पोखरालाई छाडा चौपायामुक्त बनाइने

पोखरा । पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ ।
बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर राखिएको छ । दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।
‘पोखराका सडकमा छाडा चौपाया नरहने गरी महानगरले काम थालेको छ । दैनिकरुपमा नगरप्रहरी खटाएर चौपाया संकलन गर्छौं,’ उनले भने, ‘उनीहरूको व्यवस्थापन कान्जी हाउसमा हुन्छ । महानगरले कान्जी हाउस बनाएको छ ।’
पोखरा १४ बाच्छेबुडुवामा छाडा चौपाया थुन्न कान्जी हाउस बनाइएको छ । ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनाइएको हो । त्यहाँ १ सय ५० भन्दा बढी छाडा चौपाया राखिएका छन् ।
Facebook Comment