जिसस तनहुँको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

डिसी नेपाल
१२ असार २०७९ २३:१२

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन् । समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली कांग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित भएका हुन् । वाग्ले व्यास नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का वासुदेव थापा निर्विरोध निर्वाचित भएका छन् । थापा आँबुखैरेनी गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिसस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबीच सहकार्य गर्ने सहमतिबमोजिम सदस्यमा कांग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट भानु नगरपालिका–१३ का चिरञ्जीवी ढकाल, आँबुखैरेनी गाउँपालिका–४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका–२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका–१० का तिलादेवी राना र म्याग्दे–४ का डोलबहादुर सुनारको उम्मेदवारी दर्ता भएको छ ।

माओवादीका तर्फबाट सदस्यमा शुक्लागण्डकी नगरपालिका–११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुरकी लक्ष्मी गुरुङको उम्मेदवारी दर्ता भएको छ । सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *