विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर

डिसी नेपाल
१८ असार २०७९ १९:३८

बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा विपरीत नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर आवेगमा आइ कमजोरी गरेको घटनाको छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको हो ।

उक्त घटनापछि प्रदेश सरकारले सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समिति निर्माण गरेको थियो । समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पूर्व स्वास्थ्यराज्यमन्त्री वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत कमजोरी गरेको ठहर गरिएको छ ।

छानबिन समितिका संयोजक सरकारका प्रवक्ता शर्माले माओवादी कार्यकर्ता बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीले आवेगमा आएर कमजोरी गरेको पाइएको बताए । ुएकराजसँग लिनुपर्ने साढे ६ लाख रुपैयाँ अन्य उपाय अपनाएर असुल उपर गर्नुपर्थ्यो, तर त्यसो नगरी आवेगमा घरभित्र गएर कमजोरी गरेको देखियो,ु उनले भने ।

मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । ुयो विषयको पनि छानबिन गरिने छ,ु प्रतिवेदन बुझ्दै उनले भने । मुख्यमन्त्री केसीले एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले योजनाबद्ध तरिकाले घटना भएको हुन सक्ने देखिएको दाबी गरे ।

उनले छानबिन समितिले बुझाएको प्रतिवेदनको विस्तृत अध्ययन गरिने र आवश्यक कदम चाल्ने पनि बताए । घटनापछि विवादमा आएकी राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिइन् भने १५ गते राजीनामा स्वीकृत भएको थियो ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।

उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

श्रीमान् उत्तरकुमार ओलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचन जितेकी थिइन् । श्रीमान् ओलीले भने एमालेबाट चुनाव जितेका थिए । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *