ने टालो भेटिन। सरमले मन उद्वेलित भयो। शिर निहुरियो।

प्रश्नहरु अनवरत आइरहे पबित्र भूमि माथि कति धेरै प्लाष्टिक, बोतल, फोहोर र प्रदुषण? कति धेरै कवाडी खाना। कति धेरै बिषादी, धुम्रमान, अम्मल, लागु र पेय पदार्थ। बिश्व कै डम्पिङ ग्राउण्ड जस्तो। नेतृत्वविहीन सहरजस्तो। काबिल ब्यबस्थापक नभए जस्तो।

हिरा, मोती, सुन, सिलाजित, रुबीले सजिएको पृथ्वीको अंश हो हाम्रो देश। बंश कर्मशील, धर्मशील, स्वतन्त्र, स्वाभिमान र बहादुरको भइहाल्यो। प्राकृतिक सौंन्दर्यता र स्वर्गको अर्को शक्तिशाली पहिचानको कसरी बयान गरिसक्नु।

राजनीतिक गरिबी, राजनीतिक फोहोर, राजनीतिक प्रदुषण यो मुलुकको प्रमुख वाताबरणीय समस्या हो। रोग, भोक, गरिबी, अशिक्षा, बेरोजगार अरु वाताबरणीय समस्या हुन्। कुशासनले वाताबरणलाई ठूलो अबरोध पुर्‍याएको छ।

सलाम छ बिजयी जनप्रतिनिधिहरुलाई। जलवायु परिवर्तन र वाताबरणीय इस्युलाई सम्बोधन गरिछाड्ने प्रतिबद्धता र प्रतिज्ञाको लागि। बिषादीरहित कृषि उत्पादनको संकल्पका लागि। फोहोरलाई मोहोर बनाइछाड्ने कटिबद्धताको लागि। उत्खनन् दोहन, बिनास र बिक्री बितरण बाट मातृभूमिको माटो जोगाई छाड्ने दृढ संकल्पका लागि।

यी सुन्दर नारा र संकल्पहरुलाई ब्यबहारमा उतारेर देखाउने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ। मतदाता यानि कि आम जनताको साथ छ। सुरक्षा निकायहरुको झन् ठूलो साथ, हात र काँध छ।

चुनौतीलाई अवसरमा रुपान्तरण गरेर सुन्दर शान्त विशाल नेपालको प्राकृतिक पूँजी र ओजलाई रक्षा कल्याण सम्मान गरेर देखाउने सुवर्ण अवसर प्राप्त छ। सहरको फोहोर उठाएर मात्र कार्यालय बहाली गरिदिनुहोस्। फोहोर अनिवार्य उठाउने सिष्टम पनि बहाली होस्।

असारको पूर्व सन्ध्याको बहाली। तपाईंहरु कति भाग्यमानी? बृक्षारोपण गरेर तपाईको बहाली होस्। सके लाखौं बिरुवाहरुको बृक्षारोपण। नसके हजारौं। नयाँ रेकर्ड र थिति बसाेस्। ५ महिनामा ५ फिट तपाई जत्रो बिरुवा होस्। ५ बर्षमा फल र फुलको वासना र आत्मसन्तुष्टि दिने वृक्ष झाङ्गिसकोस्।

कुवा धारा नदीमा सफा पानी देख्न पाइयोस्। प्रदुषणरहित निलो आकास हेर्न देख्न पाइयोस्। तपाईलाई मतदाताहरुको माया र बिश्वास प्राप्त भए जस्तै प्रकृतिको आशिष प्राप्त भइरहने छ। प्रकृति र पशुको आशिष एकदम शक्तिशाली हुन्छ भन्छन्।

तपाईंको कार्यालय परिसरका कवाडीहरु हटाइयोस्। पहिला कार्यालय वाताबरण ठिकठाक् होस्। स्कूल, स्वास्थ्य सेवा केन्द्र, सेवाग्राही कार्यालयहरु टल्किउन्। मन्दिर मस्जिद स्तुपा चर्च र सम्पदाहरु उठून् चम्किउन् । खानेपानी, ढल, बत्ती, सडक, संचार सेवाहरु चुस्त दुरुस्त हुन्।

नयाँ ग्रीनपार्क खुला चौरहरुको निर्माण होस्। ईआईए सहित नयाँ प्रकृतिमैत्री योजना बनून र प्रकृतिमैत्री पूर्वाधार मात्र बनून्। विचार र बिकास दुवै टिमवर्क र समन्वीकृत ढंगबाट अघि बढोस्। पारदर्शिता र सुशासनको बाढी आवस्। जल जमिन (माटो) जंगल जनावर र जडिबुटीको सुगन्ध फैलियोस् मुकुकभरि, त्यसपछि बिश्वभरि।

