न्यू डायमन्ड कपः आयोजक पराजित हुँदा पुलिस र एपीएफको विजयी सुरुआत

डिसी नेपाल
१४ असार २०७९ २२:४६

काठमाडौं । न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आयोजक डायमन्ड पराजित हुँदा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुआत गरेका छन् ।

कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो दिन दुई खेल भए । उद्घाटन खेलमा पुलिसले डायमन्डलाई सोझो सेटमा पराजित गर्यो । पूर्व राष्ट्रिय खेलाडी कोपिला उप्रेतीको कप्तानीमा खेलेको पुलिसले ललिता नाथले कप्तानी गरेको डायमन्डमाथि २५–१६, २५–१५, २५–१५ को सहज जित निकाल्यो ।

यस्तै, दोस्रो खेलमा एपीएफले परोपकार आदर्श माध्यमिक विद्यालयलाई सोझो सेटमै हराउन सफल भयो । एपीएफले २५–११, २५–४, २५–३ को सहज जित निकाल्यो ।

चार टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोलीमा रहेका खेलाडीले भने खेल्न पाउने छैनन् । हाल महिला टोली १९औं एसियाली खेलकुदको तयारी लागि बन्द प्रशिक्षणमा छ ।

प्रतियोगिताको विजेताले ५ लाख उपविजेताले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र अन्तिम टोलीले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *