युवाको बैकल्पिक अभियान काजिल पालन

डिसी नेपाल
२ असार २०७९ १२:४४

पाँचथर। पछिल्लो समय युवहरु बैकल्पिक व्यवसायतर्फ आकर्षित भइरहेका छन्। जसको पछिल्लो नमूना बनेका छन्, विजय योक्पान्देन। उनी खासमा यातायात व्यवसायी र मजदूर हुन्। यिनै योक्पान्देनले नयाँ जुक्ति फुराए र पाँचथरमै नौलो व्यवसाय सुरु गरे, त्यो हो कालिज र बट्टाइ पालन।

जिल्लाको एकमात्र फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको संगम हेवाखोला कीनारमा योक्पान्देनले यस्तो व्यवसाय सुरु गरेपछि उनको फर्ममा दैनिक भीड लाग्न थालेको छ। जंगलमा संरक्षित होइन, मासु खानका लागि प्रयोग गरिने आयातित कालिज र बट्टाइ पालन सुरु गरेर उनी अहिले युवा र व्यवसायलाई माया गर्नेहरुबीच लोकप्रिय बन्दै गएका छन्।

डिसी नेपाल संवाददाता उनको फर्ममा पुग्दा उनी कालिजलाई चारो अर्थात दाना दिँइरहेका थिए। उनले भने, ‘५ सय वटा कालिज ल्याएर पालेको अब आधा बाँकी छन्, यो व्यवसायबाट पूर्ण सन्तुष्ट छु ।’

उनले कालिजका चल्ला प्रतिगोटा ७ सय रुपैयाँ दरमा खरिद गरेका थिए । झण्डै ५ लाख रुपैयाँ खर्चेर व्यवयाय सुरु गरेका उनले लगानी फिर्ता गरिसकेको सगौरव बताए। ‘लगानी फिर्ता भयो, अबको कमाइ सब नाफा हो,’ उनले भने। उनी पोथी कालिज बिक्री गर्दैनन्। पोथीलाई अण्डा पार्न लाउने र चल्ला उत्पादन गर्छन्। भाले भने प्रति गोटा २ हजार ५ सयदेखि ३ हजार रुपैयाँमा बिक्री गर्छन्।

जिल्लामै पहिलो कालिज पालक कृषकको नाता र युवाहरुलाई केही सिकाइ हुने ध्याउन्नमा उनले अब भने कालिजका चल्ला प्रति गोटा ५ सय रुपैयाँमा उपलब्ध गराउने बताए।

यस्तै बट्टाई उनी प्रतिगोटा २ सय ५० रुपैयाँ दरमा बिक्री गर्छन् भने त्यसको अण्डा प्रतिगोटा १० रुपैयाँमा। जिल्लामै एकमात्र यस्तो फर्म भए पनि उनले कहीँबाट सहुलियतमा ऋण र अनुदान पाउन नसकेको गुनासो गरे । उनले भने ‘म कर्ममा बिस्वास गर्ने युवा हुँ, निरन्तर गरिरहन्छु, आशा धेरै राखेको छैन।’

२० मिटर लम्बाइ र त्यति नै चौडाइको तारजालीममा उनले कालिजलाई खेल्ने स्थान दिएका छन्। जालीभित्रबाट नै कालिजहरुलाई पस्न सक्ने गरी सानो कटेरो बनाएका छन्। जुन घाम र पानी छल्ने तथा रातमा बास बस्नको लागि जंगलकै स्वरुपमा निर्माण गरिएको देखिन्छ।

फिदिम-१ का व्यवसायी तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सूर्यबहादुर राज थापाका अनुसार अब देशको समग्र बिकास गर्ने हो भने योक्पान्देनजस्ता युवालाई केन्द्र र स्थानीय सरकारले भरपूर सहयोग गर्न सक्नु पर्छ । थापा आफू पनि यस्ता बैकल्पिक र प्रभावकारी कृषि क्षेत्रका व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *