क्रिकेटको सबैभन्दा छोटो फर्म्याट ‘सिक्सटी’ २ महिनापछि, ६ विकेट झरेपछि अलआउट !
काठमाडौं । कुनै समय क्रिकेटमा परम्परावाद हावी थियो । जब खेलको नियम र शैलीमा परिवर्तनको कुरा आउँथ्यो, धेरै पटक सोचिन्थ्यो कि क्रिकेटको पुरानो परम्परालाई यी परिवर्तनहरूले असर त गर्नेछैन ?
तर, समयको गतिसँग चल्ने रहरले पुरानो मान्यतालाई पन्छाएर नयाँ परम्परालाई जन्म दिन थाल्यो र आज पाँच दिनको परम्परागत क्रिकेट हुँदै ६० बलको प्रतिस्पर्धामा पुगेको छ । अर्को शब्दमा भन्नुपर्दा, खोलालाई कुलो बनाइएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम सिक्सटी (6ixty) राखिएको छ।
6ixty नामले सुझाव दिन्छ, त्यहाँ ६० बलको ढाँचा छ जसमा विश्वभरका क्रिकेटरहरूले भाग लिनेछन्। यस शृङ्खलाको पहिलो प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सेन्ट किट्स र नेभिसमा खेलाइनेछ। यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट पाउनेछ । छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ।
यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन् । कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउँदैन । यदि कुनै टोलीले निर्धारित समयमा आफ्नो ओभर पूरा गर्न नसकेमा त्यस टोलीका खेलाडीलाई अन्तिम ६ बलका लागि मैदान बाहिर पठाइनेछ । वेस्ट इन्डिज क्रिकेट बोर्डले यो ढाँचाले टी-टेन क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ।
Facebook Comment