खराब व्याटिङ, क्यानडासँग नेपालको हार
![खराब व्याटिङ, क्यानडासँग नेपालको हार](https://www.dcnepal.com/wp-content/uploads/2022/07/arif-dipendra.jpg)
काठमाडौं। खराब ब्याटिङका कारण नेपाल घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ। बुधबार राति किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो।
नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए। पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए।
रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो।
क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए। यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे। नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए।
यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो।
अब, नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ नेपाल, आयोजक स्कटल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।
Facebook Comment