भेटेरिनरीबाट २ करोड बढी अनुदान
पाँचथर। भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले ताप्लेजुङ र पाँचथरमा कवि २ करोड २८ लाख रुपैयाँ पशुपालक किसानलाई अनुदान दिएको छ । केन्द्रका सूचना अधिकारी तथा अधिकृत निरजकुमार भट्टराईका अनुसार बंगुर बिकासदेखि अण्डा आत्मनिर्भर कार्यक्रममा किसानलाई अनुदान उपलब्ध गराएको हो ।
केन्द्रले अण्डा आत्मनिर्भरमा २० लाख, बंगुर बिकासमा २० लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट प्राप्त रकम ७० लाख बाख्रा ब्लक विकास कार्यक्रममा अनुदान दिएको छ ।
सूचना अधिकारी भट्टराईका अनुसार केन्द्रले पहिलो पटक करेशाबारी पोखरी निर्माण गर्दै तरकारीका लागि सिचाई र माछापालनमार्फत कृषकको स्तरवृद्धि गर्न १० वटा पोखरी निर्माणमा २५ हजार रुपैयाँदरमा रकम उपलब्ध गराएको छ ।
यस्तै युवा लक्षित पशु विकास कार्यक्रममा बाख्रा, बंगुर र गाई पालनतर्फ २ लाख रुपैयाँदरमा १८ जना कृषकलाई अनुदान दिएको छ । कृषि, पशु सहकारीसँग सहकार्य गर्दै कृषकको स्तर उन्नयनका लागि ५० लाख रुपैयाँ र सहकारी संस्थामार्फत कृतिम गर्भाधन कार्यक्रममा १० लाख रुपैयाँ उपलब्ध गराएको सूचना अधिकारी भट्टराईले डिसीनेपाललाई बताए ।
Facebook Comment