नेपाली सेनासँग थप अपेक्षा

हिमाल सफाई अभियान जारी रहोस्। सिमसार सरसफाईमा अझ धेरै ध्यान दिउँ। १ ब्यारेक कम्तीमा १ पोखरी अबधारण अघि सारुम्। सबै ब्यारेकहरु जंगलभित्र क्यामोल्फाज हुन्। बृक्षारोपण धेरै गरेर यो बर्ष गिनिज बुकमा मुलुकको नाम दर्ज गरौं। चुरे बचाउ अभियानमा योगदान गरौं।

फोहोर ब्यबस्थापन कार्यमा सबै ब्यारेकहरुले नमूना देखाउन्। निकुञ्ज आरक्षमा फोहोर मैलाको टुक्रा देख्न नपाइयोस्। वाताबरण सुरक्षा अब उसको प्राथमिक एजेण्डा होस्। फाष्ट ट्रयाक सडकमार्ग दाया बाया ब्यापक बृक्षारोपण गरेर हरित राजमार्गको सपना बुनियोस्।

तराई खण्डमा उक्त राजमार्ग मुनि बिश्वस्तरीय सुरक्षित वन्यजन्तु क्रसिङ प्लेस बनाइयोस्। हिमाल पहाड तराई पूर्व पश्चिम सर्बत्र सधैं शून्य सिकार भइरहोस् बुद्धको यो शान्ति भूमिमा। वाताबरण सुरक्षा अन्य सुरक्षा निकायहरुलाई समेत कामयावी हुने छ। अनुशरण गर्न बिलम्ब गर्नु हुँदैन।बिपद् ब्यवस्थापन भन्दा प्राकृतिक बिपद् नै आउन नदिनु उत्तम सुरक्षा बिकल्प हो। बन जंगल रक्षा र हरित नेपाल बिपद् नियन्त्रणको अचुक अस्त्र हो।

अन्त्यमा, युवा र स्वतन्त्र स्थानीय नेतृत्व प्रकृतिलाई बरदान होस्। वातावरण सुरक्षालाई ढाल होस्। माटो र मातृभूमिलाई रक्षा कल्याण सम्मानको कवच होस्। शान्ति समृद्धि दिने मुहान होस्। परिबर्तन र सुधारको संबाहक (गेम चेन्जर) होस्।

नव निर्वाचित जनप्रतिनिधिहरुले इमान्दारिता देखाए भने हामी मगन्ते हुनु पर्दैन। हामीसँग प्रकृतिको अपार सम्पदा छ संसारमा कहीं पनि नभएको।  तर त्यसको अत्तोपत्तो हाम्रा शासकहरुलाई छैन। त्यसैले कहिले के नाममा त कहिले के नाममा हामी छिमेकीहरु र अन्य विदेशी मुलुकहरुसँग पैसा मागेर देश चलाइरहेका छौं। यो भन्दा लाजमर्दो अवस्था केही छैन तर हाम्रा शासकहरुले लाज पचाइसकेका छन्।

हातमा सुनको कचौरा बोकेका छौं तर त्यो कचौरामा हामी सुका मोहर माग्दै विदेशीसँग हात थापिरहेका छौं देश चलाउन। विदेशीहरुले भनेजस्तो हामी मगन्ते बनिरहन्छौं, सुनको कचौरा हातमा बोकेर सुका पैसाको माग गरिरहन्छौं तबसम्म, जबसम्म हामी हाम्रो बहुमूल्य प्राकृतिक सम्पदा सम्पत्तिको रक्षा, संरक्षण र उपयोग गर्न सक्दैनौं।

हिरा, मोती, सुन, सिलाजित, रुबीले सजिएको पृथ्वीको अंश हो हाम्रो देश। बंश कर्मशील, धर्मशील, स्वतन्त्र, स्वाभिमान र बहादुरको भइहाल्यो। प्राकृतिक सौंन्दर्यता र स्वर्गको अर्को शक्तिशाली पहिचानको कसरी बयान गरिसक्नु। धेरै विदेशी विज्ञहरुले हामीलाई हातमा सुनको खाली थाल थापेर माग्नेहरु भन्दछन् । धनी देशका दरिद्र भनेर अर्थाएका त होलान्।

विश्व वातावरण दिवसकाे उपलक्ष्यमा हार्दिक शुभकामना।

लेखक संरक्षणकर्मी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *