एउटै परिवारका सदस्य, जो फरक पार्टीमा छन्

शरद रिजाल
२६ असार २०७९ ७:५८

काठमाडौं। राजनीतिक आबद्धता बिचार र सिद्धान्तका आधारमा निक्र्यौल गर्ने गरिन्छ। कुनै निश्चित बिचार, सिद्धान्त र उद्देश्यको आधारमा निर्माण भएको संगठन नै पार्टी हो। जसका आफ्नै मूल्यमान्यताहरु हुन्छन्। आफ्नो बिचार अनुरुपको राजनीति गर्नु ब्यक्तिको बैयक्तिक स्वतन्त्रता हो।

पारिवारिक बिमति राख्दै राजनीतिमा होमिनेहरुको संख्या नेपालमा मात्रै होइन विश्वका धेरै मुलुकमा छ। त्यसैले राजनीतिलाई कतिपयले बिद्रोहको रुपमा ब्याख्या गर्ने गर्दछन्। राजनीतिमा होमिनुलाई एक प्रकारको सामाजिक बिद्रोह भन्ने गरिन्छ। पारिवारिक, सामाजिक र राज्यसँग बिद्रोह गरि राजनीति गरेका पात्रहरु नेपालमा मात्र होइन, विश्वभर भेटिन्छन्।

कम्युनिष्ट आनदोलनका प्रणेता कार्ल माक्र्स लाई उनको परिवारका अभिभाबकको अधिबक्ता बनाउन चाहन्थ्यो। तर उनी विश्वविख्यात साम्यवादी दर्शनका प्रणेता बन्न पुगे। आज विश्वभर उनको बिचार र दर्शन अंगीकार गर्नेको संख्या उल्लेख्य छ। आज उनको बिचार र दर्शनको पदचाप पछ्याउँदै विश्वभर कम्युनिष्ट पार्टीहरु सक्रिय छन्।

यस्तै कुशल क्रान्तिकारी योद्धा चेग्वेभारा अष्ट्रियाको इन्जिनियर परिवारमा जन्मिएका चेलाई उनका बुबाआमाले एक चिकित्सक भएको हेर्न चाहन्थे। तर उनी चिकित्साशास्त्र अध्ययन पश्चात एक कुशल क्रान्तिकारी बनेर विश्वभरका कम्युनिष्टहरुको आदर्श बन्न पुगे। क्युबाको समाजवादी क्रान्ति सम्पन्न गर्न प्रमुख भूमिका निर्वाह गरेका उनी बोलिभियाको लडाईमा मृत्युबरण गरेका थिए।

पेरु कम्युनिष्ट पार्टी (साइनीङपाथ) का गोञ्जालो जो केही बर्ष अगाडि जेलमै मरे। उनी पनि विश्वबिद्यालयको दर्शनशास्त्रको प्राध्यापन पेशा त्यागेर पेरुको राज्यसत्ताबिरुद्ध बिद्रोह गरेका थिए। बिद्रोहको क्रममा पक्राउ परेका उनको केही समय अगाडि जेलमै निधन भएको थियो। नेपालमा समेत पारिवारिक बिद्रोह गर्दै राजनीतिमा होमिएका पात्रहरु कैयौंन् छन्। जसले परिवारको इच्छाविपरीत राजनीतिमा होमिएर परिवार र समाजसँग बिद्रोह गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत रहेका नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंह जो प्युठानको सम्पन्न परिवारमा जन्मिएका ब्यक्ति हुन्। उनी पनि आफ्नो परिवारसँग बिद्रोह गर्दै राजनीतिमा होमिएका थिए।

उनको बुबा गाँउका जमिन्दार साहु थिए। गाँउलेहरु उनकहाँ ऋण लिन आउँने गर्दथे। उनले गाँउलेहरुलाई ब्याजमा ऋण दिने गर्दथे। तीनै गाँउलेहरुलाई दिइएको बुबाको तमसुक च्यातेर परिवारबाट बिद्रोह गरेर सिंह राजनीतिमा लागेका हुन्।

नेपालको राजनीतिमा पारिवारिक बिद्रोह गर्दै राजनीतिमा लागेका पात्रहरु उल्लेख्य छन्। कतिपयको परिवारको इच्छा अन्य पेशा ब्यबसाय अंगालोस भन्ने अपेक्षा हुँदाहुँदै राजनीतिमा होमिएका छन् भने कतिपयले पारिवारसँग राजनीतिक बिद्रोह समेत गरेका छन्। यस्तै कतिपयका परिवारका सदस्यहरु हालसम्म अलग अलग पार्टीमा समेत लागेका छन्।

नेपाली कांग्रेसका संस्थापक नेता राणा शासन बिरोधी आन्दोलनका नेतृत्वदायी तहमा रहेका मातृकाप्रसाद कोइराला जो राणा शासनको अन्त्यसँगै नेपालको प्रधानमन्त्री बनेका थिए। उनका छोरा कमल कोइराला समेत कम्युनिष्ट राजनीतिमा छन्।

हाल माधव नेपालको एकीकृत समाजवादीमा आबद्ध रहेका उनी सिंगो कोइराला परिवारले नेपाली कांग्रेसको राजनीति गरिरहँदा उनी भने कम्युनिष्ट पार्टीमा आबद्ध छन्। परिवारका बुबा मातृकालगायत काकाहरु बीपी र गिरिजाप्रसाद कोइराला सबै कांग्रेस हुँदा उनी एक्लै कम्युनिष्ट बने।

पछिल्लो समय नेकपा (एमाले) बिभाजन भएसँगै एउटै परिवारका दाजुभाइ अलग अलग पार्टीमा लागेका छन्। पार्टी बिभाजन भएसँगै उनीहरु अलग अलग पार्टीमा लागेका हुन्।

एमाले नेता सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे सहादर दाजुभाइ हुन्। हाल उनीहरु अलग अलग पार्टीमा छन्। दाजु राजेन्द्र पाण्डे नेकपा(एस) तिर लागेर हाल बागमती प्रदेशका मुख्यमन्त्री रहेका छन् भने भाइ नेकपा (एमाले) को दशौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन्।

यस्तै पार्टी बिभाजनसँगै अर्का एमाले नेता युवराज ज्ञवालीका दाजुभाइ समेत अलग अलग पार्टीमा लागेका छन्। उनका भाइ रामकुमार ज्ञवाली नेकपा (एस) तर्फ लागेका छन् भने अर्का कान्छा भाइ लक्षमण ज्ञवाली र उनी एमालेमै छन्।

माओवादी नेताहरु अलग अलग पार्टीमा रहेका कैयौंन छन्। माओवादी नेता लिलामणि पोखरेलका आफ्नै सहोदर भाइ पनि उनीसँगै छैनन्। उनका भाइ धनेश्वर पोखरेल जो माओवादी जनयुद्दकालदेखि नै माओवादी आन्दोलनमा सहभागी भएका हुन्। उनी मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा आवद्ध छन्। उनी जनयुद्धमा सहभागी हुँदै आएका हुन् भने लिलामणि पोखरेल नारायणकाजी श्रेष्ठसँग एकता प्रक्रियाबाट माओवादी भएका हुन्।

२०५१ मा एकता केन्द्र बिभाजन नहोउन्जेलसम्म सँगै भएका उनीहरु माओवादीले जनयुद्ध गरेसँगै अलग अलग भएका थिए। शान्ति प्रक्रिया सुरु भए लगत्तै २०६५ मा श्रेष्ठ सँगपार्टी एकता गरि राजनीतिक पुर्नमिलन भएका दुई दाजुभाइ २०६९ मा माओवादी बिभाजन हुँदा फेरि अलग हुन पुगे।

हालसम्म उनीहरु अलग अलग पार्टीमा छन्। पार्टीमा शिशिर उपनामले चिनिने धनेश्वर पोखरेल बैद्य निकट किसान संघको अध्यक्ष हुन्। स्मरणीय छ, लिलामणि पोखरेल माओवादीले जनयुद्ध सुरु गर्नुपूर्वका ९ जना सांसदमध्ये एक हुन्। जसमध्ये एक जना कृष्णबहादुर महरामात्र जनयुद्धमा सहभागी भएका थिए।

माओवादी जनयुद्ध हुँदै राजनीतिमा आएका दावा तामाङ तत्कालीन नेकपा बिभाजन भएसँगै केपी शर्मा ओलीतर्फ लागेका उनी र उनको परिवार पनि अलग अलग पार्टीमा लागेका छन्। उनी ओलीको प्रधानमन्त्रीत्वकालमा खेलकुद मन्त्री समेत भएका थिए।

उनकी श्रीमती कुमारी मोक्तान प्रचण्ड माधव पक्षतिर लागेकी थिइन् भने उनी ओलीतर्फ लागेका थिए। हाल उनकी श्रीमती कुमारी मोक्तान माओवादी केन्द्रको तर्फबाट बागमती प्रदेशको सामाजिक विकास मन्त्री छिन् भने श्रीमान दावा एमालेको केन्द्रीय सदस्य छन्।

माओवादी नेता झग्कुप्रसाद सुवेदीका छोरा सन्तोष सुवेदी पनि उनका बाबुसँग छैनन्। उनी विप्लवले नेतृत्व गरेको नेकपाका रोल्पाका नेता हुन्। उनी झग्कु सुवेदीका जेठा छोरा हुन्। आफ्नो बुबाको राजनीतिप्रति बिमति राख्दै अलग पार्टीमा लागेका छन्।

माओवादीका पुराना नेता हाल धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) का नेता इश्वरीप्रसाद दाहाल ‘असारे काका’को पनि पारिवारिक रुपमा अलग अलग पार्टीमा छन्। उनी विप्लवले बैद्य नेतृत्वको नेकपा २०७१ सालमा बिभाजन गरेर छुट्टै पार्टी गठन गरेदेखि नै बाबु छोरा अलग अलग भएका हुन्। उनका छोरा महेश्वर दाहाल माओवादी केन्द्रको नेता हुन्। उनी भर्खरै पोलिटब्यूरो सदस्य भएका छन् भने प्रेस सेन्टरका निवर्तमान अध्यक्ष हुन्।

यस्तै नेकपा(एकीकृत समाजवादी) का नेता तथा राष्ट्रिय सभाका निवर्तमान सांसद ठगेन्द्र प्रकाश पुरीका सहोदर दाजुभाइ पनि अलग अलग पार्टीमा छन्। उनका राइला दाजु रामप्रकाश पुरी नेकपा(मसाल)का प्रवक्ता छन् भने आफू एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सचिव हुन्। उनी २०५४ सालमा जिल्ला विकास समिति रुकुमको एमालेका तर्फबाट उपसभापति समेत भइसकेका छन्।

राजनीतिकरुपमा २०४६ सालदेखि अलग भएको पुरी बताउँछन्। २०४६ सालमा नेपालगंज क्याम्पस पढेन् क्रममा अलग अलग भएका उनीहरु हालसम्म अलगै पार्टीमा छन्। राजनीतिकरुपमा अलग भएपनि ब्यक्तिगत सम्बन्ध सौहार्दपूर्ण भएको ठगेन्द्र प्रकाश पुरी बताउँछन्।

‘हामी ६ भाइ मध्ये राँइला दाइ (रामप्रकाश पुरी ) बाहेक अरु बाँकी नेकपा (एककिृत समाजवादी तिर छौं तर दाजु र मेरो फरक राजनीतिक आबद्धता भएको ३२ बर्ष भयो, राजनीतिकरुपमा अलग भएतापनि पारिवारिक सम्बन्धमा त्यसको कुनै प्रभाव छैन’, उनले डिसी नेपालसँग भने।

सुरुवाती चरणमा साथीहरुको सँगत र परिवेशले अलग अलग पार्टीमा लाग्नुपरेको बताउने पुरी पछिल्लो समयमा आआफ्नै पार्टीमा ब्यतित गरेको लगानी र सम्बन्धले हालसम्म अलगै भएका बताए। पञ्चायती कालमा सबै संगठन राजनीतिक स्वतन्त्रताको लागि संगठित भएका थिए त्यहीक्रममा अलग सांगठनिक आबद्धता भएको र समयक्रममा राजनीतिक चेतनासँगै बनेको सांगठनिक सम्बन्धले अलग भएको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *