बामदेवको पार्टी गठन : राजनीतिक पुनराेदय कि विलय ?

शरद रिजाल
१५ असार २०७९ ७:५५

काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष बामदेव गौतमले मंगलबार नयाँ पार्टी गठनको घोषणा गरे। तत्कालीन नेकपा बिभाजित भएसँगै तटस्थ बसेका गौतम नेकपा राष्ट्रिय एकता अभियान गठन गर्दै पार्टी एकताको थालनी गरेको बताउँदै आएका थिए। सर्वोच्चको फैसलाले माओवादी एमाले पूर्ववत अबस्थामा फर्कँदा पनि गौतम कतै लागेका थिएनन्।

त्यसपछि एमाले समेत बिभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन हुँदा समेत उनी पार्टी एक बनाउने भन्दै एमाले एकता अभियान सञ्चालन गरिरहे। तर उनको एकता अभियानले प्रभाव पार्न सकेन।

यही आइतबार ललितपुरमा उनले एकता अभियानको दोश्रो राष्ट्रिय भेला आयोजना गरि ५९ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गर्दै सोमबार चन्द्रागिरमा सम्पन्न भएको भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गर्‍याे। सोही निर्णय बमोजिम गौतमले मंगलबार पत्रकार सम्मेलनमार्फत पार्टी गठन गरेको घोषणा गरेका हुन्।

नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय गौतम २०५४ मा एमाले बिभाजन गरेर नेकपा (माले) पुर्नगठन गर्दै नयाँ पार्टी गठन गरेका थिए। उक्त पार्टीमा गौतम महासचिवको कार्यकारी जिम्मेवारी सम्हालेका थिए भने अध्यक्ष साहना प्रधान रहेकी थिइन्।

त्यसको २७ वर्षपछि पुनः गौतमले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका छन्। तत्कालीन माले पुर्नगठन गर्दा उनको पार्टीले २०५६ को संसदीय निर्वाचनमा देशब्यापी एक सिट पनि जित्न सकेको थिएन। तर, एमालेलाई हराउन मूलभूमिका भने रह्यो। बिभाजन गरेको चार वर्ष नपुग्दै एमालेसँग एकता गरेका थिए।

आज दुई दशक भन्दा बढी समय पछि उनै गौतम नयाँ पार्टी खोल्न तम्सिएका छन््। त्यतिबेला माले पुर्नगठन गर्दा साथ दिएका नेताहरु आज उनीसँग कोही पनि छैनन्।
ठूलै दलबलसँग माले गठन गरेका गौतम यस पटक नयाँ पार्टी गठन गरेको घोषणा कार्यक्रममा उनीसँग परिचित राजनीतिक अनुहार कोही पनि देखिएनन्।

बरु पार्टी घोषणा गरिएको सार्वजनिक भएस्ाँगै श्रीमती र छोरालाई समेत केन्द्रीय सदस्य बनाएको भन्दै उनको आलोचना हुन सुरु भएको छ । यी र यस्तै आरोप लागेका गौतम नेकपा (एकता राष्ट्रिय अभियान) नामक नयाँ पार्टी लिएर राजनीतिमा आएका छन्। यो राजनीतिक कदम उनको लागि फेरि पुनर्दोय हुन्छ या एमाले समाजवादीमा निकट समयमै पार्टी एकताको फेस सेभ गर्दै विलय हुन्छन् त्यो समयक्रममैे देखिएला ।

पटक पटक सत्ता र शक्ति मा पुगेका गौतम पछिल्लो समय किन निरीह बने। उनको राजनीतिमा एक्लोपनलाई कतिपय अस्थिरताको उपज भएको बताउँछन् ।
गौतमसँग लामो समयदेखि निकट स्रोतका अनुसार उनी आफूलाई समयानुकुल परिमार्जन नगरि आफ्नो एकल अडानमा यथावत रहनु नै उनी पछिल्लो समय एक्लिएका हुन्। उनको अस्थिर राजनीतिक चरित्र विगत देखि तत्कालीन नेकपा कालसम्मका केही दृष्टान्त यस्ता देखिन्छन् ।

मालेको पुर्नगठन र चार वर्ष पछि एमालेमा प्रवेश

महाकाली सन्धीमा तत्कालीन एमाले नेतृत्वलाई राष्ट्रघातको आरोप लगाउँदै २०५४ सालमा माले पुर्नगठनगरेका गौतम पार्टी बिभाजन गरेको चार वर्षपछि २०५८मा एमालेमै फर्किएका थिए। त्यति बेला बामदेव एमालेका महत्वपूर्ण नेतासहित माले गठन गरेका थिए।

उनीसँग योगेश भट्टराई, रविन्द्र अधिकारी, घनश्याम भुसाल जस्ता जुझारु युवा विद्यार्थीको पंक्ति थियो। उनको पार्टी निकट विद्यार्थी संगठनले कालापानी मार्च गरेर राष्ट्रियताको मुद्दालाई सशक्तरुपले समेत उठाएको थियो तर पार्टीलाई लामो समयसम्म चलाउन नसकि पुरानै घर एमालेमा फर्किए।

उनले त्यतिबेला पुर्नगठन गरेको पार्टीलाई दीर्घकाल सम्म लग्न सकेनन्। निकै तामझाम र एमाले नेतृत्वलाई अनेकौ तवरले आरोपित गरेका गौतम एमालेमा फर्किएसँगै उनको साख बिस्तारै धुमिल बन्दै गयो । पार्टीमा उनी माथि अविश्वास बढुदै गयो र उनलाई माले गठन गर्दा साथ दिएका नेताहरु उनीबाट टाढिँदै गए अनि गौतम पार्टीमा कमजोर बन्न पुगे।

नेकपा कालको अस्थिर चरित्र

एमाले र माओवादी २०७५ जेठ ३मा एकीकृत भएर बनेको नेकपामा गौतम पार्टीको सचिवालय सदस्य थिए। पार्टी भित्रको अन्तरसंघर्स उत्कर्समा रहेको बेला गौतमको अस्थिरता ब्याप्त भयो।

कहिले उनी प्रचण्डसँग मिलेर केपी आलीकोविरुद्धमा प्रस्तुत हुन्थे भने कहिले ओलीसँग लहसिन पुग्थे। यी र यस्तै प्रवृत्तीले गर्दा गौतमको चरित्र जहिल्यै ढुलमुले बन्न पुग्यो। अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओली विरुद्धको १९ पेज लामो लिखित आरोप पत्रलाई उनले आफूले लेखेको दाबी गर्दै ओली विरुद्ध कठोररुपमा प्रस्तुत भएका थिए।

त्यस्तै ओलीको प्रचण्ड विरुद्धको ३८ पृष्ठको आरोप पत्र लगाउँदा मौन रहे । गौतमको यी र यस्तै प्रवृत्ती नै नेकपा बिभाजनको मूल कारण बन्न पुगेको हो। ९ सदस्यीय सचिवालयमा उनी निर्णायक थिए। उनी जता ढल्कियो उतै बहुमत पुग्थ्यो। तर उनले आफ्नो स्पष्ट दिशा तय गर्न सकेनन्। फलस्वरुप नेकपामा असहिष्णु अन्तरकलह उत्कर्समा पुगेर नेकपा बिभाजित बन्न पुग्यो।

नेकपामा रहदा आफेनो अस्पष्ट र ढुलमुले अडानका कारणले नै पार्टी बिभाजन भएको स्वयम गौतमले नै स्वीकार गरिसकेका छन्। उनले मंगलबार पार्टी घोषणा कार्यक्रममा आफ्नो कमजोरी स्वीकार गरेका हुन्।

उनले पार्टी घोषणा कार्यक्रममा भने, ‘मलाई दुबै अध्यक्षले तपाईंको कारणले पार्टी बिभाजन भएको भन्नु हुन्छ, ओलीले प्रचण्ड तिर लागेर मेरो विरुद्ध उभिनु भयो भन्नुहुन्छ भने प्रचण्डले ओलीतिर लागेर मेरो विरुद्ध उभिनुभयो तपार्इंको कारणले नेकपा बिभाजन भएको हो भन्नुहुन्छ। तर मेरो लागि दुबै बराबर हो केपी पनि मेरो मित्र प्रचण्डलाई झन् जनयुद्धबाट शान्ति प्रक्रियामा नै मैले ल्याएको हुँ। त्यसो गर्नु हुन्थेन मेरो गल्ती भयो। ’

बिभाजनमा प्रमुख भूमिका निर्वाहपछि एकताको रटान

नेकपा बिभाजनको सन्निकट पुग्दा ततकालिन प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गर्दा प्रचण्ड, झलनाथ खनाल, माधव नेपालहरु सडकमा अउँदा गौतम भने आलीसँग पार्टी एक बनाउनुपर्छ भन्दै बालुवाटार धाउने गर्दथे।

एकातिर माधव प्रचण्ड र खनालहरु संसद बिघटन प्रतिगमन हो भनेर सडक संघर्ष गर्दा गौतमले कहिल्यै स्पष्ट अडान कायम गर्न सकेनन् नत उनी ओलीको पक्षमा खुलेरै लागे न माधव प्रचण्डहरुसँग सडकमा नै आए। बिभाजनको क्लाइमेक्समा उनले पार्टी एकताको रटान लगाउदै नेकपा राष्ट्रिय एकता अभियान गठन गरे।

औपचारिक बिभाजनको सुरुवात भइसकेको नेकपामा २०७७ फागुन २३ गतेको सर्वोच्चको फैसलाले पूर्ववत पार्टीहरुलाई यथास्थानमा पुर्याएपछि फेरि उनी एमाले एकता अभियान भन्दै सामान्य गतिबिधि गर्न थाले। यतिन्जेल उनीसँग साथ दिने स्थापित नेताहरु कोही पनि रहेनन्। गौतम लगभग एक्लै जस्तै रहे।

उसो त पार्टी बिभाजन भएपछि गौतमले नै आफू निकटका कार्यकतालाई रोक्न नचाहेको बताइन्छ । गौतम निकट एक नेताले बताए अनुसार उनी स्वयमले आफू निकटका नेताकार्यकर्ताहरुलाई आफ्नो भर नपरि अनुकुलको पार्टीमा लाग्न आग्रह नै गरेका हुन्। ती नेताले भने, ‘पछिल्लो समय उहाँले नै आफ्नो स्वेच्छाले जता सुरक्षित हुन्छ उतै लाग्नु भन्नु भएकाले नै उहाँसँग यथोचित नेताकार्यकर्ता नभएका हुन्।’

गौतमका निकट रहेका नेता कार्यकर्ताहरु अहिले बिभाजित पार्टीमा यत्रतत्र छरिएका छन्। उनलाई माले कालमा साथ दिएका नेता आज उनीसँग कोही पनि छैनन्। एक्लो बृहस्पति जस्तो देखिएका बामदेव गौतमको नयाँ पार्टी गठनमा ती उनका पूर्व निकटस्थहरुले साथ दिने संभावना समेत खासै देखिँदैन।

उनीसँग निकट भएरु काम गरेका हाल एकीकृत समाजवादीका प्रबक्ता जगन्नाथ खतिवडालाई काठमाडौंमा जारी समाजवादीको केन्द्रीय परिषदको बैठकको जानकारी दिने क्रममा सोमबार घोषणा भएको गौतमको पार्टी पनि गठबन्धनमा आउने दाबी गरेका थिए। सञ्चारकर्मीले बामदेवकोे पार्टीमा जाने सम्भावनाको बिषयमा जिज्ञासा राख्दा उनले अचम्मको प्रश्न गर्नुभयो भन्दै पन्छिएका थिए। उनले त्यसबारेमा जवाफ नै दिन चाहेनन्।

गौतमसँग कुनै बेला निकट रहेकाहरु आज बिभाजित घटकमारहेका छन् ।कोही एमाले त कोही समाजवादीमा छन्। उनकै निकट लामो समय रहेका पत्रकार विश्वमणि सुवदीले पार्टी घोषणालगत्तै राजनीतिक रुपमा हामी अलग भएको तर ब्यक्तिगत सम्बन्ध भने यथायत रहने र त्यसमा कुनै कमी नहुने आफ्नो सम्मानभाव कायमै रहने भन्दै सार्वजनिकरुपमा सामाजिक संजाल मार्फत जानकारी गराइसकेका छन् ।

गौतमको नवगठित पार्टीकोे उदेश्य उनले भने जस्तै बिभाजित कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने हो या उनको पछिल्लो समयको गुमनाम राजनीतिलाई फेरि उदय गराउने हो या विलय, त्यो भने आगामी दिनमा उनको राजनीतिक कदमले दर्शाउने नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *