फिदिममा तीनवटा कुलो पहिरोमा परिणत, ३० परिवार बसाइ सर्दै
पाँचथर। फिदिम नगरपालिकाको अनियमितता गर्ने मेसोमा ३० परिवार बसाई सर्ने भएका छन्। करिव ४ सय मुरी धान फल्ने फिदिम-४ को शान्तिपुर, खैरेनी, थाक्ले क्षेत्रमा सिचाइ हुने ३ वटा कुलो पहिरोमा रुपान्तरण गरेपछि नगरपालिका अहिले बदनामको केन्द्र बनेको छ । यसकै कारण ३० परिवार घरखेत बेचेर झापातिर बसाई सर्न जग्गा किन्ने मानिस खोज्न थालेका छन् ।
थाक्ले क्षेत्रमा मात्र ३१ परिवारको भात खाने मुख्य खेत नै नगरपालिकाले आफ्ना कार्यकर्तालाई पोस्न सडक खन्ने र झोलुङे पुल बनाउन भनेर १५ लाख रुपैयाँ दिएपछि ३ वटा कुलो पहिरोमा परिणत भएका छन् । सानु कुलो, गडीगाउँले कुरो र नयाँ कुलो मासेर कमिसन खान तत्कालीन मेयर ओनाहाङ नेम्बाङ, उपमेयर उर्मीला प्रधानसमेतले स्थानीय मदन भट्टराईलाई उपभोक्ता समितिमार्फत कामको जिम्मा दिए ।
फलतः तीन वटै कुलो पहिरोमा परिणत भएपछि किसानहरुको रुवाबासी भएको फिदिम– ४ का कृषक पूण्यप्रसाद खनालले आक्रोस पोखे । उनले भने, ‘यो सरासर किसानमारा र किसानलाई बसाई खेद्ने केही भ्रष्ट नेताको नीतिले नै भएको हो ।’ नेम्बाङ र प्रधान नेपाली कांग्रेसका नेता हुन् ।
फिदिम-४ का तत्कालीन वडाअध्यक्ष तथा नेपाली कांग्रेस फिदिम नगर सभापति प्रकाश गुरुङले फिदिम-४ कर्नेटार र फिदिम-५ मतानेबीच भएर बग्ने होक्माखोलामा सडक र झोलुङगे पुल बनाउन भू-बनोट नभएको भन्दै बिरोध गरे।
‘तर उनको केही लागेन मेयर नेम्बाङ नै योजनाबाट कमिसन पाउन भनेर लागेपछि योजना स्वीकृत भयो, अनि स्काइभेटरले सडक खन्न थालेपछि तीन वटै कुला पुरिए,’एक पीडित किसानले आरोप लगाए। अहिले ती कुलामा दैनिक पहिरो गइरहेको अर्का पीडित कृषक भवानी अधिकारीले पछिल्लो अवस्थाको जानकारी दिए ।
डुँडेब्यासी खेतमा बिगत वर्षहरुमा असारको पहिलो साता ब्याड राखिन्थ्यो । अहिले कुलाहरु पहिरोमा परिणत भएपछि ब्याड राख्न नै नपाएको अर्का पीडित कृषक धर्मानन्द सुवेदीले डिसी नेपालसित गुनासो पोखे ।
हालै सम्पन्न निर्वाचनमा बिजयी बनेका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपाने छिटो भन्दा छिटो कुलो निर्माण गर्न निर्माण समितिलाई निर्देशन दिइरहेको बताउँछन् । वर्षा सुरु भइसकेकोले कुलो ममर्त गरेपछि राती नै बग्ने गरेको छ । भीर खण्डमा खनिएको सडकका कारण दैनिक पहिरो गइरहेको छ भने किसानले हिउँदे धान रोप्न ब्याडसमेत बनाउन पाएका छैनन् ।
फिदिम नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद दाहाललाई डिसी नेपालको ‘एकै स्थानबाट मोटरबाटो र झोलुङेपुल बनाउन नियमतः मिल्छ ?’ प्रश्नमा उनले भने, यो मिल्छ, नमिल्ने भन्ने छैन ।’ यसको अर्थ कार्यकारी अधिकृत दाहाल पनि बिकी सकेको किसानहरुको आरोप छ ।
असारको दोस्रो साता बित्दा पनि ब्याड राख्न नपाएका किसाले आफ्नो जग्गा नगरपालिकाले जिम्मा लिनु पर्ने माग गर्न थालेका छन् । उनीहरुले नगरपालिकाकै कारण बसाई हिड्नु पर्ने अवस्था आएमा ‘जे पनि’ हुन सक्ने भन्दै अन्तिम बिकल्प प्रयोग गर्ने बाध्यता सुनाउन थालिसकेका छन् ।
यो क्षेत्रमै फिदिम नगरपालिकाको डम्पिङ साइड छ । किसानले धान रोप्न नपाएमा थाक्ले क्षेत्रमा फोहोर ल्याउन नदिने भन्न थालिसकेका छन् । यदि त्यसो भएमा फिदिममा फोहोरको समस्या बल्झिने देखिन्छ ।
Facebook Comment