बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित, डेढ कराेड बराबरकाे क्षति
सुर्खेत। ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन्। सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन्।
ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको बाढीपहिरोले नन्नाकुमारी विकको एकतले कच्ची घरलाई पूर्णरूपमा क्षति पुर्याएको छ। धनबहादुर घर्ती, झुमा विक, उर्मिला विश्वकर्मा, मोतीलाल रोकाया, मानबहादुर रोकायाको घर र खेतबारी बगाएको छ।
यस्तै कर्णबहादुर रोकाया, मायादेवी बुढा, हस्त विक, पदम रोकाय, तिउली विकको घर र खेतबारी पनि बगेको प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। उनका अनुसार २४ जनाको घरखेत, अन्नपानी, लत्ताकपडा, सुनचाँदीसमेत गरी झन्डै एक करोड ५० लाख बराबरको क्षति भएको पाइएको प्रहरीले सार्वजनिक गरेको क्षति मूल्यांकन विवरणमा उल्लेख छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सत्य पहाडीले दुनैमा बाढीका कारण भएको क्षतिबारे जानकारी गराएकी थिइन्। सदरमुकाम दुनै उच्च जोखिममा भएको भन्दै दुनै बचाउ अभियानमा सरकारले ध्यान दिनुपर्ने उनकाे भनाइ थियाे।
भेरी नदीको कटानका कारण दुनै बजार जोखिममा पर्दै आएको छ। यो भन्दा अगााडि गरिएको कामसमेत परिणाममुखी नहुँदा समस्या हुँदै आएको सांसद पहाडीको भनाइ छ।
Facebook Comment