मधेस प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित, मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफल सकियो

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ । आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गर्नुभएको प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।
बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए । विधेयक पारित गर्न आवश्यक गणपुरक सङ्ख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो ।
मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारको सबै मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सकिएको छ । आजको बैठकमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। योसँगै प्रदेश सरकारको नौ वटै मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल सकिएको सचिव यादवले बताए ।
बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, उपेन्द्र महतो, रानी शर्मा तिवारी, अभिराम शर्मा, डा रिना यादव, विन्देश्वर यादवलगायतले मन्त्रालयहरुको लागि विनियोजित बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयगत बजेटको छलफल सकिएपछि भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशसभा सदस्यबाट आएका प्रश्नहरुको जवाफ दिने र आवश्यक प्रक्रिया पु¥याएर आगामी आव २०७९र०८० को बजेट पारित हुने प्रदेशसभा सचिवालयका सचिव यादवले बताए ।
प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९र०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।
Facebook Comment